ककनी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष रामकृष्ण तामाङलाई पितृ शोक परेको छ ।
वडाध्यक्ष तामाङका पिता ठुलोकान्छा तामाङ ६६ वर्षको उमेरमा सोमबार राति उनकै निवासमा निधन भएको हो । स्व. ठुलोकान्छा साबिक नेपाली काँग्रेस चतुराले गाविस नुवाकोटका पूर्व इकाई उपसभापति एवम् नेपाली काँग्रेसका १३ औँ महाधिवेशनमा इकाई पार्टी सभापतिका प्रत्याशी हुन् । स्थानीय तह निर्वाचन २०७३ को ककनी गाउँपालिका ७ का वडाध्यक्षका प्रत्याशी समेत थिए । वि.सं. २०५४ सालमा साबिक चतुराले गाविस वडा नम्बर ६ को निर्वाचित वडाध्यक्ष भइसकेको स्व. तामाङ पेसागत निर्माण व्यवसायी समेत हुन् ।
उनको पार्थिव शरीरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सभापति प्रदेश सांसद रमेशकुमार महत, महासचिव सदस्य कृष्णबहादुर लामा, ककनी गाउँपालिका कार्यसमितिका उपसभापति गोपी फुयाँल र वडा इकाई सभापति गुणराज थपलियाले चार तारे झन्डा ओढाएर उनीप्रति श्रद्धा व्यक्त गरेका थिए । त्यस्तै गाउँपालिका अध्यक्ष सुमन तामाङ सहित वडाध्यक्ष, विद्यालयका शिक्षकहरूले पनि श्रद्धासुमन चढाएका थिए ।
स्वर्गीय तामाङको ६ वर्षअघि ब्रेनह्यामरेज भएर टाउकोमा अपरेसन गरेको थियो । उनको तामाङ संस्कार अनुहार दाहसंस्कार गरिएको थियो ।
स्व. तामाङ नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यसमिति सदस्य अर्जुनबहादुर तामाङका सहोदर दाजु हुन् ।
उनका पत्नी, दुई छोरा र दुई छोरी रहेका छन् ।