स्वयम्भू मञ्जुश्री यातायात प्रालिको अध्यक्षमा पुनः छिरिङ शेर्पा निर्वाचित भएका छन् । चितवनमा भएको ऐतिहासिक दोस्रो अधिवेशनबाट शेर्पालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै, सञ्चालक सदस्यहरूमा नीरकुमार मोक्तान, लाक्पा शेर्पा, शम्भु अधिकारी, भरत तिमिल्सिना, वसन्त भण्डारी, बलराम बराल,पासाङ तामाङ, ठुलाइ तामाङ, विष्णु बहादुर श्रेष्ठ, रामकृष्ण खडका र लेखा संयोजकमा नगेन्द्र पौडेल पनि सर्वसम्मत निर्वाचित भएका छन्।
नेपालबाट भारतका विभिन्न स्थानमा मैत्री बस सेवा सञ्चालन गरिरहेको यातायात प्रालीको सबै टिम नै अघिल्लो कार्यकालको नै चयन भएको छ । स्वयम्भू–मञ्जुश्रीले नेपाल–भारत मैत्री सेवा पनि सञ्चालन गरिरहेको छ ।
विस २०५६ सालदेखि काठमाडौँबाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको कम्पनीले सन् २०१४ देखि सरकारी स्तरबाट समेत नेपाल–भारत नियमित मैत्री बस सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल भारत यात्रु मैत्री बस सेवा सञ्चालनमा भारत सरकारको तर्फबाट उत्तर प्रदेश परिवहन निगम र विहार राज्य पथ परिवहन निगमसँग सम्झौता गरी सेवा सञ्चालनरत छ।
एक देशबाट अर्को देशमा जानुपर्दा यात्रुहरूलाई सिधा एउटै बसबाट सजिलै गन्तव्यसम्म पुग्न सकिने र बोर्डरमा सामान चढाउने, ओराल्ने झन्झट पनि मुक्त भएको अध्यक्ष शेर्पा बताउँछन् । स्वयम्भू मञ्जुश्रीका बसहरू नेपालमा सञ्चालन भइरहेका बसहरू भन्दा अलि फरक, लामा ठुला इएर सस्पेन्सन,सजिलो र ठुला सिटहरूसहित सुविधा सम्पन्न र आरामदायी छ। स्वयम्भू–मञ्जुश्रीले नेपाली यात्रुहरूलाई निरन्तर सुरक्षित र आरामदायी सेवा प्रवाह गर्दै आइरहेको छ ।
नेपाल–भारतमा सिधै आवतजावत गर्नका लागि सहज वातावरण निर्माण गर्दै आइरहेको मञ्जुश्री यातायातले हाल काठमाडौँदेखि भारतको दिल्ली, पटना बोधगया, वनारस र जनकपुरदेखि पटना बोधगयामा सिधै बस सेवा सञ्चालन गरिरहेको छ । आगामी दिनमा भारतका अन्य क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेर्पाले बताए ।
प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज सेवा दिने काममा आफूहरू निरन्तर लागि रहेको उनको स्वयम्भू मञ्जुश्रीका लेखा संयोजक नगेन्द्र पौडेलले बताए ।