यात्रा होस् त यस्तो…

826 Shares
ललितपुर

आकाश निलो हल्का बादलले ढाकेको थियो। कात्तिकको आधाआधी मास  हावा मन्द मन्द भएर डुल्दै  थिए । मन त्यसै उसै फुरुङ्ग थियो । यसै छेकमा म एकलकट्टो झैँ आफ्नो साधन लिएर डुल्न निस्केँ । त्यस्तो विशेष योजना पनि थिएन । तैपनि एक्कासि जाउँजाउँ लाग्यो । बारीमा तोरीले  माहुरीलाई खुसी बनाउँदै थिए । म पनि आफैँलाई खुसी बनाउन घुमफिरमा निस्केँ । काम पनि थिएन। कान्छा बाउको अनुहार झैँ सिकार गर्ने काम पनि स्थगित थिए । लगभग फुर्सद मेरै वरिपरि घुम्दै थिए ।

कान्ति लोकपथको ललितपुर खण्डको भालु खोला क्षेत्र, छपेली आसपासका धुलाका कणहरू ओहोरदोहोर गर्ने सवारीसाधनलाई पछाडिबाट लखेटिलखेटी पछ्याइरहेका थिए । मैले चाहिँ रोकिरोकी नै अँगाल्दै सो बाटो छिचोलेँ ।

मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको ८ नम्बर गँगटे मामाघरको  मेजमानी  खाएर बकैया गाउँपालिकाको ठिङ्गन हुँदै खोर भन्ज्याङ ओरालो सुस्तरी झरेँ।

सिमात खोला नपुग्दै अब कता जाने भन्ने मन दोधार भयो। अनि सम्झिएँ एक ब्याजी मित्र सुन्दर लो तामाङलाई । जो रानीसेरा माबिका प्रधानाध्यापक हुन् । उहाँले फापरबारी हातिसुँडे जाने छोटो बाटोको नक्सा कोरिदिनु भयो । हुन त गुगल म्याप पनि म सँगसँगै थिए । सुन्दरजिले ‘सिमात खोला नपुग्दै बायाँबाट पिपलडाँडा, सानो थली, ठुलो थली हुँदै मुख्य हाइवे निस्किन्छ । त्यतैबाट सोध्दासोध्दै जानु, आफ्नै भाषामा बोले पनि फरक पर्दैन, सबै तामाङकै बस्ती छ।’ भन्नुभयो । सोही मुताबिक म त्यतै लागेँ । सालका रुखहरू बाटाका दायाँबायाँ नहल्लीकन चुपचाप टोलाएर उभिरहेका थिए । सायद नौलो मान्छे देखेर होला। ठाउँ ठाउँमा खाल्डाखुल्डी परेको कच्ची मोटर बाटोले गुनासो गर्दै थिए। कमसेकम मेरो कारणले गन्तव्यमा पुग्ने बटुवालाई सहजता दिलाउन सके कत्ति सन्तुष्ट हुने थिएँ, अहिले त जो आए नि मलाई धिक्कार्दै थुक्दै जान्छन् । हो… मलाई नि त्यस्तै लाग्यो तर मैले केही भनिन, मात्रै मेरो विश्वकर्मालाई केही नहोस् भन्ने थियो। जङ्गलको बिचमा केहिगरी साधनमा समस्या आए के गर्ने भन्ने मात्रै चिन्ता थियो ।

लगभग  चार माइल जत्ति अघि बढेपछि गोठाल्नी महिला भेटेँ । आफ्नै भाषामा बाटोको बाटो सोधेँ । सहजैले बताइदिनुभयो थर सोधेँ  लो स्या रे  । मलाई कहाँ बाटो आएको भनी सोधिन मैले मेरै गाउँको नाम भने । थाहा छैन रे त्यसपछि चापागाउँ भने त्यो सुनेको मात्रै रे। अहिलेसम्म काठमाडौँ कस्तो छ थाहा छैन रे। त्यो ठाउँ मकवानपुर  बकैया गाउँपालिका ११ नम्बर रहेछ ।

अलि अगाडि पुगेपछि थ्याचथ्याच बसेका सुन्दर बारीहरूले कोदो, धानकोदो, जुनेलो, मास जस्ता किसानका रहरहरू फुलाइरहेका थिए । एकाध उस्तै सुन्दर घरहरू पनि उभिरहेका थिए। जहाँ अघिको भन्दा बाटो अलि सहज रहेछ ।

हुस्सु कुहिरो उस्तै गरी मेरा वरिपरि नै थिए । म सँगसँगै थिए । मुलाबारी पनि सकियो बाटोको पनि हालत खराब थियो । ओरालो भएर मात्रै हो उकालो जानुपर्ने भए सायद पाँच छ किलोमिटरको दुरी तय गर्ने कार्तिकको पहिलो हप्ता हिँडेको मान्छेलाई मङ्सिर महिनामा मात्रै पुग्न सकिन्थ्यो होला । बाबै… हैट….  नेपालको विकास ।

डोको बोकेर हिँड्दै गरेकी उमेरले पच्चीस तीस जत्तिकी दुई जना महिला देखेँ । साथमा सानो बच्चा पनि थियो । मैले फेरि सोधेँ, ‘यहाँबाट फापरबारी पुगिन्छ ?’ ती तामाङनि महिलाले भनिन, ‘उम पुग्छ यही बाटो नछोडी जानोस् अब आधा घण्टा पछि मेनरोड भेट्छ ।’ उनीहरूले जिज्ञासुका साथ मलाई नि सोधे, ‘कहाँबाट आएको ।’ मैले सबै कुरा बताउँदै सोधेँ, ‘यो ठाउँको नाम के हो नि ?’  यो सानो थली हो, ‘उ… परको गाउँ चाहिँ ठुलो थली हो ।’ थली भन्न साथ यो त बकैया गाउँपालिका नै हो भन्ने  ठानेर यो बकैया कत्ति नम्बर वडा हो नि भनेँ , यो त  ४ नम्बर वडा हो भनिन । त्यत्ति भनेपछि मलाई फेसबुकमा फ्रेन्ड भएको अन्जान मित्रको याद आयो । सो मित्रलाई दुई दिनअघि मात्रै दोहोरो कुराकानी गर्ने मनसायले मेसेन्जरमा लस्सो म बाग्मती गाउँपालिका ललितपुरबाट भनेर पहिलो मेसेज पठाएको थिएँ । तर कुनै जवाफ आएन । अनि ठिकै छ भन्ने ठानेर अर्को मेसेज पठाउने कोसिस गरिनँ किनकि प्रत्यक्ष चिनजान नभएको फेसबुके सबैसित जवाफ दिएर नि के साद्धे भन्ने भयो होला भनेर मैले पुनः कुनै मेसेज पठाएन । तर मलाई सो मित्र बकैया–४ थलीको बाघभैरब आधारभूत विद्यालयको शिक्षक भन्ने सयमा सय नै निश्चित थियो ।

त्यसपछि ती महिलालाई एकै सासमा ‘यहाँ बाघभैरब स्कुल छ हो ?’  भनेर सोधेँ, ‘उम छ ।’ ओहो एक मनमा एक खालको तरङ्ग आयो । अनि फेरि हत्तपत्त सोधेँ , ‘उसो भए सुवास स्याङ्बो भन्ने सर हुनुहुन्छ ?’ हुनुहुन्छ वहाँ त त्यो स्कुलको हेडसर हो, वहाँको घर स्कुलभन्दा अलि तल पर्छ । वहाँकी श्रीमती ‘ऊ…माथि पिपल डाँडामा पढाउनुहुन्छ । कहिले सर आफै लिन आउनुहुन्छ कहिले हिँडेर जानुहुन्छ ।’  मैले तुरुन्तै सोधेँ, ‘यही बाटो भएर नै आउने जाने हो?’ती महिलाले भनिन , ‘हजुर हो, यही बाटो नै आउने जाने गर्नुहुन्छ।’ यसो घडीको सुई कहाँ कहाँ पुगे,  के के गर्दैछन भनेर यसो हेरेँ। सवा तीन भएको रहेछ । अब चाहिँ पक्कै ती नयाँ मित्रसित भौतिक रूपमै भेट होला भन्ने आशाले मन फुरुङ्ग भयो । अनि स्कुल कहाँनिर छ नि ? भनेर सोधेँ, ‘यही बाटैमा पर्छ ।  यहाँबाट दस बार्‍ह मिनेट जत्ति लाग्छ  । अनि म बेतोडले दौडिएँ । जसरी माहुरीले फूलबाट रस बोकेर आफ्नो घार दौडिन्छ ।’

न कतै साँढे तीन तिरै छुट्टी भएर स्कुल बन्द भइहाल्ने पो हो कि भन्ने शङ्का पनि भयो । कुद्दै जाँदा एउटा ठुलो रातो माटोको मैदानमा विद्यार्थीहरू यताउति दौडेर खेलिरहेका थिए । मैले रुखको आडमा शीतल मिलोस् भनेर बाइकलाई त्यतै रोकेँ । झटपट सानी नानीलाई सोधेँ  नानु सुवास सर हुनुहुन्छ ? खै थाहा छैन भनी । फेरि अलि अगाडि स्कुलको गेटतिर जाँदै थिएँ, हातमा केही कापी च्यापेर सेतो कपडा लगाउनुभएका सर भेटेँ। वहाँ कक्षा पाँचका विद्यार्थीलाई शारीरिक क्रियाकलाप गराउन खेल मैदानतर्फ आउँदै हुनुहुन्थ्यो । मैले नमस्कार गर्दै सिधै सुवास सर हुनुहुन्छ भनेँ । ए वहाँ त आज काम विशेषले अघि दुई बजे नै निस्किनु भयो,  भन्नुभयो । मलाई अलि खल्लो अनुभूति भयो । मनले एक छिन वरिपरिका दृश्यलाई सँगालेर चित्त बुझाइयो । उभिएरै ती सर र मबिच परिचयको प्रक्रियामा कुराकानीले डेरा जमायो ।

एकै खालका पेसा भएको थाहा पाएपछि वहाँले मप्रति मन दिएरै बातचित गर्न थाल्नुभयो । सरको नाम कृष्णप्रसाद घिमिरे। सेतै क्याप टोपीले केश छोपेको थियो । उमेरमा मभन्दा केही जेठो । मृदुभाषी आत्मीय स्वभावका व्यक्तित्व । सेतो चप्पल ओछ्याएर थ्याच्च बस्नुभयो ।  विद्यार्थीहरूलाई स्वतन्त्रपुर्वक खेल्न छोडिदिनुभयो । हातमा भएको कापीले विश्राम पाए। मेरो यात्राको बारेमा राख्नुभएको जिज्ञासा मेटाइदिएँ । मेरा गन्तव्यलाई पुग्न बाटो देखाइदिनुभयो । चिया ख्वाउन नपाएकोमा दुख व्यक्त गर्नुहुँदै स्कुलका कुरा विद्यार्थीका कुरा शिक्षाका कुरा गर्न समेत भ्यायौँ । कक्षा १–८ सम्म पढाइ हुने सो विद्यालयमा अढाई सय विद्यार्थी भएको कुरा थाहा पाएँ । यत्तिकैमा चार बज्यो । सम्झनाका लागि मैले विद्यालय परिसरमै हामी दुईको तस्बिर खिचेँ । बस्नका लागि गर्नुभएको सत्कारलाई प्रत्यक्ष रूपमा स्विकार्न सकिन । सरप्रति कृतज्ञ भएँ । अलिकति खल्लोपनको महसुस गर्दै म बिदाइको हात हल्लाउँदै म अन्जान बाटोतर्फ अघि बढेँ ।

चारैतिर हरियाली फाँटहरूमा झुलेका फुलेका किसानका खुसी हेर्दै जाँदा मन मस्तिष्कले सारा दुःख पीडा वेदना सबै भुलेछु । म तिनै अन्न र हरिया तरेलीमा फुलेछु । फरक फरक पोज दिएर तस्बिर खिच्ने रहर रहरमै सीमित भो । किनकि म एक्लै थिएँ । म यस्तै थिएँ । अरूभन्दा फरक पनि हुन सक्छु । एकलकाँटे भएको पनि हुन सक्छु  । दिउँसोपख आएका बादल पनि बिस्तारै लाखापाखा लागेछ । घामले पश्चिम क्षितिजको दैलो ताकेर पाइला उतै चाल्दै थिए । म भने पूर्वतिर एक जोडा टायर गुडाउँदै थिएँ ।

ठुलो थलीको डिलको एक टुक्रा ओरालो ओर्लेपछि‚ पहेँलपुर धान झुलेको फराकिला खेतका फाँट देखेँ । चिल्लो हाइ–वे देखेँ जुन धरान चतरा पुग्ने बाटो थियो । टक्क रोकेर फोटो लिएँ । फेरि नजिक भएको मान्छेलाई सोधेँ,  ‘त्यो कुन ठाउँ हो ? छतिवन हात्तिखोला हो । यहाँबाट अब हात्तिसुँडे, फापरबारी, राइगाउँ सर्लाही पुग्छ । बाग्मती पुल पार गरेपछि सिन्धुली हुँदै पूर्व धरान झापा पुग्छ ।’ अपराह्नको समय थियो ।  हरियाली सालका जङ्गल, खेत, खुल्ला घर टोल बस्ती उस्तै मानिसहरूको चहलपहल,  तामाङपनको सुगन्ध र मौसम वाह ! यी सबै सबै मिलीजुली बसेका थिए । अडेका थिए ।  साहित्यकार  झमक घिमिरेले पहिलो वर्ण लेख्न जानेको पल धुलो उडाएर खुसी मनाए झैँ मैले पनि आफ्नै हृदयलाई हर्षित बनाएर  खुसी साटेँ ।

पाङ्धुरे, हात्तिसुँडे, चिसापानी, सात तले, न्युरेनी, शान्तिपुर हुँदै फापरबारी पुगेँ । झमक्क साँझले उज्यालो दीप बाल्न थालेका थिए । बासका लागि केही क्षण सकस पर्‍यो । एक छिनको सकसपछि मुख्य हाइ–वेमा नै सुर्के थैली लज एन्ड होटेलमा झोला बिसाएँ ।

जब होटेलको कोठामा ताल्चा खोलेर भित्र पसेँ दुइटा बेड देखेँ ।  तब, हाय! एक्लोपनको भारीले बेस्सरी थिच्यो । तन मनलाई नराम्रोसित चिमट्यो । मन स्थिर भएन । अनि त्यो कोठामा आए , अरुबेला घुमफिरमा निस्कने नजिकका मन मिल्ने साथीभाइको तस्बिर, घर परिवार, आत्मीय मित्रका अनुहारहरू । दिनभरिको थकानले मेरो पिच्छ नगरे पनि मेरो एकुल्टोले यत्तिखेर साह्रै पीडा दियो । जे भएनि आफूलाई सम्हाल्दै नुन चर्को भए नि हल्का सादा खाना खाएर पल्टिएँ । गर्मी थिएन । कडा चिसो पनि थिएन । एक सहचरसित सबै बेलिबिस्तार छताछुल्ल पारेँ । बासका लागि राइगाउँ पुगिन्छ कि भन्ने थियो । पुगिएन । गाँस बास कपास आजलाई फापरवारिमै जुर्‍यो ।

बिहानी प्रहरमा कानले बाहिर पानी छिट्याएको आवाज सुन्यो । मन झस्कियो । समय हेरेँ । तीन बजेको थियो । बाहिर हेरेँ बादल डम्मै छ । ल बर्बाद, बर्सादी पनि बोकिएन । यात्रा पनि सोचेजस्तो नहुने भो भन्दै निन्द्रा भाग्यो । यत्तिकैमा आधा घण्टा जातिमा फेरि आँखा बाहिर पठाएँ । हँ…! बाहिर त आकाशमा  ताराहरू पो हाँसिरहेका रहेछन् । हैट अघिको पानी पार्ने बादल नभएर शीत पार्ने हुस्सु पो रहेछ । बिहान मान्छेले समातेर गाली गर्छ भनेर छिट्टै पो भागेछ हुस्सु मोरो त । फेरि एक छिन निदाउन खोजेँ । त्यत्ति मीठो निद आएन ।

सुन्दरताले भरिपूर्ण परिवेश, कञ्चन निलो गगन काभ्रेको नारायणथान, ललितपुरको कालेश्वर हिमाल र तराईलाई जोड्ने सेतु बनेर उभिएको थियो । फापरवारी बजार रुपियाँ डाक्न अगरबत्तीका अत्तरहरूलाई फिँजाउँदै थिए । घाम आउनु अघि नै पुनः यात्रामा हिँड्न तम्तयार भैसकेको थिएँ । गुगल म्याप अनुसार सर्लाहीको सिमाना पुग्न धेरै टाढा रहेनछ । काठमाडौँमा भएजत्तिको दुर्गन्ध बोकेर आउँदा वाग्मती कस्ती भई होली, हेर्ने रहर भयो । त्यसैले आजको यात्रा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका झनझनेसम्म गएर बाँकी यात्रा त्यसपछि  तय गर्ने योजना गरेँ ।

मनतातो पानीले आँत भिजाउँदै हिँड्न मात्रै के आँटेको थिएँ । फेसबुक मेसेन्जरमा घण्टी बज्यो । कता हो ?  आगु (सानाबा) भनेर  जेठीसासुकी छोरी अभागी नानु भन्ने आइडीबाट मेसेज आयो । अघिल्लो साँझ एउटा तस्बिर पोस्ट गरेको थिएँ । मैले फापरबारी बजार लेखेको बोर्डको फोटो पठाएँ । यो मेसेज सिन हुने बित्तिकै भिडियो कल आयो । उनकी घर छतिवन भन्ने थाहा थियो मलाई,  तर कुन गाउँ, कुन ठाउँ केही थाहा थिएन । अनि उनले भनी, ‘छोरीको ठाउँमा आएर पनि होटेल लजमा बस्नुपर्ने हो ? तपाईँ हाम्रो घरमा आउनुभए हुने थियो नि, कस्तो आगु त’ म के भन्ने अक्क न बक्क भएँ, किनकि मलाई उनको घर भएको ठाउँ थाहा थिएन । उनको आतिथ्यले मलाई धन्य बनायो । म उनीप्रति नतमस्तक भएँ । कुराकानी ओहोरदोहोर भई रह्यो ।

चाखलाग्दो कुरो त झन् यस्तो छ कि ! हिजो थलीको बाघभैरव आधारभूत विद्यालयमा तस्बिर खिच्दै गरेको दृश्य उनले देखेकी थिई रे । मात्रै दुई मिनेटको समय अन्तरले मलाई भेटाउन सकिनन् रे । फोटो खिच्न साथ म हिँडिहालेको थिएँ । उनी पिपलडाँडाको स्कुलमा अध्यापन गराएर फर्किँदै रहिछिन्। बाघभैरब स्कुलमा आएर अघिको तस्बिर खिचेर जाने मान्छे को रहेछ भनेर सोधिन रे । खै ललितपुर घुसेलको रे मास्टर नै रे । फापरबारी राई गाउँतिर डुल्न हिँडेको रे । यता कहिले आएको थिएन रे बाइकमा  एक्लै रहेछ । गहुँगोरो, सिकुटे ज्यान, एउटा झोला भिरेको रहेछ । यहाँ आधा घण्टा जत्ति कृष्ण सरसँग गफ गरेर बसे । सुवास सरलाई भेट्नुपर्ने थियो, भेट्न पाएन भन्दै अलि नमज्जा मान्दै ठुलो थलीतिर भर्खरै लागे भनेर उनकी भतिजाले भने रे।

यत्ति कुरा थाहा पाउनसाथ उनले अड्कल काटिन रे । त्यो मान्छे पक्कै सानाबा अर्थात् म नै हुनुपर्छ भन्ने भयो रे । फोन गरौँ नम्बर छैन । मेसेन्जरमा मेसेज पठाउँ तत्काल इन्टरनेट छैन । उनलाई पर्नु सकस परेछ । यो कुरो थाहा पाएपछि उनले झैँ मैले पनि उही क्षितिजपारि पुगिसकेको क्षणलाई सम्झिएँ । जाबो एक दुई मिनेट त हो नि भन्छौँ हामी,  तर  कत्ति बलवान हुँदो रहेछ त समय । केवल मिनेटले बर्छौ नभेटेको आफ्ना आफन्तलाई भेट्न दिएनन् । अनि अर्को रोचक र अविस्मरणीय कुरो त के हो भने, मैले भेट्न खोजेको सुवास सर त उनकै जीवनसाथी पो रहेछ । ज्वाइँ पो परेछ । आधा हर्ष र आधा बिस्मातको स्पर्शले भित्री हृदयलाई छोयो । सुवास सर अर्थात् ज्वाइँसित नि कुराकानी भयो । हामी सबै सबै स्तब्ध भयौँ भेट्न नपाएर । फर्किँदा भेटेर बसेर जान अनुरोध गर्नुभयो तर मैले स्वीकार गर्न सकिन । बरु पछिको समयलाई भाखा सारेर एक घण्टा ढिला यात्रामा निस्केँ ।

दशबर्षे जनयुद्धको अवधिमा निकै जनाले सहदात गरेको ठाउँ मकवानपुर फापरबारी झारझुरे पुगियो । त्यत्तिखेरको इतिहास सम्झेर मन अमिलो भयो ।  सो ठाउँ अहिले वाग्मती गाउँपालिकाको केन्द्र रहेछ । सानो सफा चिटिक्कको बामे सर्दै गरेको बजार रहेछ । बजारमा धेरै डुलिन । त्यहाँबाट सिधै वाग्मतीको पक्की चौडा पुलनिर पुगियो । राइगाउँ जान दायाँ र सिन्धुली जान बायाँ जानुपर्ने रहेछ । म बायाँतिर लागेँ । पुलपारि गएर फराकिलो बगरमा लडिबुडी गर्दै चुपचाप बगिरहेको वाग्मती र त्यस आसपासका मनोरम दृश्यले मोहित बनायो । धेरै आनन्दित भएँ । मनले खिचेको ती दृश्यलाई मोबाइलको क्यामेराले नि खिच्न मात्रै के लागेको थिएँ । बाइकमा एक हुल मान्छे आएर छोड्नु है छोड्नु ऊ त्यहाँ बहुला कुकुर आउँदै छ भन्दै हात हातमा ढुङ्गा बोकेर कुकुरलाई कुरिरह्यो । म नि सबै कुरो छोडेर हेरेँ । कुकुर  पुलको बिचमा एकसुरले लुखुरलुखुर आइरहेको थियो । बहुला कुकुरले त पुच्छर टाङमुनि छिराउँथ्यो भन्थे तर तिनको पुच्छर त ठाडै थियो । मलाई लाग्यो कि बहुला त हैन कि । यत्ति सोच्न नभ्याउँदै दुई तीन जनाले हिर्काएर निमेषभरमै प्राण लिइछाड्यो । मैले त्यो दर्दनाक दृश्यलाई सिधै हेर्न सकिन ।

पुलको मुखैमा सिन्धुलीको भू–भागमा एउटा चोयाले बारेको पसल रहेछ । पसलकी  साहुनी  तामाङ नै रहेछ । थर सोधेको थिङस्या रे । मैले दिदी भनेर साइनो जोडेँ किनकि म पनि थिङ नै थिएँ । तामाङको सबैभन्दा बढी बसोबास गर्ने जिल्ला मकवानपुर हो । मैले बाटोमा धेरै आफ्नै वर्गका मान्छेहरूसित आफ्नै भाषामा बोल्दै हिँडेँ । मलाई आफ्नोपनमा गर्व लाग्छ ।  त्यहाँ नि तामाङ नै बोलेँ । हाम्रो ठाउँमा बोल्ने लवज र मकवानपुर, सिन्धुली ,बारा , सर्लाही रौतहट र महोत्तरीतिरका तामाङले बोल्ने लवजमा खासै अन्तर छैन । चिया अर्डर गरेको त चिनी छैन रे । ठिकै छ तातो पानी भए नि तताइदिनु भनेँ ।  पैसा तिरेर किन्छु भन्दा पनि  किन्न नपाइने देशमा सरकार छ कि छैन राज्य के गर्दै छ भन्नेतिर दिमाग गयो । हुन त म जस्ता सर्वसाधारण नाथेले  गुनासो, सल्लाह  सुझाव, गाली जे दिए पनि हुने त केही थिएन । तैपनि त्यस्तो सोचाई आयो ।

बियर पिउने गिलासमा तातो पानी पिउँदै गफिएँ । १० रुपियाँको पानीले चियाको तलतल मेटाइदियो । एक दर्जन सिन्धुलीको केरा झोलामा हालेर केही तस्बिर खिचेर फर्किएँ । किनकि आज मकवानपुरको होचो ठाउँबाट सबैभन्दा अग्लो ठाउँ पुगेर घर पुग्नु थियो । म सिधै हेटौँडा बजारलाई सम्झिँदै एकोहोरो कुदिरहेँ । बाटोमा बिद्यार्थीहरु स्कुल जाँदै थिए । हात्तिसुँडे कटेर माझी खोला र गोठखोला भन्ने ठाउँमा पुगेको थिएँ । मोबाइल बज्यो । धार्केबाट रामलाल दाइले गर्नु भएको रहेछ । कहाँ हो ? भाइ भन्नुभयो । ए ! म त फापरबारी घुमेर अहिले छतिवन गोठखोला भन्ने ठाउँमा आइपुगेँ अब हेटौडा हुँदै दामन जाँदै छु  । समय दस बजेको थियो । यत्ति भनेपछि रामलाल दाइले भन्नुभयो, ‘लु..लु… ठ्याक्कै त्यहीँ बाटैमा जेठी छोरीको घर छ, त्यहाँ पस्नु त । मैँले मलाई भरे जसरी नि घर पुग्नुछ मैले चिनेको पनि  छैन, म बरु पछि आउँला भने । अम्मै… अम्मै कहाँ हुन्छ त्यसो भनेर जसरी नि पसेर जानू त, भन्नू भो । मैले वहाँको अनुरोधलाई नकार्न सकिन । ठिकै छ नि त एक खालको नाता सम्बन्ध अझ प्रगाढ होला भन्दै हुन्छ भनेँ । रामलाल दाइ खुसी हुनु भो । बाइक दस मिटर जत्ति फर्काएर  मेन हाइवेबाट सानो ढलान बाटो उक्लिएँ  लोकेसन अनुसार ठ्याक्कै निलो जस्ता घर र एक तल्ले पक्की घरमा पुगेँ ।

बिहानको खाना पस्किँदै रहेछ । अनुहारले नै रामलाल दाइकी जेठी छोरी भनेर चिनिहालेँ मैले । हिजो झन्डैले भेट हुन खोजेकी छोरी चाहिँ वहाँकी कान्छी छोरी हुन् ।  मैले लस्सो भनेँ । वहाँहरू छक्क पर्नुभो सायद कहिल्यै देखभेट चिनजान नभएको मान्छे एक्कासि घरमै टुप्लुक्क आएर बोलेको छ । रामलाल दाइले म फोन गरेर सबै भन्दिन्छु जाँदै गर्नु भन्नुभएको थियो । फोन भन्दा अघि म नै पुगेँ । फोनलाई नकुरी मैले नै सबै कुरा भन्दिएँ । वहाँहरू सबै उत्साहित हुनु भो । कामको चटारोमा पनि पाहुनालाई गर्नु पर्ने सत्कारमा केही कमी गर्नु भएन । आफ्नै छोरी ज्वाइँसित भेटे जस्तै लाग्यो । डेढ दुई घण्टाको अविस्मरणीय भेटघाटपछि म बिदा लिँदै पुनः यात्रामा निस्केँ ।

हेटौँडा बजारमा नरोकी सिधै भैँसे आएर एक छिन बसेँ । बाइरोडको बाटो घुमाउरो छ भन्ने थाहा थियो। र पनि त्यही बाटो भएर डुल्ने रहर ताजै थियो । ट्याक्सी गुडाउँदै… बाइरोडको बाटोमा धुलो उडाउँदै भन्ने गीतको याद पनि टुप्लुक्कै आइपुग्यो ।

यात्रालाई कस्तो बनाउने भन्ने हात मौसमको हुन्छ । वातावरणको हुन्छ । त्यो दिनको मौसम मलाई प्रफुल्ल बनाउन तल्लीन थिए । घुम्ती घुम्ती, उकालो–उकालो, सवारीसाधन कम गुड्ने  पक्की बाटो मानवीय बस्ती र  प्राकृतिक वस्तुहरूले मन आनन्दित बनायो । भैँसेभन्दा माथि  भिमफेदी गाउँपालिकामा नै पर्ने चुनिया भन्ने ठाउँबाट कैलाश गाउँपालिका जाने बाटो छुट्टिने रहेछ । मैले त्यहीँबाटै आँखालाई त्यतै पुर्‍याएँ ।  नामटार, कालिकाटार दुई ठुला पहाडका बिचमा शरदको घमाइलो घाममा मस्त थिए ।

उकालोको लगभग आधातिर लामिडाँडा पर्छ । एक जना आधा बैँसे पुरुषको समयलाई रोकेर त्यहाँका शैक्षिक, प्राकृतिक , सामाजिक  र वस्तुस्थितिको बारेमा जिज्ञासा राखेँ  । गोकर्ण बर्तौला रहेछ वहाँको नाम । वहाँले सहजै तरिकाले मेरो खुल्दुली मेटाइदिनु भयो । हामी बिचको संवादका साक्षी अग्ला अग्ला सल्लाका रुख र मौसमी किराहरू थिए । मैले देखेर डाहा गर्ला भनेर  हुस्सु र कुहिरोले पहाडका थुम्काहरू छोप्दै थिए । चिसोपनलेपनले चिस्याउँदै थिए । अघोर गाउँलाई अलि माथि पुगेर एक नजर लगाएँ । त्यहाँबाट मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी र सुपिङ गाउँ पनि देखियो । सडकलाई सरसफाइ गर्न तल्लीन पहेँलो ज्याकेट भिरेका दाजुभाइसँग पनि ठाउँ ठाउँमा भलाकुसारी गर्दै हिँड्ने गर्थे। त्यसै क्रममा मेरो गन्तव्यलाई छोटाउने वैकल्पिक मार्गको चित्र कोरिदिनु भयो ।

सिमभन्ज्याङैनिर गोलमोडबाट गढी देउरालीको बाटोबाट फर्पिङ काठमाडौँ निस्कन सजिलो हुन्छ भन्ने कुरा थाहा पाएपछि मन मस्तिष्कले त्यही बाटो समायो । चिसोले थरथरी काम्ने बनायो । त्यही गोलमोडमै चिया र केक खाएँ । जङ्गलको ओरालो ओरालो बाटो ओर्लेँ । बिच बिचमा एकाध मान्छे भेटिए । भेट जत्तिलाई बाटोकै बारे नै सोध्थेँ । थाहा नगरपालिका चार नम्बर वडा कुलो भन्ज्याङ र फापरबारी भन्ने ठाउँमा मुलाको खेती लोभलाग्दो तरिकाले गरेको रहेछ । ती बारीका मुलाहरूलाई चिसो कत्तिको लागेको थियो खै कुन्नि , ज्यानलाई भने औधी नै धेरै चिसो भइरहेको थियो । हुस्सु कुहिरो उस्तै गरी मेरा वरिपरि नै थिए । म सँगसँगै थिए । मुलाबारी पनि सकियो बाटोको पनि हालत खराब थियो । ओरालो भएर मात्रै हो उकालो जानुपर्ने भए सायद पाँच छ किलोमिटरको दुरी तय गर्ने कार्तिकको पहिलो हप्ता हिँडेको मान्छेलाई मङ्सिर महिनामा मात्रै पुग्न सकिन्थ्यो होला । बाबै… हैट….  नेपालको विकास ।

बल्लतल्ल गढी देउरालीसित भेट भयो । साँढे चार बजेको थियो । पिच पक्की ओरालो बाटो फिलिली दौडेँ । फाखेलको पुरण्डि  पुग्दा  त्यो दिनको साँझसित जम्काभेट भयो । जाडो र भोकले ब्रेक लगाउन बाध्य पार्‍यो । नुन चर्को मस् म का दुई टुक्रा उहीँ प्लेटलाई नै छोडिदिएँ । चापागाउँसम्म भए पनि पुग्न सकिन्छ कि भन्ने योजनालाई फाखेलको सडक बाधक बनिदियो । घरी कुना घरी छेउ घरी बिचबाट गुडाउनु पर्ने टायरले अल्छी मान्यो । होटेल लजले पनि मलाई पर्खिरहेको रहेछ तर हिजो फापरबारीको यादले हिर्कायो । अनि सम्झिएँ । मेरो साहिँलो मामाघरको माइलो दाइ । वहाँलाई मेरो पाइलाको पल पल अपडेट भइरहेको थियो । मोबाइलमा घण्टी बज्यो । म फाखेलमा छु रात पर्‍यो दाइ , जाऊँ कि बसूँ दोधारमा पो छु त भनेँ । ल उसो भए त्यहाँ राकासखोला भन्ने ठाउँमा मेरो जेठान हुनुहुन्छ, वहाँलाई म भन्छु र कन्ट्याक्ट नम्बर पठाइदिन्छु अनि त्यहीँ बास बस्नु केही फरक पर्दैन भन्नुभयो ।

मैले सहर्ष वहाँको कुरो मानेर पूर्ण बल तामाङ दाइसित मोबाइलले भेटाइदियो । फेरि,  नयाँ नाता सम्बन्धको धागो बानेँ । गाँस ,बास र कपास नेपालको फाइभस्टार होटलकोभन्दा कम थिएन ।  काठमाडौँ नजिक भए पनि तामाङपनमा एक रति पनि कमी थिएन । पूर्ण दाइको  नम्र बोली र शालीन स्वभावलाई चोर्न मन लाग्यो । लुङ्दार र दार्ज्युले बुद्ध मन्त्रहरू सुस्तरी फलाकिरहेका थिए । विश्वलाई शान्तिको सन्देश सुनाउँदै थिए । इन्टरनेटको डाटाले इ मात्रै देखायो । फोरजि देखाएन ।अनि कोही मित्र र आफन्तलाई सिधै फोनबाटै मेरो बसाई र यात्राको कुरा शेयर गरेँ ।

बिहानको घाम फाखेलका अग्ला डाँडाबाट ओर्लँदै थिए । म नयाँ सम्बन्धलाई मजबुत बनाउने बाचाका साथ बिहानै हिँडे । हुमाने भन्ज्याङ हुँदै छैमले राम्चेभन्ज्याङबाट सिमपानी कटुवाल दह निस्कने सर्टकर्ट बाटोको नक्सा मोबाइलबाट कल गरेर एक जना त्यताको अन्दाज भएको मित्रले कानमा सुनाइरहेको थियो उनले भने अनुसार  ओर्लेँ । सिमपानीबाट बागमती कटुवाल दह निस्कने बाटोले फेरि बाउको त के हजुरबाउको बिहे देखाइदियो । अब बिहेमा नाँचु कि हाँसूँ कि गुडूँ कि उडूँ कि । मेरी बास्सै… राम राम मोटर बाटो रे जुन बाटो भैँसी हिँड्न सक्दैन । त्यहाँ पनि ओरालो भएर मात्रै हो उकालो भए त…। बरु सगरमाथा उक्लन सहज होला, त्यो बाटो त्यत्ति कठिन थियो ।

यात्रा जोसित जसरी पनि गर्न सकिन्छ । यसपालिको मेरो यात्रा सुखद नै भयो । ऐतिहासिक, प्राकृतिक, सुन्दर बस्तीहरूले भरिपूर्ण मकवानपुर जिल्ला, मैले धर्तीसित स्पर्श गरेको पहिलो भूमि हो । त्यसैले मेरो माया असीम  छ । त्यसै गरी मलाई हातमुख जोड्न सहयोग गर्ने जिल्ला पनि हो मकवानपुर । त्यसैले अर्को प्रगाढ प्यार पनि छ । यसै जिल्लाको सबैभन्दा होचो भू–भाग राइगाउँको फेरो र सबैभन्दा उच्च सिमभन्ज्याङ पुगेर दुई दिनमा जे जत्ति भोगाइ र अनुभव बटुलेँ यसले मलाई धेरै पाठ सिकाएको छ । यात्रामा साथ दिने साधन, इष्टमित्र, खोलानाला, वन जङ्गल, अप्ठ्यारो सप्ठ्यारो बाटो, हुस्सु कुहिरो  सबै सबैलाई ह्रदयबाट नै आभारी छु ।

अन्त्यमा, यात्रा रहेछ जिन्दगी….

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका