द्वन्द्वमा चार छोरा गुमाएकी दर्नाललाई सहयोग

सैलुङअनलाइन संवाददाता
हेटौँडा

दुई फरक द्वन्द्वमा आफ्ना चार छोरा गुमाएर पनि बेवास्तामा परेकी र सुकुम्बासी बस्तीमा बस्न बाध्य बेपत्ताकी आमा भनेर चिनिने हेटौँडाकी शुभद्रामाया दर्नाललाई दशैँका अवसरमा हेटौँडा उपमहानगरपालिकाले खाद्य सामग्री, लताकपडा तथा आर्थिक सहयोग प्रदान गरेको छ ।
हेटौँडा–९ की सुभद्राको घरमा छोरा गुमाउँदाको पीडा त छँदैछ, खान लगाउन धौधौले पनि कहिलै छोडेन । सुभद्राका धेरै चाड पर्व समस्यामै बिते । घरमा बिहान बेलुकाको छाक टार्न धौधौ । त्यसमा पनि थुप्रै रोगले थलिएको वृद्ध शरीर ।

आज एक्कासि उपमहानगरपालिका प्रमुख हरिबहादुर महत दशैँका लागि सामान बोकेर घरमा पुग्दा उहाँका आँखा रसाए । झुप्रो घरमा बस्दै आउनुभएकी सुभद्रालाई उपमहानगर प्रमुख महतले खाद्यान्नका सामान, दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नून, मसलालगायतका सामान हस्तान्तरण गरे ।

दशैँमा लगाउनका लागि सुभद्रा र उहाँका नातिनीलाई कपडा र दशैँ तथा तिहार मान्नका लागि नगद रकमसमेत प्रमुख महतले हस्तान्तरण गरे । छोरा गुमाए पनि वर्षौंदेखि उहाँलाई धेरै खालका अभाव नै अभाव थियो तर आज स्थानीय सरकारको रूपमा रहेको उपमहानगरले आफ्नै घरमा आएर सहयोग गरेकामा उहाँले खुशी व्यक्त गरे ।

अलपत्र परेका तथा विभिन्न कारणले समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको उपमहानगरपालिकाले माओवादी जनयुद्ध र २०४६ सालको जनआन्दोलन गरी नेपालका दुई ठूला आन्दोलनका क्रममा आफ्ना चार छोरा गुमाउन पुगेकी ७० वर्षीया सुभद्रालाई सहयोग गरेको हो ।

आफ्नी १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्बासी बस्तीमा बस्दै आएकी सुभद्रालाई महतले उपमहानगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धतासमेत जनाए । यिनै आमाजस्ता छोराहरुकै बलिदानीमा आफू स्थानीय सरकारको प्रमुख भएका कारण शहीद परिवारका बलिदानीको आफूहरुले उपेक्षा गर्न नसक्ने उनले बताए । उहाँले आमा सुभद्राको बस्ने, खानेसहित औषधि उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जीविकोपार्जनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो घरमा आजसम्म कोही नेता नआएको र उपमहानगर प्रमुख आएर आफ्नो पीडा सुनिदिएको भन्दै सुभद्राले खुशी व्यक्त गरिन् । उनको पति नेत्रबहादुर दर्नालको पनि करीब एक दशक अगाडि ८० वर्षको उमेरमा मृत्यु भइसकेको छ । उनका पाँच छोरामध्ये साहिँला छोरा एउटाको मात्र कालगतिले मृत्यु भएको थियो । जेठो काजीबहादुर र माइलो झक्तबहादुरलाई ४६ सालको जनआन्दोलनमा लागेका कारण बेपत्ता पारिएको र माओवादी जनयुद्धमा लागेका कारण काइँलो अमृत र कान्छो उद्धवलाई बेपत्ता पारिएको वृद्धा दर्नालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया