गए राति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ जना पुगेको छ ।
जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।
रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको सङ्ख्या बढी छ । घाइतेहरूको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घाइतेको तत्काल उद्धारका लागि सुरक्षाका तीन वटै निकाय परिचालन भएका बताए । उद्धार एवं राहतमा जुट्न सबैमा अपिल समेत गरेका छन् ।