प्रश्न पत्र निर्माण कार्यशाला सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
दोलखा

प्रश्न पत्र निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको छ ।

मेलुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा त्रिभुवन मावि मेलुङमा भएको गोष्ठीमा परीक्षा समिति गणित, विज्ञान, अङ्ग्रेजी, नेपाली र सामाजिक विषयका विषयगत समितिका सदस्य तथा विद्यालयका विषयगत शिक्षकहरू ५५ जनाको सहभागिता रहेको थियो।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य तथा काठमाडौँ महानगरपालिकाका स्रोत व्यक्ति सुशील खनाल, गणित विषयका विज्ञ त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, अङ्ग्रेजीमा शारदा श्रेष्ठ, विज्ञानमा सुन्दर खडका, सामाजिकमा शेरबहादुर थापा तथा नेपालीमा हरि केसीले सहजिकरण गरिएको थियो।

कार्यशाला गोष्ठीमा बोल्दै गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले प्रश्न पत्रले बालबालिकाको भविष्य निर्धारण गर्दे हुँदा प्रश्न पत्रलाई बिशिष्टीकृत र व्यवहारिक तरिकाले बनाइनुपर्ने बताए । उनले भने‚‘यो कार्यशालाले यो विषयलाई लक्षित गरी कार्यक्रम गरिएको छ‚ उपलब्धिमूलक भएको छ ।’

त्यस्तै उपाध्यक्ष गायत्री आचार्यले मेलुङका विद्यालयहरूमा भएका युवा शिक्षक र पुराना शिक्षकहरूको अनुभव र युवाको जोसलाई सम्मिश्रण गरी प्रविधिमा भएको ज्ञानलाई सशक्त ढङ्गले अगाडि बढाउन सकिने बताइन् ।

कार्यक्रममा पूर्व जिवस उपसभापति शिवप्रसाद भण्डारीले देश विकासको मोडल र राष्ट्रलाई कस्ता बनाउने शिक्षाले निर्धारण गर्ने भएकोले शिक्षाको अवस्था बिग्रिए देशको अवस्था पनि बिग्रने बताए ।

भण्डारीले युवा जनशक्ति अध्ययनको नाममा बिदेसिने प्रवृत्तिले देशले आउँदा दिनमा समस्या व्यहोर्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष ईश्वर कोइराला‚ त्रिभुवन माविमा प्रधानाध्यापक सन्तोष श्रेष्ठले लगायतले धारणा राखेका थिए ।

यसै गरी सहभागीले आगामी दिनमा स्तरीय तथा विद्यार्थीले सहजै बुझ्न सक्ने प्रश्न पत्र निर्माण कार्यशालाले प्रश्न पत्रको जटिलतालाई समाधान गर्दै परीक्षामा नतिजासमेत राम्रो हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका