प्रकृतिको अनुपम सौन्दर्यले सिँगारिएको गाउँ‚ सल्मुगङ । अमूल्य चीज लुकेको ठाउँ जहाँ संस्कृति र भेषभुषाको विविधता पाइन्छ । गुम्बैगुम्बाले भरिएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ४ स्थित सल्मुगङ (साल्मे) गुम्बाहरूले भरिएको गाउँ हो । यहाँ मानव सृष्टिदेखि नै गुम्बाहरू भएको जनविश्वास छ । झन्डै आधा दर्जनभन्दा बढी गुम्बाहरू तामाङका विभिन्न थरका इतिहास र पहिचानसँग जोडिएका छन् ।
साल्मे किस्पाङको अन्तिम उत्तर पश्चिम गाउँ हो । यहाँबाट धादिङ जिल्लाको सिमाना र मेघाङ गाउँपालिका जोडिन्छ । साल्मेमा तामाङ, घले लगायत अन्य जातजातिको बसोबास छन् । यहाँका बस्तीहरूमा बुद्ध, हिन्दु, क्रिस्चियन लगायत अन्य धर्म मान्नेहरूका समुदाय छन् ।
यहाँ भएका गुम्बाहरूको आ–आफ्नै इतिहास र धार्मिक किंवदन्तीहरू छन् । करिब ३०० वर्षअघि स्थापना भएको कुसु गुम्बा त्यहाँका पुरानो गुम्बा हो । पहाडको बिचमा रहेका कुसु गुम्बामा जान गाउँदेखि करिब २ घण्टाको बाटो तय गर्नुपर्दछ । कुसु गुम्बाका मुख्य लामा वाङनोर्बु लामाका अनुसार यस गुम्बामा परापूर्वकालमा यहाँ लामा गुरु ध्यान गर्ने बेला यो गुम्बा स्थापना भएको थियो। करिब सातौँ, आठौँ शताब्दीतिर किराँतकालमा स्थापना भएको उनीहरूको भनाइ थियो । अहिले यहाँ प्रत्येक वर्षको माघ पूर्णिमापछिको एकादशीमा लामा गुरुहरूबाट पूजापाठ र एक दिने छेवाङ (आयु अभिषेक) दिने कार्यक्रम हुने लामा गुरु तामाङले बताए ।
त्यस्तै पेटाटाङ गुम्बा पनि धेरै वर्ष पुरानो गुम्बा हो । यो गुम्बा ठुलो ढुङ्गाको टुप्पोमा छ । एक जना माम (बज्यै) यही गुम्बाको आँगनमा बसेर अहिलेका श्ह्यामा (फरिया/गुन्यु) बुन्ने गर्दथे । एक दिन त्यो श्ह्यामा बुन्ने सामग्री पेटा (बुन्द ढाडको पछाडि अड्काउने छालाको पेटीजस्तो) चुँडेर माम खसेको र त्यसैबाट गुम्बाको नाम पेटाटाङ राखिएको भन्ने किंवदन्ती भेटिन्छ ।
यस्तै पेल्चेत, ने ज्याम्पल, टासी, पेमावाङ्च्यु र जिलिङ गुम्बा यहाँका करिब पाँच सय वर्ष पुराना गुम्बाहरू हुन् ।
बि.सं २०७२ सालको भूकम्पले यहाँ भएका गुम्बाहरू तहसनहस बनाएका छन् । सरकारले खासै चासो नदिँदा अहिलेसम्म यहाँका गुम्बाहरू अवशेषमा मात्रै देख्न सकिन्छ। गुम्बा बनाउन लाखौँ खर्च हुने हुँदा सामूहिक अथवा व्यक्तिगतले बनाउन नसक्दा सरकारको बाटो हेर्नेबाहेक केही सिवाय नभएको संरक्षकहरू बताउँछन् ।
यहाँका व्यापारी पसलेहरू बहु–सुविधासहितको व्यापार गर्दछन् । यहाँका पसलहरूले फ्री वाइफाइ, फोटोकपी, फोटो खिच्ने र प्रिन्ट, स्वास्थ्य सेवा लगायत प्रदान गरिन्छ ।
साल्मे स्वास्थ्य चौकीका इन्चार्ज सीपबहादुर तामाङ बहु आयामिक व्यक्ति रहेको पाइयो । उनको फार्मेसी पसल छन् । उनले त्यहाँका जनतालाई दुख बिरामी पर्दा मध्यरातमा पनि सेवा दिने गर्छन्।
त्यस्तै निवर्तमान वडाध्यक्ष एकराज घलेबाट गाउँका इतिहास र त्यहाँ वस्तुहरुको बारेमा जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि स्हाङगम गाउँ रमणीय छन् । यहाँ ने (डाँडाहरू) रमणीय छन् । पर्यटकका लागि यहाँ पुग्न किस्पाङका दुई तिन वटा मोटरेबल बाटोबाट सहजै पुग्न सकिन्छ । सडक पीँच हुने तरखरमा छन् । किस्पाङको केही सडक पीँच भइसकेका छन् ।
त्यसो त साल्मे मात्रै नभई यहाँ अर्को पर्यटकीय क्षेत्र हुन्‚ दुमपाङ (भाल्चे) । यहाँ नेपाल सरकारले भेडा फार्म नै स्थापना गरेका छन् । यो स्थानबाट सिङ्ल्हा जान छोटो बाटो पर्छ ।
समग्रमा नुवाकोटको किस्पाङ गाउँपालिका साल्मे‚ दुमपाङ‚ फिकुरी लगायतका क्षेत्रहरू पर्यटकका लागि घुम्न लायक छन् । लेकदेखि बेँसीसम्मका विभिन्न स्थानहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्व र रमणीय छन् ।