लोकल रक्सीलाई ब्राण्डिङ गर्ने हो‚ नष्ट होइन: मुख्यमन्त्री चौधरी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले घरेलु रक्सीलाई नष्ट गरेको पाइएमा कारबाही गर्ने बताएका छन् ।

नेपाल मगर सङ्घले शनिवार दाङको देउखुरीमा गरेको बृहत् मगर सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले थारु, मगर र तामाङ लगायतले घरमा उत्पादन गर्ने जाँड र रक्सीलाई प्रहरीले बिक्री वितरणमा प्रतिबन्ध गर्दै घोप्टाइदिने, फालिदिने गरेको पाइएमा कारबाही गर्ने बताएका हुन् ।

‘जाँड, रक्सीलाई ब्रान्डिङ गरेर बेच्नको लागि प्रदेश सरकारबाट बजेट नै विनियोजन गरेको छ’‚ उनले भने‚‘थारु र मगरले बनाउने जाँड, रक्सीलाई घोप्टाउने र विदेशी रक्सी फोरेर यो देश समृद्ध बन्न सक्दैन।’

‘कोदो, मैवा, अनादी लगायतको रक्सीलाई ब्रान्डिङ गर्ने हो, यो कसैले रोक्न सक्दैन । बजेट छुट्याएरै प्रदेश सरकार अगाडि बढिसकेको छ‚ उनले भने ।’

मुख्यमन्त्री चौधरीले रुपन्देही, रोल्पा र पाल्पालाई मगर क्षेत्र र दाङ, बाँके, बर्दियालाई थारु क्षेत्र घोषणा गरेरै उत्पादन र ब्रान्डिङ गर्ने सरकारको योजना रहेको बताउँदै लुम्बिनी मात्रै नभएर नेपालकै खानपानलाई बाहिर बेच्नुपर्ने बताए ।

सांस्कृतिक विविधताले भरिएको मुलुक नेपालमा ५० भन्दा बढी जातीले स्थानीय स्रोत साधनको प्रयोग गरेर रक्सी बनाउँछन् । रक्सीलाई ब्राण्डिङ गर्नका लागि पूर्व मन्त्री शेरबहादुर तामाङ लगायत केही सांसदहरूले संघीय सरकारसँग माग गरिरहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका