वादविवादमा ‘कन्चन टिम’ प्रथम

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
दोलखा

तन्नेरी चासोले आयोजना गरिएको ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्‍याउँछ’ भन्ने वादविवाद प्रतियोगितामा कन्चन तामाङको पक्षले प्रथम स्थान हासिल गरेको छ ।

कुनै पनि विषयमा वस्तुमा युवाले तार्किक क्षमताको विकास गर्ने उद्देश्यले आयोजित माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच भएको वादविवादमा कन्चनको पक्ष प्रथम भएको हो ।

कन्चनको पक्षबाट तिर्सना श्रेष्ठ, निकिता बस्नेत र बन्दिका मुगरातीको टिमले ‘वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्‍याउँछ’ भन्दै तथ्यगत विवरणहरू पेस गरेका थिए । सरल भाषा, विषयगत अध्ययन, अर्थपूर्ण तार्किक विचारका कारण कन्चनको टिमले प्रथम स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डलका संयोजक नवीन सिलवालले बताए ।

यस्तै, दावा तामाङको टिम उप विजेता भएको थियो । अविनाश बुढाथोकी, रिचा दुलाल, अजपा शिवाकोटीसहित दावाको टिमले वैदेशिक रोजगारीले देश विकासमा योगदान पुर्‍याउँदैन भन्ने पक्षबाट तर्क पेस गरेका थिए ।

दावाको टिमले पनि उत्तिकै प्रभावकारी ढङ्गले तर्क पेस गरेको थियो ।

पक्ष र विपक्षले प्रभावकारी ढङ्गले तर्क पेस गरे पनि निर्णायक मण्डलले ‘वर्ल्ड स्कुल डिबेट च्याम्पियनसिप’ को फरम्याट अनुसार निर्णय सुनाएका थिए ।

तन्नेरी चासाले विगत दश वर्षदेखि ‘गुनासो होइन, प्रश्न गरौँ’ भन्दै युवाहरूलाई सार्वजनिक चासोको विषयमा सरोकारवाला पक्षलाई खबरदारी गर्न प्रेरित गरिरहेको छ ।

मङ्सिर ११ गतेबाट गौरीशङ्कर बहुमुखी क्याम्पसमा डिबेट तालिम सुरु गरिएको थियो । उक्त तालिममा विभिन्न विद्यालयका ३१ जना विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूले यो डिबेट नयाँ रहेको र सिकेपछि सार्वजनिक विषय वस्तुमा प्रश्न गर्न आत्मबल बढेको बताए ।

तन्नेरी चासोका सिइओ नवीन सिलवालले देशको सामाजिक, राजनीतिक, सुशासन र भ्रष्टाचारको विरुद्ध विभिन्न माध्यमबाट खबरदारी गर्दै आइरहेको र खबरदारी गर्ने विभिन्न टुलमध्ये युवाहरूलाई डिबेटको माध्यमबाट सार्वजनिक चासोमा बहस गर्न उत्प्रेरित गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाको मेयर ईश्वर नारायण मानन्धरले तन्नेरी चासोको अभियानले समाजका युवाहरूलाई सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे ।

मेयर मानन्धरले समाजलाई सकारात्मक प्रभाव पार्ने कार्य गर्न युवाहरूलाई आग्रह गर्दै प्रथम भएको टिमलाई बधाई तथा शुभकामा दिएका थिए ।

भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौलागाईँले समाजमा यस्ता बहस आवश्यकता बढ्दै गएको भन्दै आफ्नो वडामा डिबेट कार्यक्रम गर्ने बताए ।

यस्तै कार्यक्रममा कालिन्चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भु गौतम, गौरीशङ्कर बहुमुखी क्याम्पसका सहायक प्राचार्य सुवास रिमाल, द राइजिङ स्टार स्कुलका प्रेम प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए । सो तालिममा ट्रेनर गणेश बुढाथोकी र साम्भवी चापागाईँले प्रशिक्षण दिएका थिए ।

तन्नेरी चासोका निर्देशक दीपज्योति श्रेष्ठको सभाध्यतामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका