दूरसञ्चारको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न‚ प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार राष्ट्रिय सभा गृह काठमाडौँमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसै गरी साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईँलाई लेखा परीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

त्यसै गरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रूपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले साधारण सभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सुवेदीले यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहेको बताए ।

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गरे । अध्यक्ष सुवेदीले आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको बताए । त्यस्तै कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको उनले जानकारी दिए ।

सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टी सेवा तथा एफटीटीएच सेवा बिस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उनले बताए । यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरूमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच बिस्तार भएको उनले बताए ।

प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस (Ads) अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिङ्क तथा स्याटलाइट लिङ्कमार्फत सेवा उपलब्ध गराइने र विद्युत् आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ ।’

परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उनले भने‚ ‘टुजी प्रविधिको प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या उल्लेख्य रहकोले यसको स्तरोन्नति र फोरजी सेवाको बिस्तार गरी दुर्गम र विकट क्षेत्रमा पुर्‍याउने कार्यलाई निरन्तरता दिइएको छ । जीएसएम मोबाइल सेवाको सञ्चालन अनुमति पत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भए अनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ । फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भए पश्चात् परीक्षण गरिनेछ ।’

उनले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्बन्ध स्थापित गरी कम्पनीको हित अनुकूल हुने गरी साझेदार संस्थाहरूसँगको सहकार्यसमेतमा विभिन्न सेवा विस्तार गर्नेतर्फ कम्पनीका गतिविधि निर्देशित गरिने र यस कार्यमा कम्पनीमा कार्यरत कर्मचारी, नियामक निकाय तथा शेयर धनीहरूबाट सदाझैँ पूर्ण सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको बताए ।

सभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०८० पुस २९ गते) देखि नै एनएमबी बैङ्कमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।

साधारण सभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने सेयर धनीहरूको उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया