छुसक कोरियालीहरूको ठुलो चाड हो ।‘छुसक’को छुट्टी ६ दिन लगातार हुने भयो । सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म । पहिलेका वर्षहरू छुसकमा ३ दिन मात्र छुट्टी हुन्छ । यो वर्ष अक्टोबर २ सोमबार बिदा थिएन । १ तारिख आइतबार आर्मी दिवस, आइतबार सार्वजनिक बिदा भएकोले २ तारिख पनि सार्वजनिक बिदा दिने निर्णय कोरियन सरकारले गर्यो । ३ तारिख राष्ट्रिय दिवसको बिदा थियो । धेरै पछि होला यति लामो बिदा पाएको । हिँडियो कम्पनी छोडेर ।
विश्वका धेरै देशमा ‘थ्याङ्क्स गिभिङ’ भनेर मनाएको जस्तो कोरियालीको छुसक । काम, शिक्षा, व्यापार व्यवसायी आदि गरिरहेका प्राय सबै मानिसहरू काम धन्दा थन्काएर गाउँ (पूख्यौली घर) फर्किन्छन् । जस्तै नेपालमा काठमाण्डौंबाट दसैँ, तिहार, छठ, ल्होछारमा गाउँ फर्के जसरी । राजधानी सउल आसपास रहेकाहरू खाङ्वान्दो, बुसान, जेजु लगायतका पूख्यौली गाउँघर फर्किन्छन् । पहिलो दिन सडक जाम, रेल, हवाईजहाजमा टिकट पाउनै मुस्किल । दोस्रो दिन विशेष हो । यस दिन दिवांगत भएका आफ्नो परिवारका सदस्यको सम्झनामा चिहानमा पुगेर सरसफाइ गरी फूल, रक्सी, फलफूल चढाउने गर्छन् । त्यही चिहान अगाडी स–परिवार बसेर घरबाट ल्याएका खानेकुरा खाने गर्दछ । पुर्खालाई धन्यवाद दिन्छन् ।
पहिलो दिन बिहानभरि जिउ नै दुख्ने गरी सुतेर उठे । दिउँसोखेर हानियो राजधानी सउल । ३ घण्टा बस, रेलको यात्रा पछि पुग्यो दोङ्देमुन ३ नं। गेट । दोङ्देमुन नेपालीहरूको धेरै खाना घर, रेमिटेन्स सेवा भएको ठाउँ । कसै कसैले मिनी नेपाल भन्छन् । नेपालीका लागि सेन्टर पोइन्ट । चहलपहल सुरु भइसके छ । आयोजकहरू भन्दै छ, ‘ओ टिकट यता….यता… साङ्गीतिक धामका, …डान्स् पाटी, लु आयो आयो ।’ कराउँछन् साथीहरू रत्नपार्क र बस पार्कको झल्को आउने गरी । अन्य दिनमा साहुको हेपाइ, कामको थकानलाई थाती राखेर हलो र जुवाबाट छुटकारा पाएका हल गोरु जस्तै स्वतन्त्र छन् परदेशी । अनि पो फलाना कन्सर्ट, डान्स पाटी । युवा–युवतीहरू आफन्त, साथीभाइ, गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड भेट्छन् । म तीन नम्बर नियाल्दै छु ।
मोबाइलमा समय हेर्दा अपराह्नको साढे ४ बजेछ । सबैलाई ल्हास्सो फ्याफूल्ला १ भन्दै छिरे घेदुङ कोरियाको २०औँ स्थापना दिवस र बिदाइ कार्यक्रमतिर । समयमै सउल नेपाल गुम्बाका लामा गुरु कुन्साङ लामा, बुसानबाट निवर्तमान अध्यक्ष रवि लामा, सल्लाहकार रण तामाङ, महासचिव दावा फिँजो, मेरो ‘प्लस टु’ पढ्दा देखिको सम्धी जिक्तेन लो लगायत अन्य साथीहरू उपस्थित भइसकेछ । तर घेदुङ अध्यक्ष राजकुमार स्याङ्तान कता हो कता रु महासचिवलाई सोधे खोइ अध्यक्ष ? ‘खै एउटा कार्यक्रममा जानुभएको छ, त्यहाँ मन्तव्यको लागि समय कुर्दै छ रे’ उनले पनि रेडिमेड उत्तर दिए । लगभग डेट घण्टासम्म कुर्दा पनि अध्यक्ष स्याङ्तान आएनन् । अति भए पछि लामा गुरुहरू फेरि भेटाउला भनेर बिदा हुनुभयो ।
गफगाफ चल्दै गर्दा कवि समिर बमजन टुप्लुक्क आइपुगे । उनी पहिचान, समसामयिक सन्दर्भ आदिमा कलम चलाउँछन् । दुई हप्ता अघि घेदुङले सङ्घीय घेदुङ र ताम्सालिङ सङ्घर्ष समितिसँग अन्तरक्रिया आयोजना गरेको कार्यक्रममा ताम्सालिङको घोषणापत्रमाथि १६ वटा प्रश्न राखेकोमा मैले प्रसंशा गरे । ‘अझ एउटा गतिलो प्रश्न थियो, राख्न सकिएन नि’, अझै १७ औँ प्रश्न ? धत् धन्न सोधेन छन् ।
दुई घण्टा हुनै लाग्दा अध्यक्ष स्याङ्तान आए उताको कार्यक्रमको ब्याच भिरेर । गाह्रै छ संस्थाका मान्छेलाई पनि । त्यसपछि पनि कार्यक्रम सुरु गर्ने सुरसार गरेनन् । नाना रेस्टुरेन्टको अफिस हलमा १२-१५ जना मात्रै अट्ने कुर्सी छन् । सहभागी धेरै भएपछि त्यहाँबाट निक ट्राभलको हल तिर सर्यो । महासचिव दावा फिँजो कुर्दाकुर्दै जोस हराएर सचिवहरूलाई कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दै थिए । उनीहरूले स्विकारेनन् । कार्यक्रम लगभग २ घण्टापछि सुरु भयो । पहिलो दिनको पहिलो कार्यक्रम । यस्तै हो कोरियामा हुने धेरै सङ्घसंस्थाको हालत ।
संस्थाले व्यनार र ‘लेटरप्याड’मा जहिले लेख्ने नारा छ, ‘तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण गरौँ, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौँ ।’ तर यो उद्देश्यसँग पुग्ने गरी काम गरिरहेको छ कि छैन रु एकातिर पहिचानको कुरा गर्ने अर्कोतिर २० वटा ‘नाङ्साल’ बालेर कार्यक्रम गर्नुपर्नेमा २० पनि नलेखेको ‘केक’ काटेर कहीँ पहिचान झल्किन्छ रु यो तामाङ समुदायको संस्कार हो ? स्थापना दिवस मनाउन विधि थाहा छैन घेदुङलाई रु थाहा छैन भने ती ५० औँ जना संरक्षक, सल्लाहकारहरूको के काम रु यस्तै–यस्तै प्रश्नले मन भरिएको छ । मन पो प्रश्नले भरिएको छ त, पेट त भोकाएकै छ । पेट भर्नतिर लागे । घेदुङकै खाना खाईयो । दुई घण्टाको दुई मान जतिको खाना बजाईयो । (फोनुन् टिलपिल ताजी ।) लौखा पेट नै अटेसमटेस ।
रामेछापका बुद्ध सम्धीले दिउँसैदेखि सुत्नलाई होटल खोज्नु है भनेर कल गरिसकेका छन् । घेदुङको कार्यक्रम सकिएपछि खोजौला भनेर बसेका थिए म । कार्यक्रम २ घण्टा ढिला सुरु भएकाले ९ बज्यो । एकैछिनमा दुध लामा जी भेट भयो त्यतै । दुध जी आफ्नै जिल्लाका अधिवेशनमा दिनभर व्यस्त भएर भोकाएर आउँदै थिए । खाना खाएपछि कोठा खोज्न लाम्कियौं । दुई ठाउँ जति सोधियो, ‘फिन बाङ अप्सयो’ (कोठा खाली छैन) भन्ने मात्रै जवाफ आयो । बाटो छेउछाउ गल्लीपिछे कोठा खोज्ने नेपाली र विदेशी धेरै भेटिन्छन् । एक होटलमा एउटा मात्र कोठा मिल्यो ३ जनाको लागि । पैसा तिरे, त्यहाँबाट निस्कियो । पर तिर एक ठाउँ सोधे पाएन । हामी फर्किँदै दोङ्देमुनतिर लाम्कियौ । आउँदै गर्दा एल।बी। जिलाई कल गरे एक ठाउँ धेरै मिल्यो, एउटा दिने सहमति भयो । दुध जी र उसको साथी त्यही कोठामा जाने निधो भयो । भोलि भेटौला भनेर छुटियौँ । बाटोमै गोकुल आस्यङ भेटभयो त्यतैबाट सेकुवा हाउसतिर हिँडे ।
भोलि दोस्रो दिन कवि तथा गजरकार विनेश राई ‘मिन्जाई’को गजल पुस्तक विमोचन र चर्चा कार्यक्रम तय थियो । कार्यक्रम बारे आयोजकका साथीहरू समीप खेम पुन, उत्तम खाजुम, विष्णु सान्यस, पुस्तक लेखक मिन्जाई र अन्य साथीहरूसँग मेरो १० बजेतिर भेट भयौँ । भोलिको कार्यक्रमबारे छलफल सकेपछि छुट्टियौँ । म र मिन्जाई जी चाहिँ कफीसपमा ‘क्याफेचिनो’को चुस्कीसँगै गफ गर्दै बसेका सैलुङकै गोकुल आस्याङ र राजिब सम्धीकोतिर पुग्यौँ । त्यही केही गफगाफ सकेपछि मिन्जाई जी सुत्नतिर छुटिए । हामी मेघप्रसाद वाइबाको निम्तोमा रक्सीको गफ सुन्न त्यतै लाग्यौ । प्राय दोङ्देमुन क्षेत्रको नेपाली रेस्टुरेन्टमा खाना, रक्सी खाने र गीत सङ्गीतमा रमाउनेको भिडै भिड । दोङ्देमुन क्षेत्रमा मात्र होइन, कोरियाभर रहेको रेस्टुरेन्ट नै त्यस्तै होला । कोभिड महामारीपछि यति धेरै सहरमा निस्केका नेपालीहरू पहिलो पटक हो । मानौँ नेपालका पशुपति, बौद्ध, स्वयम्भू, गोकर्ण, मातातिर्थको मेला जस्तै । मेघप्रसादको ‘आइरक’ गफ सुनेपछि राति २ बजेतिर सुत्न हिँडे ।
दोस्रो दिन बिहान ९ बजेतिर गोकुल आस्यङसँगै उठेर नजिकै कफीसापमा कफी र खाजा खायौँ । कार्यक्रम तयारीको लागि म त्यहाँबाट छुटिए । यता आयोजक अध्यक्ष समीप जी र अन्य साथीहरू भेट्यौँ । समीप जी अतिथिको लागि व्याज हतारिदै मिलाउँदै थिए । मेरो जिम्मा कार्यक्रम सञ्चालन गर्नु परेकाले अतिथिहरूको नाम टिपाएर तयारी सकेपछि हलतिर लागे ।
पाँचौँ तल्ला उक्लिएपछि हल भेटिए । साथीहरूले हल अलिक सानो रहेछ भनेर गुनासो गर्दै थिए । यस्तो बेलामा यो पनि ठुलो कुरा हो । समयमै सकाउनु पर्ने भएर कार्यक्रम सुरु गरिहाले मैले । ४० मिनेटभित्र औपचारिक कार्यक्रम सकाए । दोस्रो भाग सञ्चालनका लागि कवि दिलीप बान्तवा राईलाई हस्तान्तरण गरेर कार्यक्रम सुन्न लागेँ । बल्ला अब साहित्य महलो सुरु हुने वाला छ । दोस्रो सेसनमा पुस्तकमाथि परिचर्चा । कवि शकुन आँशुले गजलहरूमाथिको सौन्दर्य चेत बारे चर्चा, परिचर्चा गरिन् । त्यस्तै कवि ह्यारी बोण्डले संरचना पक्ष र स्पन्दन दिपक खनालले वैचारिक पक्षमा चर्चा तथा कमी कमजोरीको विश्लेषण गरे । तीन जनाको विश्लेषणले गजलबारे अझै बुझ्ने मौका मिल्यो । ‘आगो टेक्छ योद्धा’ भित्रका शेर बिच्चमा गजलकार उत्तम खाजुमको दमदार वाचनले साहित्य प्रेमी सहभागीहरूको बिचमा साहित्यको महलो तात्यो । कार्यक्रम विर्षजनपछि सामूहिक फोटो क्लिकपछि गजल पुस्तक र कवि सुष्मा रानाहँमा राईको पुस्तक ‘आमाको तासफोटो’ कवि दीपा मेवाहाङ राईसँग लिएर दौडिए ।
दिउँसोको खाना खाएपछि पहाड चढ्न जाने तय भयो । इन्वाङ्सान जानलाई गोकुल, राजिब, सुरेश सम्धीहरू र विमल जीसँग भेट भयो । दोङ्देमुनबाट ७२० नम्बरको बस चढेर मुआग्जे स्टेसनमा ओर्लियो । हामी पहिलो पटक जाँदै थियौँ । एकैछिन अलमल पर्यो । मोबाइलमा म्याप हेरेपछि अपाट्मेन्टको बिच्चबाट बाटो पत्ता लाग्यो । जङ्गलभित्र काठको सिँढीहरूमा उकालो चढ्यो । हिँड्दा हिँड्दै राजिब सम्धीले प्रश्न गरे, ‘यो काठको सिँढीहरू किन बनाएका होलान्, यसले पैदल यात्राको सौन्दर्य दिन्छ त ? सानो–सानो हुँदा सैलुङ कति चढे–चढे । यतिको पहाड पनि चढ्न सक्दैनन् त ?’ सकिन्छ । डाक्टर मार्टिनको जुत्ता लाएर हिँडेपछि चढ्न सकिन्छ । राजिब सम्धीलाई व्यङ्ग्य ।
हरियाली वनजंगल, स्वच्छ हावा, शीतल छायाँ, कलकल बगीरहेका खोल, सुनसान वातावरण । तल हेर्दा गगनचुम्बी भवनहरू माथि अग्लो पहाड । खुल्ला ठाउँमा व्याडमिन्टका कोट, त्यसै वरिपरि व्यायामका समाग्रीहरु, जति खेले पनि जति व्यायाम गरे बालै छैन । जङ्गल, पहाड भित्तामा कोरियन बौद्ध गुम्बामा दर्शनपछि ठाडो उकालो चढ्यौँ हामी ।

हामी विना तयारी हिडेरहेका थियौँ । पानी तिर्खा लाग्यो । ‘तिर्खले खोला धाउँछ’ भन्छन् तर हामीलाई पानीले तिर्खा धाएको जस्तो भयो । पहाडको भित्तामा भेटियो नेपालकै जस्तो कुवा । पानी कुवा ! दङ्ग परे सबै । पानी पिउन भाँडो पनि राखिएको छ । सुरेश सन्धिले पानी निकालेर सबैलाई दिनभयो । कुवाको पानी कुनै मेसिनले फिल्टर गरेको भन्दा कम छैन । फिल्टर गरेकोमा अलिक स्वाद कम हुन्छ, तर यसमा स्वादिलो र चिसो । प्यास मेटायो । विकाशित मुलुकमा कुवा अझै संरक्षित रहेछ ।
पहाडको डाँडामा पुग्यौँ । गरम गरम भएर शरीरमा पसिना आएछ । सम्धीहरू गफिन थाले । बिदाको समयमा यसरी हो रमाइलो गर्ने । कति बजार, भिडभाडको कोलाहलमा मात्रै बस्ने यसरी घुम्नुपर्छ बेलाबेलामा । राजिब सम्धी र म यता ठुलो ढुङ्गामाथि चढेर दुईचारटा फोटो खिच्दै थिए । गोकुल आस्याङले पछाडिबाट भनिहाले ‘राजिब आस्याङको बिहे भा छैन, राम्रो फोटो खिचिदिनु, कसैले पत्याइहाल्छन् कि!’ हह हह ओके ।
माथितिर हेर्दा लस्करै पहाडहरू छन् । त्यसैमा अलिक नजिकै अलिक अग्लो ‘बुख्खासान’ ठिङ्गा उभिएको छ । ‘धोबोङ्सान’ अलिक परै देखिन्छ । विश्वका पाँचौँ अग्लो ‘लोट्टे’ टावर र ‘नामसान सउल भ्यु’ टावर प्रस्टै देखिन्छन् । व्यवस्थित गाउँहरू, आकाश चुम्बी भवनहरू, विच्चमा सुस्तरी बगिरहने सफा ‘हाङ्गाङ’ नदी । नदीले राजधानीलाई चिरेको जस्तो । तल हेर्दा राष्ट्रपति भवन ‘ब्लु हाउस’ र जोमोन राजवंशको ऐतिहासिक राजदरबार (ख्याङबोक्खोङ) छ । पश्चिममा घाम डुब्दै छ । आकाशमा हवाईजहाज उडिरहेकै छन् । चाडबाड मनाउन आएका होलान् । हामी जस्ता मजदुरहरू बिदामा घर देश परिवार भेट्न गइरहेका होलान् । बिदा मनाउन थाइल्यान्ड, सिंगापुर, युरोप, अमेरिका, अस्ट्रेलिया घुम्न निस्केका पनि होलान् ।
हो, यही डाँडाको फोटो देखाउँदै रामेछापका बुद्ध सन्धिले ‘सायद २ वर्षअघि नै हामी यसो हावा खान जानु पर्छ है’ भनेर सुझाएका थिए । अन्तै व्यस्तताले आज सम्धी हामीसँग मिसिन पाएन । हामी केही फोटोहरू क्यामेरामा कैद गरेर । मन, मष्तिकमा जिन्दगीभरका लागि कैद गरेर ओरालो झर्यो । बाटोमा उकालो चढ्नेहरूको भिडै–भिडमा काखमा बच्चा बोकेर उकालो चढ्दै पनि थिए । पूर्णिमाको बेलुकी जुन उदाउँदै छ । त्यो पूर्णिमाको रात र उज्यालो, धपक्क बलेको राजधानी हेर्न सास तान्दै, लट्ठी टेक्दै डाँडामा उक्लेका हुन् । हामी पनि एकै छिन् पूर्णिमाको जुन हेरेर रेल स्टेसनतिर फकियौँ ।दोस्रो दिन भएर धेरै सङ्ख्यामा मानिसहरू निस्केका रहेछन् । दोङ्देमुन आइपुग्यो । ३ नम्बर गेट वरिपरि भिडै भिड, खुट्टा भुईँमा राख्ने ठाउँ छैन । २ गाडी पुलिस आएर बाटो खुलाउँदै रहेछ । एनआरएनएका अध्यक्ष बुद्धि गुरुङ पनि स्वयंसेवक गर्दै थिए । हिजो ५-६ जना नेपालीहरूलाई पुलिसले समातेर लगेको रहेछ’, उनले सुनाउँदै भने, ‘जथाभाबी फोहोर गर्ने, बाटो मै चुरोट रक्सी खाने, भिडभाड गरेको भएर समातेका रहेछन् भन्ने बुझेको छु ।’ नेपाली पारा ।
मोटेलमा कोठा पायो भनेर सुरेश सम्धी र विमल जीबाट खबर आयो । दिनभर कार्यक्रमतिर ब्याच भिरेर आएका गौतम गोले सम्धीसँग भेट भयो । सँगै खाना खाएपछि भाइ अनिष र म बस चढेर हुइँकियो सुत्नतिर ।
०००
तेस्रो दिन जोमोन राजवंशको ऐतिहासिक राजदरबार तिर जाने निधो भयो । बिहान १० बजेतिर उठेर दोङ्देमुन आइपुग्यो । होटल, रेस्टुरेन्ट हिजोको व्यस्तताले भर्खर–भर्खर सरसफाइ र किचेनमा खानेकुरा तयार हुँदै छ । पोतला रेस्टुरेन्टका साहुजी तथा घेदुङका अध्यक्ष राजकुमार आस्याङ गेटमै भेट भो । पोतलामै चिया र मिठो मासु भात खाएपछि ३ नम्बर गेटको भिडमा जिक्तेन सम्धीको नुवाकोटे ग्रुप भेटेपछि रेल चढेर गन्तव्यतिर लागियो ।
भिडभाड, चहलपहल निकै । कोरियाली, विदेशीहरू हान्बुक (कोरियन मौलिक पहिरन) लगाएर रङ्गीचङ्गी । रातो, सेतो, पहेँलो, निलो रंगका लुगामा फुल बुट्टा भरेका मौलिक पहिरन लगाएर सेल्फी खिच्दै । गर्लफ्रेन्ड-ब्याइफ्रेन्ड होलान् । बुढा–बुढी, परिवार पनि होलान् र हामी जस्ता युवाहरू पनि छन् । जोडीहरूले बेहुला–बेहुलीका पहिरनमा छन् । कोहीले राजारानीका, कोहीले सेनापतिका पहिरनमा आईफोन निकाल्छन् र सेल्फी खिच्छन् । रमाइलै छ डिजिटल जिन्दगी ।
साथीहरुको पोज–पोजमा खिचिदिएँ । अनि क्यामराम्यानकै कसले खिच्ने ? पीडा छ । पहिलेका राजाको सिंहसन भवन विच्चमा छ । दरबारका सबै भवनहरू, गेटहरू काठबाट निर्माण गरेका छन् । काठमा आकर्षक बुट्टा (कला) ले भरिएका छन् । दरबार वरपर घुमियो । दरबारको पूर्वपट्टि आकर्षक पाँच तले प्यागोडारपगोडा शैलीमा निर्माण गरेको मन्दिर ।
एकैछिनमा मूल फुटेझैँ पानी पर्यो । हामी फर्किँदै थियो । सुरेश सम्धीले कलमा भने, ‘सम्दी कता हो रु हामी पनि यतै (ख्याङबोक्खोङ) मा छौँ ।
मैले भने, ए हो र ? हामी निस्किन लागेको ।
‘फेरी आउनुस्, घुमाउँला । विमल आस्यङ पनि आउँदै छ ।’ सम्धीले भने ।
‘ए हो र, हुन्छ ।’ फोन काटियो ।
रेल स्टेसनबाट नुवाकोटको सम्धीहरूलाई बिदा गरे । विमल जी दिउँसै कम्पनी (कोठा) फर्किने भनेर फोनमै छुटेका थियौँ । फेरी फर्केर आएछ । हामी सबै भेट भयो । सुरेश सम्धीसँग गाउँकै काका, भाइहरू र साथीहरू आएका रहेछन् । उनको काकाचाहिँ हाम्रो साँचिएकै ‘आस्याङ’ परेछ । भाइ र मैले ल्हास्सो फ्याफुल्ला गरियो । पोहोर साल माघमा मेरो माइलो दाइले उनै आस्याङकै जेठा दाइको छोरी (भतिजी) बिहे गरेको थियो । नजिककै चिनजान भयो । झन्डै ‘आइरक’ सगुन राखेर ढोग भेट नै पो भएको । तामाङ रीतिरिवाज अनुसार नजिकको साइनो भएको चिनजानमा भेट भयो भने तीन पटक ढोग भेट गर्ने चलन छ ।
सुरेश सम्धी र आस्याङहरुलाई त्यतै बिदा गरेपछि हामी रेल स्टेसनतिर कुद्यौँ । विमल जी छाङ्न्याङ्री हुँदै खाङ्वान्दो हुइँकिए । हातमा लुगाको पोको, बुईमा क्यामेरा ब्याग भिरेर म दोङ्देमुनबाट ह्वासाङ हानिएँ ।अनिष भाइ इन्छन् गिम्पु हुइँकिए । अरु साथीहरू अझै ‘द ह्याप्पी छुसक’ भन्दै दोङदेमुनमा आईरक कथा सुनाउँदै छन् । ०००



