क्रोएसियाको सेस्भेतेमा तामाङ फिल्म चल्ने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1.2k Shares
क्रोएसिया

क्रोएसियामा तामाङ चलचित्र (फिल्म) `थुजे छे´ प्रदर्शनमा आउने भएको छ । तामाङ चलचित्रलाई क्रोएसियास्थित सेस्भेते सेन्टरमा डिसेम्बर ३१ तारीख प्रदर्शन हुने भएको हो ।

चलचित्र `थुजे छे´ लाई क्रोएसियामा रहेका तामाङहरु एकीकृत गरि आफ्ना भाषा, कला, संस्कृति लगायत संरक्षण गर्ने उदेश्यले प्रदर्शन गर्न लागिएको निर्देशक कमल रुम्बाले बताए । विशेष गरेर चलचित्रले तामाङ भाषा संरक्षण एवं प्रबर्द्धनमा सहयोग पुर्‍याउने निर्देशक रुम्बाको भनाई छ । ` यहाँ तामाङ चलचित्र प्रदर्शन गरेर नेपाल, भारत लगायतबाट आएर, व्यवसाय गरिरहेका,रोजगारका लागि आएकाहरुलाई एकीकृत गरेर भाषा संरक्षण एवं प्रबर्द्धनमा टेवा पुग्छ ´ निर्देशक रुम्बाले भने,`साथै चलचित्र प्रदर्शनले कामको थकानलाई समेत हटाएर उर्जा दिनेछन् ।´

तामाङ कथानक चलचित्र `थुजे छे´ मामा र भान्जाबीचको मर्मस्पर्शी कथा समेटिएको निर्माण पक्षको भनाइ छ ।रुम्बाद्वारा निर्देशित तामाङ चलचित्रमा सुमन वाइबा, आश्मा मोक्तान, बुद्ध थिङ, माया ग्लान, सिहंनाथ थिङ, सन्तोष थोकर, पुजा लामा, राजु नेगीका साथै निर्देशक रुम्बाको समेत अभिनय हेर्न सकिने निमार्ण पक्षले बताएका छन् ।

निर्देशक रुम्बाकै कथा, शब्द र संगीत रहेको `थुजे छे´लाई तारामाया वाइबाले लगानी गरेका हुन् । तामाङ चलचित्र थुजेछेमा विश्वास भण्डारीले छायांकन र सम्पादन गरेका छन् । त्यस्तै द्वन्दमा सुरज श्रेष्ठ, श्रृगारमा एदिप कुलुङ राई, संगीत अरेन्जरमा बुद्ध स्याङ्बो र गायनमा शुभ तामाङ र बबिता पाख्रीन छन् ।

चलचित्र `थुजे छे´लाई काठमाडौ, ललितपुर, मकवानपुर र बारा लगायतका तामाङ बस्तीहरुमा छायांकन गरिएको निर्मात्री तारामायाले बताइन् । उनका अनुसार आफुहरुले तामाङ चलचित्र मनोरञ्जनका लागि नभई तामाङहरुको भाषा संरक्षणका लागीसमेत बनाएका हुन् ।

तामाङ चलचित्र प्रदर्शनका लागि युवा व्यवसायी एवं समाजसेवी दावा लामाले प्रबन्ध मिलाएका हुन् । समाजसेवी लामाले हल व्यवस्थापनका साथै क्रोएसियाको कानुनी सहयोग गरेका हुन् । लामाले क्रोएसियामा रेस्टुरेन्ट, होस्टेल, सुपर मार्केट लगायतमा लगानी गरेका छन् ।

तामाङ चलचित्र हेर्नका लागि १५ युरोको टिकट लाग्ने छन् । टिकटका लागि जाग्रेबस्थित एभरेस्ट नेपाली रेस्टुरेन्ट र निर्देशक कमल रुम्बासँग सम्पर्क गर्न सक्नेछन् ।

तामाङ चलचित्र बजार सानो भएपनि पछिल्लो चरण विदेशमा समेत प्रदर्शन हुन थालेको छ । सन् २०५२ बाट तामाङ चलचित्र बन्न थालेको हो । स्व: जयनन्द लामाले निर्माण तथा निर्देशित `सेमरी छोरङान´बाट तामाङ चलचित्र सुरु भएको यात्रा २५ पुगेको छ । तामाङ चलचित्रका बजार सिमित भएकाले लगानीकर्ता सुरक्षीत हुने ठाउँ देखिदैन । तामाङ चलचित्रका विश्लेषकहरुले भने भाषा, कला, संस्कृति लगायतको संरक्षक एवं प्रबर्द्धनमा ठूलो योगदान दिएकोले लगानीकर्ता जोगाउन हलसम्म पुगेर तामाङ फिल्म हेर्नुपर्ने बताउदै आएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका