दशैँमा सन्तुलित खाना खान सुझाव

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

दशैँ भन्नेबित्तिकै आफूभन्दा ठुला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइञ्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा दशैँ मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।

चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् । चिकित्सकले दशैँमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा बिरामी नभएका मानिससमेत बिरामी पर्ने र बिरामी भएकालाई झनै खतरा हुनेतर्फ पनि विज्ञहरूले सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्छन् । वरिष्ठ पोषणविद् तथा त्रिवि पद्मकन्या क्याम्पसकी प्राडा उमा कोइरालाले दशैँमा खानपानमा ध्यान नदिँदा मानिसको स्वास्थ्यमा असर पर्ने बताइन् ।

पोषणविद् कोइरालाले खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शरीरका अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खान सुझाव दिइन् ।

चाडबाडको नाममा खानपानमा ध्यान नदिँदा मानिसले स्वास्थ्यलगायत सामाजिक रूपमा समेत ठुलो क्षति बेहोर्नुपरेको छ, पोषणविद् कोइरालाले भनिन्, “मानिसले दशैँको खानामा होस नपुर्याउँदा जटिल रोगको सिकार त हुञ्छन् नै, अत्यधिक मदिरा सेवनका कारण घरपरिवार तथा समाजबाट समेत वहिष्कृत हुनु परेका धेरै उदाहरण छन् ।”

पेटरोग विशेषज्ञ डा भूपेन्द्रकुमार बस्नेतले चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुनुपर्ने बताए। उनले दशैँमा अत्यधिक मदिरा पिउनाले शरीरमा ग्लुकोज कमी हुने, डिहाड्रियसन हुने, मानिस उठ्नै नसक्ने अवस्थामा पुग्ने, शरीरले काम नगर्ने लगायतका समस्या देखापर्ने जानकारी दिए । गोरखापत्रमा खबर छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका