बागमती गाउँपालिका वडा अध्यक्ष फुटबल कप प्रतियोगिताको विजेता खयरघारी फुटबल टिमले जितेका छन् ।
सोमबार सम्पन्न प्रतियोगितामा खयरघारी फुटबल टिमले खैरेनीलाई हराउँदै विजेता बनेका हुन् । विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद सहित ट्रफि‚ मेडल र प्रमाणपत्र पाएका थिए।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको रूपमा उत्कृष्ट गोल किपर सुजन भोम्जन‚ उत्कृष्ट गोल रक्षक वसन्त घलान‚ उत्कृष्ट खेलाडी समीर घले‚ उत्कृष्ट गोल कर्ता सुजन जिम्बा घोषित भए।
गाउँपालिकाको वडा नम्बर ४, प्युटारको खयरघारी क्षेत्रीय खेल मैदानमा कार्तिक २५ गते शनिवारदेखि २७ गतेसम्म प्रतियोगिता भएको थियो ।
वडा अध्यक्ष फुटबल कप फुटबल प्रतियोगितामा वडाभित्रका नौ वटा टिमले भाग लिएका थियो । प्युटारको साबिक नौ वडा वा टोलको ८ टिम प्युटार फुटबल टिम, सिम्ले फुटबल टिम, गडिभञ्ज्याङ फुटबल टिम, देउराली फुटबल टिम, खैरेनी फुटबल टिम, खयरघारी फुटबल टिम, धनडाँडा फुटबल टिम, फुर्केडाँडा फुटबल टिम सहभागी रहेको थियो । १५ वर्ष मुनिका बालबालिकाले फुटबलको डेमो शो गरेको थियो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको खेललाई वडा नम्बर ४ प्युटारले आर्थिक सहयोग गरेको थियो।
विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन‚ वडा अध्यक्ष रामकुमार लामा लगायतले नगद, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरेका थिए ।
अध्यक्ष लोप्चनले कार्यक्रमबाट हामीलाई पनि इँटामाथि इँटा थपेको छ । वडाभित्र यति धेरै खेलाडीहरू रहेछ यो ३ दिनको अन्तरमा केही राम्रो खेलाडी हाम्रो नजरमा परेको छ । उनले सबै टिमबाट राम्रो खेलाडी छनोट गरी एउटा राम्रो टिम बनाउन अनुरोध गरिएको छ।
यसअघि केही प्राविधिक समस्या भएकोले गाउँपालिकाले फुटबल प्रतियोगिता गर्न पाएन । विगतको झैँ अब हामी गाउँपालिका बैठक गरी छलफल गर्छौ । त्यस पछि हामीले फुटबल प्रतियोगिताको बारेमा सार्वजनिक गरिने जानकारी अध्यक्ष लोप्चनले जानकारी दिए ।
अध्यक्ष लोप्चनले भने‚ ‘आगामी दिनमा पालिकाले यसै फुटबल चौरमा ठुलो धनराशिमा कार्यक्रम गर्नेछ । युवा खेलाडीलाई यस बारेमा तयारी गर्न अनुरोध गर्दै सहयोग गर्ने सदैव प्रतिबद्ध छ ।’
वडा नं ४ वडा अध्यक्ष रामकुमार लामाले प्रतियोगिता अति राम्रो र सफल भएकोमा खुसी व्यक्त गरे । उनले आफ्नो वडाको सबै युवा खेलाडीको साथमा वडा कार्यालय रहेको जानकारी गराउँदै सधैँ खेलकुद पक्षमा रहेको बताए । अब छिटै हुने पालिका स्तरीय फुटबल प्रतियोगितामा भाग लिन तयारी अवस्थामा रहन खेलाडीहरू अनुरोध गरेका छन् ।
वडा अध्यक्ष कप उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर घलानले यो प्रतियोगिता सफल बनाउन सबैबाट पाएको साथ सहयोगप्रति आभारी रहेको बताए ।