फोटोपत्रकार थोकरको ‘लाइफ इन पान्डेमिक’ सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
147 Shares
काठमाडौं

फोटोपत्रकार केशवराज थोकरको फोटो किताब ‘लाइफ इन पान्डेमिक : काठमान्डु ड्युरिङ कोभिड – १९’ सार्वजनिक भएको छ। बुधवार काठमाडौँस्थित नयाँ बानेश्वरमा रहेको आनन्दभूमि बाङ्क्वेटमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त किताब सार्वजनिक गरे।

सभामुख घिमिरेले कोरोनाकालको अर्काइभ आफैमा महत्वपूर्ण भएको बताए। ‘हामीले यो कालखण्डमा भोगेको अप्ठ्याराहरूका बारेमा फोटोग्राफरले सजीवताका साथ जुन कुरा ल्याउनुभयो,’ सभामुख घिमिरेले भने। घिमिरेले कोरोनाकाल झैँ पहिले पहिले ठुलो खटिरा र क्षयरोग महामारीले धेरैको ज्यान गएको सम्झनासमेत गरे।

‘ठुलो खटिरा जसलाई माइ भनिन्छ। यसले धेरैको ज्यान गएको थियो। लास ढडाएको ठाउँबाट आएको धुवाँतिर हेर ज्यान जान्छ भन्थे। पछि टिबीले सिङ्गो शरीर नै सखाप भयो। त्यस्तै कोरोना महामारी पनि हामीले बेहोर्‍यौ,’ सभामुख घिमिरेले भने।

वरिष्ठ सरुवा रोग चिकित्सक डा शेरबहादुर पुनले किताबका फोटोहरू देख्दा आफूलाई पुराना दिनको याद आएको बताए। ‘गाडी चलाउँदै किताबका फोटो हेर्दा मलाई आँसु आयो। त्यो बेला मलाई फ्रिक्वेन्टली फोन आउँथ्यो। सेकेन्ड वेभमा एम्बुलेन्स बज्दै आउँथ्यो। ढोका खुल्नसाथ मृत्यु देख्नुपर्थ्यो। त्यो त्रासदीको समय सम्झे,’ डा पुनले भने। अक्सिजनका लागि मानिसहरू दौडँदै अस्पताल आइपुगेको स्मरणसमेत उनले गरे। आफूले त्यति बेला प्रभावितको आत्मविश्वास बढाउन धारावाहिक लेखसमेत लेखेको उनले बताए। तर अहिले सरकारले भूकम्प बिर्से झैँ महामारी व्यवस्थापनका कुरा बिर्सन थालेकोमा उनले चिन्ता जनाए। ‘अहिले सबैले बिर्सिसके। सरकारले पनि बिर्सिसक्यो। नीति केही बनेको छैन,’ डा पुनले भने।

वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले कोरोना महामारीका क्षणलाई दस्ताबेजका रूपमा ल्याएकोमा आफूलाई खुसी लागेको बताए। ‘समयलाई कसैले रोक्न सक्छ भने त्यो फोटो हो। केशवराज थोकरले कोरोनाको समयमा भएका क्षणहरूलाई किताबकै रूपमा ल्याउनुभएकोमा खुसी लागेको छ,’ कार्कीले भने।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यो दस्ताबेजका रूपमा र पाठ्यक्रमका रूपमा पनि काम लाग्ने बताए। ‘यो दस्ताबेज एकदम काम लाग्ने विषय हो। हामीले पत्रकारिता मात्र हैन पत्रकारितामार्फत समाजको सेवा गरिरहेका छौँ। यो फोटो पत्रकारिता कक्षका लागि पाठ्यक्रमका लागि पनि काम लाग्नेछ,’ बस्नेतले भने।

फोटोपत्रकार क्लबका पूर्व अध्यक्ष विकास कार्कीले थोकर फोटोग्राफीको योद्धा भएको बताए। ‘क्यामरा बोकेर भिड्ने मान्छे हो केशवराज थोकर। फोटोग्राफीको योद्धा हो,’ कार्कीले भने।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले किताब कोरोनाकालको जिउँदो प्रमाण भएको बताए।

कोरोना महामारीका समयमा नेपालीले भोगेको क्षणलाई दस्ताबेजका रूपमा आफूले फोटो किताबलाई प्रकाशनमा ल्याएको फोटो पत्रकार थोकरले बताए। ‘त्यो बेला मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्था थियो। परिवारमै त्यस्तै थियो,’ थोकरले भने, ‘तर फोटो खिच्न अस्पताल जाने क्रममै डाक्टरबाट आत्मविश्वास पाएँ। फ्रन्टलाइनरका रूपमा ठाउँ ठाउँमा पुगेपछि गर्भवती श्रीमतीलाई पनि कोभिड पुष्टि भयो। निकै आत्तिएको थिएँ म। अरू धेरैलाई त्यस्तै भयो होला। सरकारविरुद्ध आन्दोलन पनि भए।’

किताब कोरोनाकालको प्रतिबिम्ब भएकोले प्रकाशनमा ल्याएको प्रकाशक म्हेन्दो ट्रस्टका अमृत योञ्जनले बताए। १२५ पृष्ठको रङ्गिन किताबको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया