ल्होछारले खोजेको बहस

प्रतीक ङेसुर तामाङ लेखक/संचारकर्मी
1666 Shares
काठमाडौं‌

ल्होछारको चहलपहल सुरु भइसकेको छ । स्वदेश तथा विदेशमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरू अहिले ल्होछार पर्वको अवसरमा कार्यक्रम, मेला, महोत्सव आयोजना गर्न जुटिरहेका छन् । यो वर्ष सोनाम ल्होछार २०८० माघ २७ गते (२०२४ फेब्रुअरी १० तारिख) परेको छ । संसारभरका हिमाली मूलका नागरिकले हर्षोल्लासका साथ मनाउने पर्व ल्होछारले आफ्नो विशिष्ट स्थान ओगट्दै आएको छ । ल्होछार सभ्यता हो, संस्कृति हो अनि जीवनपद्धतिको एउटा परिचय पनि हो । सांस्कृतिक जीवनमा ल्होछारले विशिष्ट स्थान ओगटेको छ ।

नेपालको सन्दर्भमा बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि खुल्ला भएको राजनीतिक माहौलसँगै ल्होछारले फस्टाउने मौका पाएको हो । गएको दुई तीन दशकमा ल्होछार मनाउने क्रम बेजोडले बढ्यो । ल्होछार सामूहिक रूपमा मनाउने बहानामै कतिपय संस्थाहरू जन्मिए । प्रवासमा संस्थाहरू जन्मिन ल्होछारले मूलमन्त्रकै काम ग¥यो । अनेक ठाउँबाट परदेसिएकाहरू एउटै साझा संस्थामा गोलबन्द हुने मेसो मिल्यो । ल्होछारले छरिएकाहरूलाई एकत्रित गर्ने काम गर्‍यो । तामाङ समुदायको जातीय पोशाकले त संसारभर व्यापकता पायो । यी ल्होछारले पुर्‍याएका योगदानहरू हुन् । तर ल्हो के हो ? ल्होछार के हो ? यससँग गाँसिएका इतिहास र जीवनदर्शन के हो ? भन्नेलगायतका पक्षमा पर्याप्त ध्यान जान सकेको देखिँदैन ।

हिजो अहिले जसरी खुल्ला रूपमा ल्होछार पर्व मान्ने मनाउने माहौल बनेको थिएन । तर ल्हो गन्ने परम्परालाई भने पुराना पुस्ताले धान्दै आए । पाका उमेरकाहरूलाई अहिले पनि सरसर्ती ल्हो गन्न आउँछ । ल्होछारलाई खुल्ला रूपमा मनाउने संस्कारको विकास त भयो । तर नयाँ पुस्ताका धेरैलाई न ल्होको गणना क्रम नै थाहा छ न त ल्हो र ल्होछारसँग गाँसिएका कतिपय तथ्यहरूबारे उनीहरू जानकार छन् । राम्रै कार्यक्रम आयोजना गर्ने संस्थाकै कतिपय पदाधिकारीहरू ल्हो र ल्होछारसँग गाँसिएका कतिपय विशेषताका सम्बन्धमा अनविज्ञ देखिन्छन् ।

खुल्ला ठाउँमा नाच्नु, गाउनु, मेला महोत्सव आयोजना गर्नु, हजारौँ मानिस भेला पार्नु, नेताहरूले भाषण गर्नु मात्र ल्होछार हो भन्ने प्रतीत हुने गरी गतिविधि भइरहेका छन् । ल्होछारको अवसरमा देशभित्र र बाहिर कुना कुनामा भव्य साङ्गीतिक कार्यक्रमहरू हुने गरेका छन् । तर ल्होछारबारे गहिरो छलफल, बहस, अन्तर्क्रिया नै हुने गरेको देखिन्न । यसका विविध पाटाहरूबारे केलाउने कामै भइरहेको छैन ।

ल्होछार कहिले माघ १० गते, कतिले माघ २५ गते, कहिले माघमा, कहिले फागुनमा किन परेको ? वैशाख पूर्णिमामा मनाइने बुद्ध जयन्ती किन वैशाखमा मात्र नपरेको ? दसैँ र म्हेनिङ किन सँगसँगै पर्ने गर्छ ? यस्ता प्रश्न र जिज्ञासाहरू धेरैतिर सुनिन्छ । कतिपयको माघ १ गते नै ल्होछार पर्छ भन्ने बुझाई छ । खासमा ख्रे भनेको माघ होइन, बेने भनेको फागुन होइन । अन्तिम महिना तापा पनि पुस होइन । यो त तिथिको आधारमा आरम्भ हुन्छ । यसपालि सकिन लागेको खरायो वर्षको अन्तिम (तापा महिना) पुस २६ गते आरम्भ भएको थियो । जुन माघ २६ गते सकिन्छ । माघ २७ गते ल्होछार (नयाँ वर्ष) को पहिलो महिनाको पहिलो दिन सुरु हुन्छ ।

यसबाट के बुझ्न सकिन्छ भने ल्होछारको पात्रोअनुसार हामीले गणना गर्दै आएको बोअीतापा र तापा सर्लक्कै मङ्सिर र पुस होइन । जसरी इस्वी सम्वतको महिना जनवरी न पुस हो न माघ हो । बरु पुस र माघ दुवै छुने महिना हो । ल्होछारको पहिलो महिना ख्रे भनेको पनि सरासर माघ होइन । बरु यो त विक्रम सम्वतको माघ र फागुन दुवै छुने महिना हो । तर कहिलेकाहीँ भने फागुन पनि पर्न जान्छ । जसरी यसपालि हाम्रो पहिलो महिना ख्रेले माघ महिनाको ३ दिन मात्रै भेटेको छ । ख्रे महिना फागुनको २६ गते टुङ्गिन्छ । त्यसपछि सुरु हुने बेने महिनाले फागुन २७ गते सुरु भएर चैतको २६ गतेसम्म भेटेको छ ।

गतेका आधारमा अघिपछि परेको देखिए पनि खासमा तिथिका आधारमा त जहिले पनि उही दिन र तिथिमा ल्हो फेरिन्छ । अर्थात् माघ शुक्ल प्रतिपदाकै दिनमा ल्होछार पर्छ । यही दिनदेखि सोनाम ल्होछारअनुसार नयाँ वर्ष र पहिलो महिना ख्रे आरम्भ हुन्छ । विक्रम संवतको पात्रोसँग अभ्यस्त भएको कारणले गर्दा मात्रै अघिपछि सरेको देखिएको हो ।

इतिहास, पहिचानलगायतका बारेमा जान्न, बुझन् र अध्ययन गर्न लालायित युवाहरूको पङ्ति क्रमशः बढ्दो छ । यसका लागि आवश्यक सामग्री सहज उपलब्ध नहुँदा उनीहरू अनावश्यकरूपमा भौंतारिन बाध्य छन् ।

तेमाल जात्रा जहिले पनि नाम्दुङ ङ्ह्या (चैत पूर्णिमा) मा पर्छ । बुद्ध जयन्ती हरेक वर्ष दुगु ङ्ह्या (वैशाख पूर्णिमा) मै मनाइन्छ । तिथिका आधारमा वैशाख पूर्णिमा कहिलेकाहीँ भने जेठमा पनि पर्न जान्छ । जस्तो यो वर्ष वैशाख पूर्णिमा जेठमा परेको छ । हाम्रो पात्रोअनुसारको नवौँ महिना म्हेनिङ आश्विन शुक्ल पक्षदेखि सुरु हुन्छ । त्यही तिथिमै मनाइने भएकाले दसैँ र म्हेनिङ सँगसँगै पर्न जान्छ । जसरी ल्होछार नयाँ वर्ष मात्रै नभएर पर्व पनि हो । त्यसैगरी म्हेनिङ महिना मात्रै नभएर चाडकै रूपमा मनाइने प्रचलन पनि छ । दुवै पर्व एकै तिथि र एकै समयमा परेको छ । म्हेनिङ मनाउनेहरूलाई दसैँ मनाएको आरोप लाग्नुको एउटा कारण तिथिबारेको अज्ञानता पनि हो ।

दिन, हप्ता, महिना र वर्ष अर्थात् समय गणनाका लागि दुई वटा मान्यताहरू स्थापित छन् । एउटा सूर्यको गतिको आधारमा र अर्को चन्द्रमाको गतिको आधारमा । समय गणना गरिने यही पद्धतिको आधारमा पात्रो निर्माण गरिन्छ । यसलाई सौर्य पात्रो र चन्द्र पात्रो भनिन्छ । नेपाली समाजमा मनाइने वर्षभरिका अधिकांश चाडपर्वहरू खासखास तिथिका आधारमा मनाइने गरिन्छ । जुन चन्द्र पात्रोअनुसार अनुसरण गरिन्छ । पूर्वीय दर्शन र मान्यताअनुसार चन्द्रमाको गतिको आधारमा तिथिको निर्धारण गर्ने गरिन्छ । त्यही आधारमा चाडपर्वहरूको तिथि मिति किटान गर्ने गरिन्छ । ल्होछार चन्द्र पात्रोमा आधारित समय गणना गरिने एउटा प्रणाली हो । जसमा वर्षमा ३५४ दिन हुन्छ । सौर्य पात्रोमा ३६५ दिन हुन्छ । चन्द्रमाको गतिको आधारमा समय गणना गरिने भएकाले चन्द्र पात्रो भनिएको हो ।

तिथिअनुसार १२ महिनाका नामहरू (१) चैत्र, (२) वैशाख, (३) ज्येष्ठ, (४) आषाढ, (५) श्रावण, (६) भाद्र, (७) आश्विन, (८) कार्तिक, (९) मार्ग, (१०) पौष, (११) माघ र (१२) फाल्गुण हुन् । यसैगरी मञ्जुश्री पात्रोअनुसार १२ वटा महिनाका नामहरू (१) ख्रे, (२) बेने, (३) नाम्दुङ, (४) दुगु, (५) ड्वाफ्रे, (६) ब्याल्बो, (७) गोने, (८) यान्दे, (९) म्हेनिङ, (१०) सोकराती, (११) बोअीतापा र (१२) तापा हुन् । यी दुवै महिनाहरू चन्द्र पात्रोमा आधारित छन् । चन्द्रमासअनुसार कृष्णपक्ष र शुक्ल पक्ष गरी दुई तिथिहरू हुन्छन् । अधिकांश पर्वहरू शुक्ल पक्षमा परेका हुन्छन् । किनकि शुक्ल पक्षलाई उत्तम मानिन्छ ।

सबैतिर बोल्ने र लेख्ने गरिन्छ, ‘२८६० औँ डुक ल्होछार’ । यो लेखाइलाई अध्ययन गर्दा डुक ल्होको सङ्ख्या मात्रै २८६० वटा भन्ने सीधा अर्थ लाग्छ । खासमा त सोनाम ल्होछार २८६० हो । हामीले ल्होछार मान्न थालेको २८६० वर्ष भयो भन्ने हो । सबैलाई थाहा छ, हामी हरेक वर्ष अलगअलग जीवजन्तुको नाममा ल्हो मान्छौँ । यसको सङ्ख्या १२ वटा छ । सबैभन्दा पहिले जीवा (मुसा) वर्षबाट ल्हो परम्परा आरम्भ भएको मानिन्छ । १२ ल्होको चक्र फाग ल्होमा पुगेर समाप्त हुन्छ । हिसाब गर्ने हो भने यो वर्षसम्म आउँदा डुक ल्होको सङ्ख्या २३९ पुग्छ । बरु यसपालि २३९ औँ डुक ल्हो भन्न मिल्छ । यो तथ्यबारे पनि पर्याप्त चर्चा हुनु बाँकी छ ।

ल्हो, ल्होछार, तिथि, मिति र चाडपर्वबारे अलमलहरू देखिनुले हाम्रो समय गणना गर्ने पद्धति, संवत्, पात्रो प्रणाली र यसको विशेषताहरूका बारेमा गहिरो अध्ययन गर्न बाँकी छ भन्ने प्रस्ट हुन्छ । सांस्कृतिक पहिचानलाई स्थापित गर्ने अभियान स्वरूप नै हामीले सांस्कृतिक पर्व ल्होछारलाई स्थापित गर्‍यौं । हरेक वर्ष ठुलै तामझाम र हर्षोल्लासका साथ मनाउँदै आएका पनि छौँ । तर ल्होछारसँग गाँसिएका धेरै पक्षबारे बुझ्ने र बुझाउने मामिलामा अझै कमजोरी रहेको देखिन्छ । ल्होछार एउटा सांस्कृतिक पर्व हो भन्ने चिनाउन त सफल भयौँ तर ‘यो केवल पर्व मात्र नभएर समय गणना गरिने प्रणाली हो । यसको अलग्गै पात्रो हुन्छ । महिना र तिथि हुन्छ । चन्द्रमाको गतिको आधारमा तिथिहरू निर्धारण गरिएका हुन्छन् । यिनै तिथिका आधारमा नेपाली समुदायका चाडपर्वहरू निश्चित गरिएका हुन्छन् । चन्द्र पात्रो अनुसार सामान्यतया वर्षमा ३५४ दिन हुन्छ भने सौर्य पात्रोअनुसार वर्षमा ३६५ दिन हुन्छ । यसैले विक्रम सम्वतको महिना र गतेसँग यो मेल खाँदैन’ भन्ने तथ्यहरूलाई समुदायको तल्लोस्तरसम्म पुर्‍याउन सकिरहेका छैनौँ । ल्होछारसँग गाँसिएका संवत्, महिना, पात्रो प्रणाली, यसको इतिहास, ल्होको पद्धतिलगायतका विषयमा व्यापक रूपमा बुझ्ने, बुझाउने र अध्ययन गर्ने गराउने काम हुनुपर्ने जत्ति भएको देखिँदैन ।

‘पर्व के हो ? मिति र तिथि के हो ? पात्रो प्रणालीहरू कस्ता कस्ता हुन्छन्’ भन्ने विषयमा वृहत् र व्यवस्थित छलफलको जरुरी देखिन्छ । यसका लागि राष्ट्रिय संस्थाका हैसियतले सबै कुरालाई नेतृत्व गर्ने दायित्व नेपाल तामाङ घेदुङकै हो । सँगसँगै तामाङ समाजका खोजअनुन्धानकर्ता, बुद्धिजीवी, अगुवाहरूले पनि यो पाटोमा उत्तिकै चासो दिनु आवश्यक छ । यो विषयमा छलफल, बहस व्यवस्थित र फराकिलो हिसाबले अघि बढाउन सक्दा मात्रै आफ्नो समुदायको इतिहास, संस्कृति र सभ्यताका बारेमा जान्न, बुझ्न चाहने नवपुस्ताका लागि सहज हुनेछ । यी अभियानहरूलाई उचित आकार दिनु समुदायको पहिचान मजबुत बनाउँदै यसलाई स्थापित गर्न ठोस आधार प्रदान गर्नु पनि हो ।

गएका केही वर्षहरूलाई फर्केर हेर्ने हो भने ल्होछार पर्वको विषयमा प्रशस्त मन्थन त भयो । तर ग्याल्बो र सोनाम ल्होछारमध्ये कुनलाई स्थापित गर्ने विवादमै समय खर्चिने काम मात्रै भयो । दुइटामा कुनचाहिँ आधिकारिक, तामाङ समुदायले कुन ल्होछार सभ्यता अङ्गीकार गर्ने, त्यसका कारण के के हुन् ? यी र यस्तै सवालमा पक्ष विपक्षमा उभिएर वकालत गर्दैमा समय व्यतीत गर्ने क्रम चलिरह्यो । यसरी अर्कै कसरतमा अल्झिँदा ल्होछार सभ्यता, संस्कृति, इतिहास, यसको चरित्र र विशेषताका सम्बन्धमा व्यापकरूपमा छलफल हुन पाएको देखिँदैन । यसैगरी यससम्बन्धी पर्याप्त अध्ययन सामग्री प्रकाशन प्रसारणमा चाँजोपाँजो मिलाउन सकेको पाइँदैन । वर्षको एउटा पात्रो पनि नियमित प्रकाशनमा आउन नसक्नु, प्रकाशित पात्रोले पनि व्यापकता नपाउनुजस्ता कारण पनि छन् । अहिलेसम्म उपलब्ध सामग्रीहरूलाई पनि सबैतिर उपलब्ध गराउने खालको रणनीति बन्न सकिरहेको छैन । यहीँनिर हामी चुकिरहेका छौँ ।

दैनिक जीवन र व्यवहारमा प्रयोगमा नआउनुले पनि धेरै कुराहरू ओझेलमा रहन गएको छ । यसका लागि विभिन्न अभ्यासहरू थालनी गरिनुपर्छ । नेपाल तामाङ घेदुङले आफ्नो कागजातहरूमा हाम्रो तिथि मिति उल्लेख गर्नुपर्छ । आफू मातहतका देशभरका इकाईलाई सर्कुलर जारी गर्नुपर्छ । आफूसँग सम्बद्ध र सहकार्यमा रहेका स्वदेश तथा विदेशका सम्पूर्ण सङ्घ संस्थाहरूलाई अपिल गर्नुपर्छ । यसभन्दा अगाडि त ल्हो र ल्होछारका बारेमा विस्तृत ज्ञान प्राप्त गर्न सकिने हिसाबले प्रशिक्षित गराउनै पर्छ । यस्तो अभियान उसले कम्तीमा केन्द्रीय नेतृत्वमा रहेका पदाधिकारीबाट सुरु गर्नुपर्छ । यसो गर्न सक्दा ल्होछारको महत्त्व र गरिमाले अझ उचाइ हासिल गर्ने निश्चित छ ।

आफ्नो समाज, इतिहास, पहिचानलगायतका बारेमा जान्न, बुझ्न र अध्ययन गर्न लालायित युवाहरूको पङ्क्ति क्रमशः बढ्दो छ । यसका लागि आवश्यक सामग्री सहज उपलब्ध नहुँदा उनीहरू अनावश्यक रूपमा भौँतारिन बाध्य छन्  । यसका लागि व्यवस्थित अभियानको आवश्यकता छ । अहिलेको कम्प्युटर र डिजिटलाइज्ड प्रविधिको समयमा ल्होछार सभ्यताका बारेमा व्यवस्थित सामग्री सम्प्रेषण गर्न सक्ने हो भने आफ्नो समुदायका बारेमा ज्ञान आर्जन गर्न चाहने नवपुस्ताको तिर्सना मेट्न सघाउ पुग्नेछ । ल्होछारजस्तो पर्वलाई मेला महोत्सवको घेराभित्र मात्रै सीमित नराखी यससम्बन्धी गहिरो छलफल र बहसको थालनी गर्नुपर्दछ । ताकि सर्लक्क यो विषयमा आवश्यक ज्ञान हस्तान्तरण र पुस्तान्तरण हुन सकोस् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
2
+1
1

तपाईको प्रतिक्रिया