छुट्टिको दिन: बहुसांस्कृतिक कार्यक्रममा जाँदा

दक्षिण कोरिया

सेप्टेम्बर दोस्रो साता आइतबार । सबेरै भाले बासेको आवाज ठोकियो दर्जनौँ पटक । चिप्राले माया गरेर च्याप्प बेरिएर राखेको आँखा उघारेर समय हेर्दा पाँच बजेछ । झ्यालबाट बाहिरा हेर्छु झिसमिसे नै छ । मन भन्छ अझै सुतूँ ? धत् हुन्न । निन्द्रा माया मारेर उठेँ । बिहानको कर्मकाण्ड गरिसकेपछि बेलुका तयार पारी राखेको क्यामेरा झोला, केही थान तामाङ पुस्तकहरू बोके र कुदे बस स्टेसनतिर । बिहान ६ः१५ समयको बस आउने तालिका छ ।

‘गुड मर्निङ । म हिँडे ल ।’ भनेर श्रीमती जी’लाई स्टेसनमा बस कुर्दै गर्दा म्यासेन्जरमा एसएमएस सेन्ट गरे । उनी मस्त निन्द्रामै होला यतिखेर । नेपाल र कोरियाको समयमा तीन घण्टा १५ मिनेटको फरक जो छ ।

झन्डै ६ बर्षकोे कोरिया बसाईमा यति सवेरै उठेर हिँडेको पहिलो पटक हो । निर्धारित समयमै चल्नुपर्छ यहाँ । होइन भने काम छुट्छ । बस छुट्छ । खाना छुट्छ । त्यसैले कोरियाली भन्छन्, ‘पल्ली पल्ली’ (छिटो–छिटो) । कोरियाको चलन नै यस्तै छ ।

इन्छनमा रहेको जन्दोङ्सा बौद्ध गुम्बाको ‘१८औँ प्रवासी सांस्कृतिक महोत्सव’मा पुग्नुपर्ने छ । सउल दोङ्देमुनबाट नेपालीको लागि दुईटा बसको व्यवस्था छ । एउटा बसले नागार्जुन गुम्बाबाट आउनेलाई लानेछन् भने अर्को बसले सउल नेपाल गुम्बाबाट जानेलाई । दुधबहादुर लोप्चन र मैले दुई–तीन हप्ता अघि नै सहभागी कोको छन् । कार्यक्रममा पुगेपछि मौलिक प्रस्तुति दिने कलाकारहरूको नामावली तयारी गरेका थियौँ । दुधजी विशेष कामले सहभागी हुन नसक्ने भएकोले व्यवस्थापनको सबै जिम्मेवारी मेरो भागमा पर्‍यो ।

‘कता पुगियो ? म आइपुगिसके छिटो आऊ है’ भनेर घुमघाममा निकै रहर गर्ने जिक्तेन सम्धीले कलमा भने ।’

१५–२० मिनेटमा आइपुग्छु मैले भने ।

‘ल्हास्सो, हामी १०–१२ जनाभन्दा बढी साथीहरू आउँदै छौँ, कता आइपुग्यो ? छिटो आउनु है फेरि ढिला होला’, रेल गुडिरहेकै समय नीर योञ्जनले पनि कल गरे । साथीहरूको उत्साह, जोस देखेर मलाई पनि रमाइलो लाग्यो ।

बस र रेल गरी २ः३० घण्टामा दोङ्देमुन स्टेसन पुगे । निरसँगै अरू साथीहरू रेलबाट ओर्लिने बित्तिकै भेट भयौँ ।

‘उहाँ आजको मुख्य मान्छे, विशेष मान्छे हो ।’ निरले साथीहरूलाई चिनाउँदै भने ।

‘होइन तपाई नै हो, किनकि यति धेरै साथीहरूसँग आउनु भयो ।’ लगतै जवाफ फर्काएँ । एक छिन हाँसो चल्यो, हा हा हा… ।

सूर्यको पहिलो किरणले पहाड, गाउँ, सहरका अग्ला–अग्ला भवनहरूमा उज्यालो बिछ्याइसकेका छन् । हामी पो यसरी बिहानभरि सुत्ने मन हुँदाहुँदै उठेर हिँडेका । छुट्टीको दिन हो । अरू त कामको थकान, निन्द्राको प्रेमले सिरकको घुम्टोभित्र सिरानीको अँगालोमा अझै गुटमुटिइरहेका होलान् । प्रेमीप्रेमिकाको ‘डेटिङ’ एक अर्काको प्रशंसा गर्दै मायालु गफ सपनामा गर्दै पनि होलान् । यस्तै छन् समुन्द्र पारीको भावनात्मक जोडीको जीवन ।

हप्ताको प्राय ५ दिन काम गरेका मनहरू । थकान र अनिद्रित आँखाहरू भेट भयौँ । दोङ्देमुन ३ नम्बर गेट । एक हातमा कफी, अर्को हातमा मोबाइल चलाउँदै मानिसहरूको चहलपहल छ ।

सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामा, ह्योल्मो दाइ, कमल लामा कफीको चुस्की लिँदै रहेछन् । ‘आउँछु कफी पिउँदै छौँ, को–को आउनुभयो ? बस आउँछ केही समयपछि हेर्दै गर’, लामा गुरुले फोनमा भन्नुभयो ।

‘हुन्छ, हामी लगभग आइसक्यौँ, ३–४ जना आउँदै छन्, तपाईँहरू आउनुस्’,  जवाफ फर्काएँ ।

ख्याङ्गीदोको ‘फाजु’ क्षेत्रबाट आएको सम्धी जिक्तेन र इन्छन् तिरबाट आइपुगेको बिबि स्याङ्तानको ग्रुप पनि भेट भयो । अरू साथीहरू हप्ताभरिका थकान, निन्द्रा त्यागेर होलान् । म साथीहरू को कता पुगे भनेर नामावली हेर्दै कल गर्न व्यस्त भएँ ।

८:४५ मै बस आयो । निर्धारित समयको पाँच मिनेट अघि । कोरियालीहरू ‘कोरियन’ समयमा चल्छन् । जम्मा भएकाहरू बसभित्र बस्दै गरौँ भनेर सूचना दिए ।

०००

साङ्गीतिक नृत्यको लागि डोमा योञ्जन र अनिता गुरुङ नेपालको तर्फबाट नाम पठाइसकेको थियौँ । डोमा रिसालु अनुहारमा साथीलाई छिनछिनमा फोन गरेकाे गरेकै छिन् । कार्यक्रममा नाच्नु पर्ने साथी अनिता लगायत ३ साथीहरू बस छुट्ने तोकिएको समय घर्किदा समेत आएका छैनन् ।

‘किन ढिला ? कहाँ आइपुग्यो ?’ डोमाले प्रश्न गरिन् ।

‘योङ्सान स्टेसन नजिकैतिर छु, त्यताको स्टेसनमा अर्को रेल बिग्रेको भएर कुनै रेल चलेको छैन । १५–२० मिनेट भयो जाममा छौँ । उताबाट जवाफ आयो । फोन काटियो ।

‘निकै ढिला भयो, त्यसो भए हामी जाऊँ, पर्खिनु पर्दैन’, लामा गुरुले भन्नुभयो । ‘कुर्नु पर्छ एकछिन्, नाच्न मेरो ड्रेस पनि ऊसँगै छ’, डोमाले सुनाइन् । नाच्ने मान्छे र ड्रेस छुट्यो भने स्टेजमा प्रस्तुति दिने कसरी ? कुरौँ एकछिन्, फेरी फोन गरौँ जवाफ आएपछि हामी जाउँला वा पर्खौला, मैले भने ।

कोरियन बस डाइभर हामीलाई हेर्दै चुरोटको धुँवा फुसफुस उडाउँदै कुर्दै छ । बायाँ हात छातीनिर तानेर घडी हेर्दै छ । किन यिनीहरू खासखुस गर्दैछन् ? समय त भइसके । कोही आउँदै छन् कि ? कम्पनीमा काममा जाँदा पनि यस्तै ढिला नै जान्छन् कि ? नेपालमा पनि यस्तै होलान् कि ? यो चुरोट सकिनेसम्म भएन भने जाऊ भन्छु । मनमनै भन्दो हो ।

ट्राफिक नियम कडै छ यता । ट्राफिक सडकमा देखिँदैन । सिसी क्यामेराले नै निगरानी राख्छन् ।

पाँच मिनेटपछि उताबाट कल आयो, ‘रेल हिँड्यो हामी आउँछौँ ।’

‘ल ल त्यसो भए जोङ्गाक स्टेसनमा ओर्लिनु । हामी त्यतै भेटाउँला’ डोमाले भनिन् ।

बस डाइभरसँग हाम्रो जोङ्गाक स्टेसनमा गएर पर्खिने सल्लाह भयो । हुइँकियो । जहाँ पनि नेपालीले ढिला गर्ने बानी हो, कि संस्कार नै ?

जोङ्गाकमा फेरी कुर्नु पर्‍यो । त्यहाँ लगभग ५ मिनेट जति कुर्दा लामो लामो सास् फेर्दै उनीहरू आइपुगे । पोछन्बाट समयमै हिँडेका हुन् ।

नेपालीमा एउटा भाष्य छ, ‘नेपालीले जहिल्यै ढिला गर्छन्’ यहाँ पनि यो भाष्य पुरा भयो । ढिला गरायो भनेर के कराउनु ? खासमा रेल बिग्रेकाले त्यसो भएको हो । कसैमा दोष छैन । नेपाली पारा, अझ भनौँ नेपाली मौलिकता, नेपाली पन । चल्छ, नचलेको के छ र ? पर्खिनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ !

ड्राइभर गुरुजीलाई गुडाउनुस् साथीहरू आइसके भन्ने जानकारी दिए । लय समात्यो बसले । आठ लेनको ‘हान नदी’को किनारै किनारको हाइवे । वरिपरि नै त्यस्तै । बिचबिचमा वारपार गर्ने पुल पनि छन् । हान नदी आफ्नै वेगमा बगिरहेको छ । सडकमा कमिला झैँ गाडीहरू गुडिरहेका छन् । मेट्रो रेल बेतोडले हुइँकिरहेका छन् । सडकलाई सास् फेर्ने सेकेन्डको फुर्सद पनि छैन । सडक चिल्लै छ । सफा छ । खाल्टाखुल्टी छैनन् । नदीभन्दा परपर अपाट्मेन्टहरु उभिएका छन् । त्यसैले त यो सहर हो । दोस्रो विश्व युद्ध, उत्तर कोरिया र दक्षिण कोरिया बिचको घरेलु युद्ध पछिको विकासका देखिने खम्बाहरु हुन् ।

३३ जनाको उपस्थिति भएछन्, टाउको गन्ती गरे । धार्मिक यात्रामा राजनीतिक गफ चलिनै हाल्यो । सुन, नक्कली भुटानी शरणार्थी, हत्यारालाई आममाफी, बलत्कारी जस्ता काण्ड लगायत विषयमा चर्चा । भ्रष्टाचारी र लोकतन्त्रमा कर्मचारीतन्त्रले बिरामी बनाएको देश, दैनिक हजारौँ युवाहरू विदेश पलायन यस्तै यस्तै विषयहरू पक्ष विपक्षमा गफगाफ चल्यो । सम्धी बिबि, जिक्तेन र मेरो चर्काचर्की कै गफ चल्यो । जहाँ नेपाली त्यहाँ चर्चा, खण्डन, विरोध, विश्लेषण र गाली । सामाजिक सञ्जालमा त्यो भन्दा धेरै ।

नेपालको जनसङ्ख्याको एक तिहाइ जनसङ्ख्या परदेशीएकै छन् । परदेशी कुनै रहर होइन । बाध्यताले हावा जहाजसँगै युवा उडेका हुन् । देशमा रोजगार नभएकाले, आमाबुबाको स्वास्थ्य उपचार गर्न, भविष्यमा छोराछोरीको पालनपोषण र राम्रो शिक्षालगायत सपना बोकी उडेका हुन् ।

०००

साढे १० बजेछ । पार्किङमा बसहरू लाइनै छन् । सबै ओर्लियौँ । १०–१५ मिनेट उकालो हिँडेपछि पुग्यो गुम्बा परिसर । भिडभाड निकै रहेछ । निःशुल्क स्वास्थ्य चेक जाँच शिविर, हानबुक (कोरियन मौलिक ड्रेस) लगाएर फोटो खिच्ने, खाना परिकारका स्टलहरू र मुख्य स्टेजतिर ठुलाठुला आवाजमा ‘स्पिकर’ घन्किरहेकै छन् । साथीहरू आ–आफ्नो तालमा हिँडेछन् । जिक्तेन सम्धी र म स्वास्थ्य शिविर तिर आँखा चेकजाँच तिर लाग्यौँ । डाक्टरले ठिकै रहेछ भनेर ‘आइड्रप’ मात्रको सिफारिस गरेर औषधि डेस्कतिर पठाए ।

घडीमा बिहानको ११ बज्न लागेको रहेछ । अब खाना खुल्ला हुने समय भयो, लाइनमा जानु भनेर खबर आयो । हामी त्यतै लम्कियौँ ।

खाना थाप्नलाई २ लाइनमा लामै लाइन बसेका रहेछन् । हामी अन्तिम अन्तिममा पुगेछन् । नीर दाजुभाइ पनि आउँदै रहेछ, हामीसँग मिसियौँ । डोमा, अनिता र फुर्लुकु पनि आइपुगेका छन् । उनीहरू नृत्यको लागि अभ्यास गरेर आएका रहेछन् । कोरियन फ्राई राइस्, कुखुरा, गोरु, बुङ्गुरको मासु, भेजिटेबल सुप, खिम्ची र फलफूल खानामा परिकार रहेछन् । लगभग २–३ सय जना जति चउरभरी आ–आफ्नो समूहमा वनभोज खाइरहेका छन् । विकसित परदेशमा चउर, रुख मुनी बसेर खाने वनभोज जस्तै । मेरो पहिलो पटक । छुट्टै मज्जा, यस्तै हो जिन्दगी ।

इलेक्ट्रिक इन्जिनियर कुसाङ शेर्पा दाइ त्यही चउरमै भेटिए । नागार्जुन गुम्बाबाट ३० जनाको एक टोली आएको बताए । केही गफगाफपछि हामी साङ्गीतिक स्टेजतिर हिड्यौं ।

स्टलतिर कोरियन ‘आजासि’ले ‘स्टिल डिजिटल’ क्यामेराले फोटो खिच्दै तुरुन्तै प्रिन्ट गरेर दिँदै छन् । विदेशी साथीहरू कोरियन मौलिक पहिरन ‘हान्बुक’ लगाएर फोटो खिच्न लामै लाइन बसेका छन् । मेडिकल स्टल, यता ढाड, खुट्टा दुखाइको मसाज गर्ने तिर पनि लाइन नै लाइन । त्यहाँ क्यामेरा, दुई जोर हान्बुक, चेकजाँच गर्ने, मसाज गर्ने डाक्टरहरू, आजासीहरुको फुर्सदै छैन । फोटो प्रिन्ट मेसिनको मसीले भिन्न भिन्नै अनुहारको रङ्ग छापेको छापै छन् । सबै फ्री हो फ्री ।

अर्को स्टलतिर एल.बि., बिबि, करप, जिक्तेन सम्धीहरू सेनापतिको पहिरन लगाएर तरवार घुमाएर ‘एक्सन, ए या हु’ भन्दै आफ्नै मोबाइलले फोटो, सेल्फी र भिडियो खिच्दै रहेछन् । कोही कोरियाली राजारानी र बेहुला–बेहुलीको पहिरनमा खिच्दै छन् । म पनि के कम, सेनापतिको पहिरन, टोपी र तरवार भिरेर खिच्न भ्याएँ ।  त्यहाँ पनि कुनै पैसा तिर्नु पर्दैन । सम्धीहरूले तरवार देखाएर ‘पृथ्वी नारायण हो, पृथ्वी नारायण’ संवादलाई चर्को स्वरमा बोल्दै भिडियो खिच्न समेत भ्याए । कोहीले ‘राजा हो, राजा’सम्म पनि भने आफूले आफैलाई ।

०००

वरिपरि हरिया वनजंगलले घेरिएको । अलिक तल गहिरो, भिरालो । त्यहीँ कोरियाली शैलीमा बुट्टा कुदिएर बनाएको काठको खाबाहरु । छानामा कालो इट्टाले छाएको लस्करै ८–१० गुम्बाहरू । गुम्बाहरूको बिचमा खुल्ला चउर । त्यही बनाएको छ साङ्गीतिक मञ्च (स्टेज) । स्टेज अघिल्लो पहिलो पंक्तिमा सोही गुम्बाका सेतो गाढा वस्त्रमा सजिएका लामा गुरुहरू । दोस्रो पंक्तिमा श्रीलङ्का, बाङ्लदेश, नेपालका लामाहरू गुरुहरू । पछाडि वरिपरि देश अनुसारको भेषमा दर्शकहरूमा हामी ।

स्टेजमा एसियन देशहरूको प्रतिनिधित्व हुने गरी नाच–गान सुरु भइरहेका छन् । कोरियाली युवायुवतीहरुको मोर्डेन पप डान्सबाट सुरु भएर श्रीलङ्का, बाङ्गलदेश, म्यानमार, भियतनाम, थाइल्यान्ड, नेपाल लगायतका दर्जनौँ प्रस्तुतिहरू पालैपालो पस्की रहेको थियो । नेपालको तर्फबाट डोमा, अनिता र शेर्पा दिदीहरूले छुट्टछुट्टै नृत्य प्रस्तुति राखेको थियो । नृत्य प्रस्तुतिहरू र गीत सुनिरहँदा आफैमा भाग्यमानी भएको आभास हुँदो रहेछ । एकै स्टेजमा अन्तर्राष्ट्रिय बहुसाँस्कृतिक मौलिक नाचगान । चलचित्र र युट्युबतिर त सबैले हेरेकै हुन्छन् । तर प्रत्यक्ष एकै स्टेजमा हेर्दाको मज्जा र अनुभव भिन्नै हुन्छ । गीतको भाषा र नाच नबुझे पनि भाव बुझिन्छ । भूगोलको सीमानाले अलग रहेता पनि विना सीमानाको भाषा, संस्कृति र गीतसंगीत हो । वरिपरिबाट सम्मान स्वरूप तालीको गडगडाहट आइरहन्छन् ।

लगभग दिउँसो पौने ३ बजेतिर स्टेजको तालिका प्रस्तुतिहरू सकियो । आयोजक र गुम्बा परिसरका स्टलवालाहरू स्टेज, स्टल भत्काउन र सामान थन्काउन सुरसर कसेका छन् । हामी र हामी जस्ता आगन्तुकहरू आ–आफ्नो पार्किङमा रहेको बसतिर समूह समूहमा फकियौँ । भोलि साहुको मेसिनसँग ‘खेतबारी जोत्नु’ नै छ ।

 

तपाईको प्रतिक्रिया