भूकम्पपीडितहरूको पुनः स्थापना र पुन निर्माणमा सहयोग गर्न नेकपा (एमाले)को स्वयंसेवकको टोली आज भूकम्प प्रभावित क्षेत्र काठमाडौँबाट प्रस्थान गरेको छ । गत १७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । उनीहरूको पुनः स्थापना र पुन निर्माणमा सहयोग गर्न नेकपा (एमाले)केन्द्रीय टोली आज (३ मङ्सिर २०८०)मा प्रस्थान गरेको हो ।
पार्टी केन्द्रीय सदस्य क. किरण पौडेलको संयोजक रहनु भएको टोलीलाई शनिवार नेकपा (एमाले)का अध्यक्ष क.केपी शर्मा ओलीको निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गर्यो । बिदाइ कार्यक्रममा पार्टीका उपाध्यक्ष क अष्टलक्ष्मी शाक्य, महासचिव क.शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य क.रघु पन्त, कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । यो तथ्याङ्क जिल्ला प्रशासन र पालिकाले उद्धार तथा आपत्कालीन राहतपछि सङ्कलन थालेयताको हो । एक सय ५३ जनाको ज्यान जाने गरी १७ कात्तिकको मध्यराति गएको भूकम्पबाट भएको भौतिक क्षतिको तथ्याङ्क सङ्कलनकै क्रममा छ ।
भूकम्पपीडितहरूको पुनः स्थापना र पुन निर्माणमा सरकारले ठोस कदम चाल्न सकेको छैन । जाजरकोटमा चिसोबाट पाँच जना भूकम्पपीडितको ज्यान गइसकेको छ ।
अभियानलाई एमालेका केन्द्रीय सदस्य राष्ट्रिय युवा सङ्घ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलको संयोजक रहेको टोलीमा ११ सय जना स्वयंसेवक छन् ।
एक टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिनेछ । ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पीडितहरूको पुनः स्थापना र घर टहरा पुन निर्माणमा सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ । पुनः स्थापना र पुन निर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्नेछ ।
११ सय जना स्वयंसेवकमध्ये लुम्बिनी प्रदेशबाट २ सय, कर्णाली प्रदेशबाट १ सय ५०, सम्पर्क समन्वयबाट १ सय, सुदूरपश्चिम प्रदेशबाट ५०, बागमती प्रदेशबाट ५०, जना हुनेछन् । त्यसै गरी गण्डकी प्रदेशबाट ५०, विशेष प्रदेशबाट, ५०, कोसी प्रदेशबाट ५० र मधेस प्रदेशबाट ५० जना खटिनेछन् ।
टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । चिसो बढेसँगै दीर्घ रोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्ध वृद्धा र बालबालिका समस्यामा परेका छन् ।
टोलीले बढी प्रभावित क्षेत्रमा पुगेर भग्नावशेष हटाउने र आवश्यकता अनुसार घर टहरा निर्माण गर्नेछ । भूकम्पका कारण घरबारविहीन भएकाहरू त्रिपालमुनि बसिरहेका छन् । चिसो बढेसँगै दीर्घ रोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्ध वृद्धा र बालबालिका समस्यामा परेका छन् । उनीहरूको पुनः स्थापनालाई केन्द्रित गरेर भग्नावशेष व्यवस्थापन सहित पुन निर्माण अभियान सुरु गरिने संयोजक पौडेलले जानकारी दिए ।