घेदुङको बट्टार बैठकको निर्णय सार्वजनिक : महासचिवमा दोङद्धारा शपथ ग्रहण,यस्तो छ निर्णयहरू

चैत मसान्तभित्र भातृ सङ्गठन र प्रदेश कार्यसमितिहरूको अधिवेशन गर्न निर्देशन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares

तामाङहरूको राष्ट्रिय छाता सङ्गठन नेपाल तामाङ घेदुङले महासचिव,उपमहासचिव लगायतका महत्त्वपूर्ण पदहरूमा गरिएको पदपूर्ति,भातृ सङ्गठन र प्रदेश कार्यसमितिहरूको अधिवेशन,समसामयिक राजनीतिका सन्दर्भमाथि गरिएको निर्णय शुक्रवार सार्वजनिक गरेको छ । मङ्सिर ९ र १० गते नुवाकोटको बट्टारमा भएको घेदुङ सङ्घीय कार्यसमितिको बैठकले गरेको निर्णय अन्तर्गत मनोनीत गरिएकाहरूका लागि शपथ ग्रहण कार्यक्रम तथा अन्य निर्णयहरू समेत सार्वजनिक गर्न पत्रकार सम्मेलन नै आयोजना गरेको हो ।

बैठकको निर्णय अनुसार महासचिवमा मनोनीत भएका जगतमान लामा दोङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई घेदुङका अध्यक्ष मोहन गोलेले शपथ गराएको थियो । अधिवक्ता भगवती पाण्डे (सितल)ले तामाङ जातिमाथिको दिएको विवादित अभिव्यक्तिमा काण्डमा मुछिएका महासचिव काजीमान थिङले राजीनामा दिएपछि उपमहासचिव दोङले उक्त जिम्मेवारी पाएको हो ।

घेदुङको विधान २०१३ आठौँ संशोधनको दफा ३५ बमोजिम दोङ महासचिव,सरोजमोहन लामा उपमहासचिव,निर्मल बहादुर लामा सचिव र घेदुङको विधान २०१३ को दफा २७९१० बमोजिम मित्र सेन योञ्जन विभागीय प्रमुख र विधानको दफा २४९२० बमोजिम रामभक्त बमजनलाई सचिवालय सदस्यमा मनोनयन गरिएको कार्यक्रममा स्पष्ट पारिएको छ । महासचिव दोङ सहित पाँचै जनाले शुक्रवार नै मनोनयपत्र एवं शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई विभिन्न जिम्मेवारी पनि तोकिएको छ ।

बैठकले पुष मसान्तभित्र कार्यकाल सक्ने आफ्ना ६ वटा भातृ सङ्गठन तथा प्रदेश कार्यसमतिहरुको अधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरेको छ । यसका साथै संस्कृति प्रवर्द्धन तथा ताम्सालिङको अभियानको रूपमा यो पटक पनि भव्य रूपमा सोनाम ल्होछार मनाउने,यस आर्थिक वर्षभित्र कम्तीमा ५ वटा स्थानीय तहहरूमा तामाङ भाषा तथा लिपी एवं शिक्षा अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव दोङले जानकारी गराए ।

समसामयिक राजनीतिको सन्दर्भमा आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्दै घेदुङले धर्मनिरपेक्षता,सङ्घीयता,गणतन्त्रसहितको व्यवस्थामाथि राजावादी,धार्मिक अतिवादीहरूबाट खतरा बढेको निष्कर्ष निकालेको जनाएको छ । यस सन्दर्भमा सङ्घीयता,धर्मनिरपेक्षता,गणतन्त्र एव। लोकतान्त्रिक व्यवस्थाको पक्षमा डटेर उभिने निर्णय बट्टार बैठकले गरेको महासचिवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिचानको पक्षमा कोसी प्रदेशमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बागमती प्रदेश नामकरणलाई अस्वीकार गर्ने,बागमती प्रदेशको समृद्धि एवं यहाँका तामाङ लगायत उत्पीडितहरूको न्यायका लागि ताम्सालिङ आन्दोलन उठाउने,नेपाल तामाङ घेदुङ सहितको पहलकदमिमा बागमती प्रदेश सरकारले तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी भाषा ऐन २०८० र मञ्जुश्री संवतलाई समेत राजपत्रमा प्रकाशित गर्ने व्यवस्था पारित गरेकोमा प्रदेश सरकार र सांसदलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बट्टार बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

समसामयिक राजनीति, अधिवक्ता भगवती (सितल) पाण्डे प्रकरण लगायतका विषयमा घेदुङमाथि विभिन्न प्रश्नहरू उठिरहेको सन्दर्भमा घेदुङको सङ्घीय कार्यसमितिको नुवाकोट बट्टारमा बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको घेदुङका सञ्चार तथा प्रकाशन विभाग प्रमुख तीर्थमान बल तामाङले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया