रसुवाबाट नक्कली नोटसहित तीन जना पक्राउ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1624 Shares
रसुवा

रसुवाबाट नक्कली नोटसहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा उत्तरगया गाउँपालिका वडा नं ५ स्थित होटेल हङरबेलीबाट नक्कली नेपाली नोट ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नं ६ बस्ने ३२ वर्षीय बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका वडा नम्बर ८ बस्ने मानबहादुर गुरुङ, दुचेश्वर गाउँपालिका ७ बस्ने ४० वर्षीय ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन्।

नक्कली नोट छ भनी खबर पाएपछि इलाका प्रहरी कार्यालय कालीका स्थानबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त होटेलबाटै नक्कली नोटसहित बा ६५ प ७६७९ र बा ७३ प १५२५ नम्बर दुई स्कुटरलाई नियन्त्रणमा लिएका हुन् । होटेलको कोठामा कागज र पत्रिका काटिएका टुक्राहरु रहेको साथै स्कुटरको डिकिभित्रबाट रातो रंगको छालाको झोलाभित्र १ हजारको नेपाली नोटसहित पत्रिकालाई काटेर पैसाको आकारमा बनाएको फेला पारेको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्र प्रसाद पौडेलले  जानकारी दिए । त्यस्तै पैसाको आकारमा ४ बण्डल ५ सयको नोटको साइजमा काटिएको कागज फेला परेको उनले बताए ।

प्रहरी कार्यालय रसुवाले उनीहरू ३ जनालाई ठगी उद्योगमा मुद्दामा दिन सातको म्याद दिई मुद्रासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

उनीहरूलाई ७ दिन म्याद थपी कारबाही अगाडि बढाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका