सयपत्री फूल कोदो बारीका डिलभरि नै फूलेको छ । घर वरिपरि फूल बगैँचामा ढकमक्क फुलिरहेको छ । थरिथरी जातका फुलहरू स्वतःस्फूर्त बास्न मगमगाइरहेका छन् । लोभ लाग्दो गरी हाँसिरहेको छ । तरुण जवानी देखाइरहेको छ । साफा आकाश नीलाम्य छ । कतैकतै थोरै बादल छन् । तिहार पर्व घर आँगनमा आयो भन्ने देखाउने मौसम हो यो । घरको दलिन छेउछाउ दशैको सुकुटी तन्त्रङतुन्रुङ झुन्डी बसेकै छन् ।
घर वरिपरि सरसफाइ गर्थे । पुराना भाँडाकुँडा मस्काउँथेँ, टिलिक्क टल्काउँथेँ । हामी छोरो नै छोरो । बहिनी सानै थिइन् । उनलाई भाँडाकुटी खेल्न फुर्सद छैन । गाईको गोबर र रातो माटोले लिपपोत गर्थे । ती मुस्कुराइरहेको, हाँसिरहेको, सौन्दर्य देखाइरहेको सयपत्री भित्र्याउँथ्यो । सायौँ फूलका थुङ्गा धागो नभए ‘चोया’मा उनिन्थ्यो । तल्लो र माथिल्लो तलको झ्याल ढोकामा सिउरिन्थ्यो । नयाँ चामल र सयपत्रीको थुङ्गासँगै पिठो (कुदुङ) खालमा कुट्थेँ । बाटोमा ओहोरदोहोर गर्ने बाटुवाहरुलाई एक दुई मुठा सयपत्री दिन्थ्यो । व्यस्त दिन, रमाइलो दिन, उमङ्गको दिन । लक्ष्मी पूजाको दिन हुन्थ्यो ।
साँझखेर आपा–आमा गोठाला सकेर घर आउनुहुन्थ्यो । आमाले चुल्होमा आगो बाल्थिन् । पानी तताउँथिन् । जाँड (छ्याङ) छान्थ्यो । आप्पाले एक कचौरा खाजा स्वरूप पिउँथे । पातसँग सुर्ती बेर्थे । रातो कोइलाले सल्काउँदै निस्फिक्क्रीसँग धुँवा उडाउँथे । आमा भात, तरकारी पकाउन थाल्थिन् ।
३ रातमा लगभग ४०–५० घरधुरी देउसी खेल्थ्याैं र पैसा सङ्कलन गर्थे । देउसी भट्ट्याउने मुलीलाई ५ रुपैयाँ बढी दिन्थे, अरू सबैलाई बराबरी भाग लगाउँथ्याैं । आफूले पाएकाे २ रुपैयाँको चकलेट खान्थे । ५ रुपैयाँ गुच्चा खेलेको उधारो ऋण तिर्थे ।
हामी लक्ष्मी पूजाको लागि चुल्होभन्दा उत्तर कुनामा सजावटमा लाग्थ्यो । गाग्री, अम्खोरामा साफा पानी । तामाको खड्कुँलो, थाल, गिलास आदि क्रमसँग सजाउँथ्यो । फूलको थुङ्गा, अछेता पनि सजाउँथ्यो । दिउँसो कुटेको चामलको ‘कुदुङ’ (पिठो) पानीमा घोलेर फूलको थुङ्गाले भाँडाकुँडामा टिका लगाउँथ्यो । घरको दलिन, थाम, झ्याल, ढोका, भित्ता सबैमा टिकाले रङ्गीचङ्गी आकर्षक बनाउँथ्यो । टिका लगाउँदा चुहिएर बनेका धार्साहरु झन् आकर्षक देखिन्थ्यो । तामाको दियोमा काँचो धागो र घ्यू बाल्थ्यो । बाहिरा र ढोकातिर स–साना मैनबत्तीको झिलिमिलीले दीपावली भयो । अझ भनौँ ‘दरबार’ जस्तै । यति गरेसी कसो लक्ष्मीले बास् नगर्लिन् ! अनि हामी धनी कसो नभइएला ?
हतार हतार खाना खाएपछि टोलका साथीहरूसँग देउसी, भैलो खेल्ने तयारी हुन्थ्यो । देउसीको छलफल २–४ दिन अघि नै हुन्थ्यो । गाउँको पुच्छर वा शिरनको घरबाट खेल्ने सल्लाह गर्थ्यो । भट्याउने कसले ? यो प्रश्न हाम्रो अगाडी फलामको खम्बा झैँ उभिएको हुन्थ्यो । सरसल्लाहमा केही समय बिताउँथ्यो ।
देउसी खेल्ने दिन । बाक्लो पुरानो स्वेटर लगायो । सोल खिएर पातलो भैसकेको पुरानै जुत्ता लगायो । स्कुलको ड्रेसको पाइन्ट । घाँटीमा आप्पाको लामो गलबन्दी । यतिले त सैलुङको भन्ज्याङबाट बहने सिरेटो छेक्ला नि ! हातमा घँगारुको लट्ठी टेकेपछि ‘देउसिरे’ तयार भयो । अब खेलिने भयो देउसी । औँसीको कालो रातको बाटो ठम्याउन एक जोर टाइगर ब्याट्रीको व्यवस्था छ । टर्च आप्पाको बोकेर टाप । यसकै सहयताले प्रत्येकको घरघरमा पुगिन्थ्यो ।
अरू साथीहरू तयार नभएपछि लजाएर, डर लागेर भए पनि ‘म गर्छु’ भन्थे । एउटा घरमा पुग्थ्यो अनि सुरु गर्थे,
‘हे झिलिमिली झिलिमिली– भैलिराम ।
हे के को झिलिमिली ? – भैलिराम ।
ए तिहारको झिलिमिली– भैलिराम । ….
‘बली राजाले ऊ बेलै लक्ष्मी पूजाको दिन दिदीबहिनीहरूको लागि भैली÷भैलोको लागि छुट्याएका रहेछ ।’ धेरै घरबाट सक्दो पैसा बटुल्ने उद्देश्यले हामी भाइहरू नै भैलो खेल्थ्यौँ । सुरुको घर मूलीले लक्ष्मी पूजा समेत गरेको छैन । अहिले नै आएको ? भरे आऊ, भरे । आज त महिलाहरूले खेल्ने भैली हो समेत भन्थे । हो पनि हो । दिदीबहिनी पनि आको छन्, भनेर अर्को घरतिर टाप कसिन्थ्यो ।
औँसीको मध्यरात । रातमा कालै देखिने सैलुङ डाँडा । त्यही सैलुङको भन्ज्याङ र शिरबाट बहने चिसो हावाको स्याँठ । सुनसान रातमा नजिकैको गाउँमा देउसी–भैलो खेल्ने टोलीहरूको रमाइलो सुनिन्थ्यो । सैलुङ खोला सुस्तरी बगिरहेको आवाज कानमा ठोकिन्थ्यो । ‘दोभान छाँगा’ (झरना) को छ्याङछ्याङले देउसीको लय मिलाउँथ्यो । लक्ष्मी पूजामा बालेका झिलिमिली बत्ती १–२ घण्टामै निभ्थे । केही समयलाई भएको झिलिमिली दरबार पुरानै लयमा आउँथ्यो । अनि त, ‘ए घर हेर्दा, झिङ्गढी जस्तो’ भनेर भट्याउने मुलीले भट्याउँथ्यो ।
०००
बिहानभर सुतेर रातको निन्द्रा पुर्याउँथ्यो । खाना खाएपछि भरे रातिको लागि फेरी १/२ घण्टा सुत्थेँ । बेलुका छिट्टै भात खाएपछि साथीहरू जम्मा भएर देउसी खेल्न सुरु गर्थ्यो । आपा–आमा हामी जस्ता देउसी टोलीहरूलाई १/२ रुपैयाँ औँसीका दान दिएर पठाउँथे ।
‘ए राम्ररी भन, देउसिरे
ए स्वर मिलाइ भन, देउसिरे
ए केराको थाममा, देउसिरे
ए दश भाइ जम्मा, देउसिरे…’
सुरु गरेको केही समयमै कन्ठास्त पारेका देउसी वाक्यहरू दोहोरी रहन्थ्यो । मरिमरी देउसिरे भनेपछि घर भित्रबाट उज्यालो आउँथ्यो । कालो रातमा कालै देखिने देउसिरेका अनुहारमा उज्यालो र मुस्कान छाउँथ्यो । जोड बलका साथ मुलीले दमदार भट्ट्याउने । अरूले फरक जोसका साथ देउसिरे भन्थ्यो ।
चरेसको थालमा अछेता । अछेतामाथि सयपत्री फूल । काँचो धागोमा घ्यू बालेको दियो । फूलमाथि १–२ रुपैयाँका नोट । सिरकको न्यानोलाई थाती राखेर अनिदो अनुहार बोकेका घरबेटीले दैलो उगाथ्र्यो । अनिदो आँखाले देउसिरेलाई छट्के नजर लगाउँथ्यो । चिनेको इसारा आफैलाई गर्थे र दान दैलो मुनी/दैलो छेउमा राख्थे । घरबेटी देउसीको आशिष् सुन्न भित्र बस्थे । हाम्रो धारा प्रवाहरुपमा दोहोर्याई–तेहेर्याई भट्याउँदै देउसिरे लयबद्ध भन्थ्यो ।
‘ए चिप्लो बाटो, देउसिरे
ए बाली राजाले, देउसिरे
ए पाठाका हामी, देउसिरे
ए यो घरको छोराछोरी, देउसिरे
ए पाइलट होउन्, देउसिरे
ए डक्टर बनुन्, देउसिरे
ए लत्ता कपडाले, देउसिरे
ए कोठा नै भरुन्, देउसिरे
ए गाई, वस्तुले, देउसिरे
ए गोठै भरुन्, देउसिरे
ए लेकको कानी, देउसिरे
ए मैले यति जानी, देउसिरे ।’
यस्तै यस्तै आशिष् दिन्थे । दान टिपेर अछेता र फूल पितृ–प्रकृतिलाई छर्काएर बिदा हुन्थ्यो । बर्षदिनमा आउने चाडमा बालापनको रमाइलो । निन्द्रालाई माया मारेर जोस र बचपनको आँटलाई परीक्षा दिन्थ्यो । यस्तै गरी ३ रातमा लगभग ४०–५० घरधुरी देउसी खेल्थ्याैं र पैसा सङ्कलन गर्थे । देउसी भट्ट्याउने मुलीलाई ५ रुपैयाँ बढी दिन्थे, अरू सबैलाई बराबरी भाग लगाउँथ्याैं । आफूले पाएको २ रुपैयाँको चकलेट खान्थे । ५ रुपैयाँ गुच्चा खेलेको उधारो ऋण तिर्थे ।
०००
बिहानको गाईको गोबरले लिपेको गोलो भुईँ । मकैको खोस्टाले बुनेको गोलै चकटी । सप्तरङ्गी रङ्ग । ती बगैँचामा तरुण जवानी देखाइरहेका सयपत्री फूलसँग दुबो गाँसेर उनेको माला । बिहानदेखि पानी समेत जुठो नगरी यति धेरै तयारी गर्ने दिदीबहिनी हुन्थे । टिकाको साइत जुराउन भित्तामा झुन्डिरहेको घडीमा सुई नाचिरहेको हुन्थ्यो । घरमा दाउराको चुल्होमा मिठो मिठो परिकार पाकिरहेको हुन्थ्यो ।
घडीले साइतको सङ्केत गरेपछि दाजुभाइहरू लाइनले बस्थ्यो । ठुलो दिदीले कलशमा सफा पानी र दुबो, तीतेपाती, फूलबाट पातलो धारा बगाउँदै तीन पटक घुमेर घेरा लगाएर पूजा प्रारम्भ गर्थिन् । तत्पश्चात् ओखरमा काँचो धागो बालेर यमराजको प्रतीक मानेर दैलोमा फुटाएर फाल्थिन् । दाजुभाइको निधारमा पालैपालो सप्तरङ्गी टिका लगाएर दीर्घायुको कामना गर्दै सयपत्री माला दिदीबहिनीले लगाइदिन्थिन् । कोसेली स्वरूप चेलीले ल्याएका मिठो मिठो परिकार, फलफूल, मरमसला दाजुभाइलाई दिन्थ्यो ।
देउसी–भैलोबाट कमाएका रकममाथि आप्पा–आमाले दिनुभएको पैसा जोडेर दिदीबहिनीलाई गक्ष अनुसार दक्षिणा दिन्थ्यौँ । पाउ छोएर तीन पटक ढोग्थे ।
०००
गाउँ छोडेको पनि १५–१६ वर्ष भएछ । चेलीबेटी कुटुम्बको घर । भान्जा–भान्जी लिएर चाडपर्वमा आउँछिन् । परदेशिएपछि भाइटिकामा निधार खाली हुन्छ । ती ‘देउसिरे’ साथीहरू कोही जापान, अस्ट्रेलिया, युरोपमा छन् । कोही कोरिया, मलेसियातिर भाडाका मान्छे भएर काम गरिरहेका छन् । उनीहरू ती देउसीका मुलीले भट्याएको आशिषको सार्थकता खोज्न बिदेसिएका हुन् । आ-आफ्नै बेग्लाबेग्लै सपना साकार पार्न उडेका हुन् । स्मृतिमा त्यो तिहार ताजै छन् । सम्झनामा ती यादहरू अहिले ताजै छन् । परदेशिएका साथीभाइलाई आउँदो हो कि हाम्रो देउसीको सम्झना… ?