तङ्जो महाकालको इतिहास र गरिमा

पासाङलाल तामाङ लिसंखुपाखर, सिन्धुपाल्चोक
896 Shares
सिन्धुपाल्चोक

‘तङ्जो–ला’/‘तङ्जो महाकाल’ सिन्धुपाल्चोक ठुलो धादिङको प्रसिद्ध धार्मिक तीर्थस्थल हुन् । यो लिसंखुपाखर गाउँपालिका वडा नं. १ ठुलो धादिङमा अवस्थित छ । ‘तङ्जो महाकाल’ प्रत्येक वर्ष दसैको घटस्थापना औंशीको दिन गएसँगै विशेष विधिपूर्वक पूजा अर्चना गर्ने प्रचलन छ । सो पूजा गर्दा बिहीबारको दिन नै पार्नुपर्ने परम्परागत धार्मिक मान्यता रहेको पुजारी सन्तवीर तामाङले बताए । यस महाशक्तिपीठको पुजारी स्थानीय तामाङ समुदायको योन्जन थरका एउटै वंशबाट मात्रै पुजारी हुने गर्दछन् । यस महाशक्ति पीठमा वली पूजा भने परापुर्वकालदेखि नै वर्जित रहेको छन् । तङजो महाकाल चार वटा जिल्लाहरू सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे जिल्लाको भुभागसँग जोडिएको संगमस्थलको रूपमा समेत परिचित छन् ।

दसैको घटस्थापना औंशीको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकालको पूजा अर्चना गर्ने प्रचलन छ । सो पूजा गर्दा बिहीबारको दिन नै पार्नुपर्ने परम्परागत धार्मिक मान्यता छ ।

यस स्थलको अवलोकन भ्रमणका लागि काठमाडौँबाट अरनिको राजमार्ग हुँदै लामोसाँघु जिरी सडकखण्डको २१ किलोबाट भित्री बाटो हुँदै जान सकिन्छ । ४ कि.मि. पक्की कालोपत्रे सडक त्यसपछि करिब ८–९ कि.मि. कच्ची ग्राभेल मोटरबाटो भएर गुम्बा टोल भएर पुग्न सकिन्छ । त्यस्तै मुडे बजारबाट शैलुङ जाने बाटो २ कि.मि.अगाडीबाट दायाँतर्फ बाघखोर–टनम सडकखण्डको घोन्बोभञ्ज्याङ म्रु कु (नौ मुहान ताल)‚ ब्यर्सा गाउँको लर्खतबाट पनि पुग्न सकिन्छ । चारतिरको मोटरबाटोबाट मुख्य द्वारसम्म पुगेपछि करिब ४५ मिनेटदेखि एक घण्टासम्मको पैदल यात्रा गर्दै ‘तङ्जो महाकाल’ महाशक्ति पीठसम्म भएर पुग्न सकिन्छ । त्यस्तै दोस्रो पैदल मार्गबाट जाने क्रममा एउटा प्राकृतिक द्वार भेटिन्छ । जसलाई स्थानीयहरू म्रापसोङ घल (मूल ढोका द्वार) भन्ने गरिन्छ । जहाँ पुग्दा म्राप ठोङो अखेः ममः (ढोका खोल्नुस् बाजे बज्यै) उच्चारण गर्दै जाने चलन अहिले पनि प्रचलनमा छन् । यसै प्राकृतिक द्वार नजिकै एउटा गुफा छ । यस गुफालाई स्थानीयहरू पोल्धोङ/पोलोधोङ (सिस्नु घारी) महादेव गुफा (ढुबफुग) भन्ने गरिन्छ । यो गुफाभित्र प्रवेश गर्नका लागि सिधा हिंड्न् मिल्दैन । छड्केबाट करिब तीन मिटर भित्र पसेपछि खुल्ला र फराकिलो गुफा आइपुग्छ जहाँ विभिन्न किसिमको कलात्मक प्राकृतिक आकृतिहरू देख्न सकिन्छ । यहाँ भित्र पनि त्रिशूलको थाक देख्न छन् ।

यहाँ मंसिर पुर्णिमामा झाँक्रीबाट पूजा आराधना गरिनुका साथै स्थानीयहरूको जात्रा समेत लाग्ने गर्दछन् । यहाँ अहिले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरूको चहलपहल बढिरहेको छ । सामाजिक सञ्जाल लगायतका प्रविधिको माध्यमले प्रचारप्रसार भएपछि धार्मिक पर्यटकहरू दर्शनका लागि आउने जाने गरेको स्थानीयहरू बताउँछन् । पर्यटकलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले आ.व. २०८०/८१ मा लिसंखुपाखार गाउँपालिकाबाट आवश्यक बजेटको व्यवस्था गरी ‘तङ्जो क्षेत्र बृहत् गुरुयोजना’ निर्माण कार्य समेत सम्पन्न गरिसकेका धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तीर्थ लामा तामाङले बताए ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र सङ्घीय सरकार समक्ष गुरुयोजना सहित अवधारणा पत्र समेत पेस गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । अझ थप व्यवस्थित गर्नाका लागि आवश्यक बजेटको व्यवस्था गरी भौतिक संरचना, पूर्वाधारको काम सम्पन्न गरी व्यवस्थित गर्ने जनप्रतिनिधिहरूको लक्ष्यसमेत रहेको छ । आगामी दिनमा यस क्षेत्रको भौतिक विकास र धार्मिक पर्यटनको थप आकर्षण र सम्बन्धित वडावासीहरूको आर्थिक एवम् सामाजिक वृद्धि विकास हुनेमा विश्वास लिएका छन् ।

यो ठाउँ दृश्यावलोकनको हिसाबले पनि अति नै रमणीय छ । यहाँको थुमगङ (डाँडा) बाट चारतिरको विभिन्न मनोरम दृश्यहरू मज्जाले अवलोकन गर्न सकिने धार्मिक तीर्थस्थल संरक्षण समितिका अध्यक्ष तामाङ बताउँछन् ।  सिन्धुपाल्चोकको जुगल हिमशृङ्खला‚ दोलखाको गौरीशङ्कर हिमशृङखला, कालिन्चोक, शैलुङ लगायत रामेछापको विभिन्न भूभागहरूको अवलोकन गर्न सकिन्छ । काभ्रेको तिमाल लगायत अधिकांश भूभागहरू पनि दृश्यावलोकन गर्न सकिन्छ । काठमाडौँ उपत्यकाको चार भञ्ज्याङ्हरु चन्द्रागिरि, फुलचोकी, नगरकोट, शिवपुरी लगायतका पर्वतहरू देखिनुका साथै गणेश हिमाल, धौलागिरि हिमशृङ्खला समेत देखिन्छ । साथै महाभारत पर्वत शृङ्खला समेतको दृश्य अवलोकन गर्न सकिन्छ ।

तङ्जो महाकालको ऐतिहासिकता व्याख्या

गुरु पद्मसंभव (गुरु रिन्पोछे) सँग सम्बन्धित विभिन्न ऐतिहासिक एवं धार्मिक महत्वको तीर्थस्थलहरूमध्ये यस ठाउँ पनि एक हो । खोटाङ जिल्लाको हलेसी, काभ्रेको तेमाल र काठमाडौँको फर्पिङ लगायतका स्थलहरूमा त्यस बखत भएको ऐतिहासिक घटनाको पृष्ठभूमिलाई बुझ्ने/हेर्ने हो भने धेरैजसो कथाहरू भूत, प्रेत, राक्षसहरूसँग दमन, नियन्त्रण र बध  समेत भए गरेको घटनाहरू प्रशस्त मात्रामा विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाउन सकिन्छ । यस ठाउँको ऐतिहासिक पृष्ठभूमि भने बिलकुल पृथक् खालको रहेका छ । ८ औँ शताब्दी ताका गुरु पद्मसंभव भोट यात्राको क्रममा तेमाल हुँदै यस स्थानमा (थुमगङ क्षेत्रमा) आई पुग्नु भएको भन्ने किंवदन्ती पाइन्छ । थुमगङ आसपासको धेरै ठाँउहरुमा गुरु पद्मसंभवले ध्यान साधना गर्नुभएको भन्ने जनविश्वास स्थानीय लामा, बोन्पो र बुढापाकाहरूले गर्ने गर्दछन् । यस भेगका योन्जन थरी तामाङहरूले तङ्जो महाकाललाई आफ्नो कुलदेवताको रूपमा समेत पुज्ने गरिन्छ ।

 ‘तङ्जो’ सँग गुरु पद्मसंभवको भेट:

गुरु पद्मसंभव थुमगङ डाँडामा ध्यानमा लीन रहेको अवस्थामा पटक पटक ध्यान स्थलबाट अन्यत्र नै (हाल ढुबश्युबा ऊ) भन्ने ओडारमा आफूलाई पाएकोमा आश्चर्य हुँदै पुनः अन्तर्दृष्टिले हेर्दा, असाधारण शक्तिवान् महापुरुषको शक्तिका कारण आफूलाई यस्तो भएकोले एकापसमा अहिलेको (महाशक्ति पीठ÷थान) मा भेट गरी, पद्मसंभवलाई हाल (तङ्जो थानको) आँगनमा राखी परिचयात्मक संवाद भएको भन्ने किंवदन्ती पाइन्छ । त्यस बेला उनीहरूबिच गरेका संवादको सारांश ।

तङ्जो राजा: आफ्नो आसनमा (हालको थानमा) बस्दै, म यस ठाउँको राजा हो । मेरो नाम तङ्जो हो । यो ठाउँमा किन ? कहाँबाट आएको ? तपाई को हो ? भनी संवाद भएछन् ।

गुरु पद्मसंभवः म आचार्य महातान्त्रिक महायोगी पद्मसंभव हो । म बौद्ध धर्म सम्बर्द्धनको खातिर भोट यात्राको क्रममा यहाँ आइपुगेको हो । तपाईँको शक्ति देखेर म निकै प्रभावित भए । तसर्थ तपाईँ जतिको शक्तिवान् महापुरुषले बौद्ध धर्म संवर्द्धन र जगत प्राणी हितमा योगदान पुर्याउनुहोस । जसले गर्दा कल्प कल्पसम्म धर्म रक्षक महाकालको रूपमा पुज्न सकुन् । भन्दै आफ्नो बज्र धातु महाशक्ति त्रिशूल उपहार स्वरूप तङ्जो राजालाई प्रदान गरिएको र तङ्जो राजाले पनि गुरु पद्मसंभवको अनुरोधलाई सहर्ष स्विकार्नु भएको हुनाले यस ठाउँमा गुरु पद्मसंभव  सम्बन्धित घटना ऐतिहासिकता पृथक् रहेको भन्ने यहाँका स्थानीय जानकार व्यक्तित्वहरूको मत पाइन्छ । धर्म गुरुहरू र विषय विज्ञहरूका मतअनुसार कतिपय ऐतिहासिक घटना एवं कथाहरूलाई शास्त्रमा उल्लेख गर्न छुटेको सत्य हो भन्ने मत समेत राख्ने गर्नुहुन्छ । त्यसैले यस्ता खालको स्थलगत पवित्र ठाउँ विशेषको ऐतिहासिक धार्मिक महत्वका कथाहरू पुनः खोज अनुसन्धान पुनर्लेखन पुनर्भाष्या अनि प्रकाशन र प्रचारप्रसार गर्नु अपरिहार्य छन् ।

पूजा विधि, तिथि र जनविश्वास

दसैको घटस्थापना औंशीको दिन गएसँगै विशेष विधिपुर्वक तङ्जो महाकालको पूजा अर्चना गर्ने प्रचलन छ । सो पूजा गर्दा बिहीबारको दिन नै पार्नुपर्ने परम्परागत धार्मिक मान्यता छ । तर यस वर्षदेखि चाहिँ दिउँसो मात्रै पूजा गर्ने गरिएको पुजारी सन्तवीर तामाङले जानकारी दिए । यस महाशक्तीपीठको पुजारी स्थानीय तामाङ समुदायको योन्जन थरका एउटै वंशबाट मात्रै पुजारी हुने गर्दछन् । यस महाशक्ति पीठमा वली पूजा भने परापुर्वकालदेखि नै वर्जित रहेको छन् ।

के कस्ता पूजा सामग्री चढाउने 

गच्छे अनुसार तामाको त्रिशूल घण्टी लुङ्ता (लुङ्दर) खादा‚ फुल‚ अक्षता सुगन्धित स्युक्पा, सङधुप जस्ता सामग्रीहरू चढाउने सकिन्छ । यस्तै हुनेखाने बर्गले सुन चाँदीको त्रिशूल समेत चढाउने गरिएको पुजारी तामाङ बताउँछन् । कतिपय भक्तजनले नरिवल चढाउन ल्याएको भए तापनि नरिवल चढाउनु नहुने पुजारी तामाङ बताउँछन् ।

आस्था एवं विश्वास

  • यस तङ्जोलाई पुकारेमा विध्न, बाधा अवरोधहरू हट्ने ।
  • अचानक सङ्कट आएमा मनमनै तङ्जो अखेः ममः भनी पुकारे सङ्कटबाट मुक्ति मिल्ने ।
  • घर परिवार, धन सम्पत्तिको रक्षा हुने ।
  • आ–आफ्नो कामना अनुसार भाकल गर्ने ।
  • चिताएको मनोकामना सबै पुरा हुने आदि ।

सत्य युगमा तङ्जो अखेःमम ?

कुनै समय तङजोलाई मागेमा पैसा र आवश्यक भाँडाकुँडा समेत दिने गरिन्थ्यो रे । आफूले भोग चलन गरी सकेपछि सफा सुग्घर गरी लिनुस् अखेः ममः भनी फिर्ता बुझाउनु पर्ने चलन थियो रे । एक पटक मानिसले गलत कार्यमा उपभोग गरी फिर्ता बुझाउँदा भाँडाकुँडा फिर्ता नलिई त्यसपछि त्यो भाँडाकुँडा शिलाको रूपमा परिणत भयो भन्ने स्थानीयहरू बताउँछन् । त्यही शिलाको अवशेष अहिले पनि अवलोकन गर्न सकिन्छ ।

त्यस स्थानमा बस्तुभाउ चराउने बेला गोठालोहरू पैसा मागी खोपी खेल्थ्यो रे । गोठालोहरूले खोपी खेली बाटोमै छरपस्ट छाडिएका तामाको चारकुने पैसाहरू भोलिपल्ट जाँदा पहराको खुपिल्टहरुमा जम्मा भएको अवस्थामा हुन्थ्यो रे । खोपी खेल्ने मध्येका कतिपय मानिसहरू अहिले पनि जीवित नै भेट्न सकिन्छ । उनीहरूबाट यो कथन सुनिन्छ ।

निषेध/वर्जित : महाशक्ति पीठको मुख्य थानमा लामा, झाँक्री, महिला र दलितलाई प्रवेशमा निषेध छ । यो कार्य विरोधाभास एवं निन्दनीय देखिन्छन् । यस्तो विभेद गर्नुको पछाडि कारण के छ ? खोज अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई आगामी दिनमा यस्ता खाले विभेद हटाउनु अनिवार्य देखिन्छ ।

सुधार्नुपर्ने पक्ष

  • माथि उल्लेखित विभेदहरूको अन्त्य।
  • मिथ्या र सत्य पहिल्याउने ।
  • यसको संरक्षण एवं संवर्द्धन गर्न गठन तथा दर्ता भएको समितिले सक्रिय भूमिका खेल्नुपर्ने ।
  • यसको ऐतिहासिकता र पुरातात्त्विक महत्वको बारेमा सम्बन्धित सरोकारवाला निकाय, सङ्घसंस्था, व्यक्तिसँग वृहत् खोज अनुसन्धान, छलफल, अन्तरक्रिया गरी उपलब्धिलाई प्रकाशन गर्दै यसको महत्वलाई अझै थप उचाइमा पुर्‍याउने ।

– (लेखक‚ लिसंखुपाखर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका