सेवाग्राहीको समस्या समाधानमा कुनै कसर बाँकी हुँदैन : प्रजिअ वेदनिधि खनाल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
1442 Shares
धुन्चे, रसुवा

गृह मन्त्रालयबाट सरुवा भई गत कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय रसुवामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएका  वेदनिधि खनालसँग जिल्लाको समसामयिक विषयमा रसुवा संवाददाता सरस्वती न्यौपानेले गरिएको कुराकानी :

रसुवा जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)भएर आउँदा तपाईँलाई कस्तो अनुभूति भयो ?

म गृह मन्त्रालयबाट कार्तिक २२ गते प्रमुख जिल्ला अधिकारीका रूपमा यस जिल्लाको जिम्मेवारीमा आइपुगेको छु । हिमाली जिल्ला भए पनि चीनको उत्तरी नाकासँग जोडिएको र मिश्रित जातजातिको बसोबास भएको जिल्ला हो । प्राकृतिक सुन्दरता, स्वच्छ वातावरण, झुरुप्प रहेका बस्तीहरू र मधुर आतिथ्यताका कारण जिल्लामा आउँदा एउटा अनुपम अनुभूति पाए ।

निजामती सेवामा प्रवेश गर्न अरूबाट प्रेरित हुनुभयो कि आफ्नै प्रयास हो ?

म सेवामुखी व्यक्ति हुँ । यस क्षेत्रमा प्रवेश गर्नु अगाडि करिब ६ वर्ष शिक्षक थिए । सेवाको स्थायित्व र निरन्तरता खोच्दाखोच्दै यता प्रवेश गरेको हुँ । यस सेवामा कार्यरत अग्रजहरूलाई देखेर पनि प्रवेश गर्ने उत्सुकता भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भएर अहिलेसम्म कति जिल्लामा काम गर्नुभयो ? अरू जिल्लाको तुलनामा रसुवा जिल्ला कस्तो लाग्यो ?

प्रमुख जिल्ला अधिकारी कै रूपमा काम गरेको यो मेरो चौथो जिल्ला हो । यद्यपि मैले गृह प्रशासनमा २१ वर्ष भन्दा बढी काम गरिसकेको छु । अन्य जिल्लाको तुलना गर्दा यो जिल्लामा सेवाग्राहीको चाप कम देखियो । कर्मचारी पनि कम हुन्छन् । स्थानीय तहको गठन अगाडि प्रमुख जिल्ला अधिकारीहरू बढी व्यस्त हुन्थ्यो । हाल थोरै जनसङ्ख्या भएको जिल्लामा व्यस्तता घटेको छ । हाल यो जिल्ला तुलनात्मक रूपमा सुरक्षित र शान्त देखियो ।

कार्यालयमा आउने सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खाले संयन्त्र बनाउनुभएको छ ?

यहाँ सोधपुछ कक्ष छ । नागरिक बडापत्र छ । कर्मचारीहरूले सेवामैत्री व्यवहार गर्छन् । सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकिएको छ। परिसरमा स्तनपान कक्ष, टेलिभिजन‚ पिउने पानी, बच्चा खेल्ने ठाउँ, प्रतीक्षालय, बगैँचा आदि छन् । सेवाग्राहीका कामहरू आफै खटेर गरिदिने कर्मचारी छन् । म आफै पनि सेवा प्रवाहमा सहजिकरण गर्ने गरेको छु ।

जिल्ला प्रशासन कार्यालय रसुवाबाट प्रवाह हुने सेवाबारे थप बताईदिनुस न ?

हाम्रो सेवामा कुनै समस्या र कमी छैन । पछिल्लो समय विगतदेखि अड्केर बसेका नागरिकताको समस्या, मुद्दाका समस्याहरू पनि समाधान गर्दै आइरहेको छ । हामीले  विद्युतीय माध्यमबाट आउने निवेदन र गुनासोहरूलाई पनि सकेसम्म र मिलेसम्म सम्बोधन गरेका छौँ ।

रसुवामा सेवारत भर्खरै हो । सेवाग्राहीका समस्या समाधानमा सफल हुन्छु जस्तो लाग्छ तपाईँलाई ?

हाम्रो आफ्नो कार्यालयका सेवाग्राहीका समस्या समाधानमा कुनै कसुर बाँकी हुँदैन र राख्नेछैन पनि ।  केही अभिलेख नै नभएको समस्याहरूको समाधानमा भने समय लाग्छ तर समाधान हुन्छ । अन्य निकायका लागि पनि समस्याहरूमा हामीले समन्वय र सहयोग गरेर समाधान निकाल्छौ । यस जिल्लाका सेवा प्रवाह, विकास निर्माण, सीमा समन्वय तथा अन्तर निकाय समन्वयका विषयहरू प्रभावकारी रहन्छन् । यसमा म विश्वस्त छु ।

अन्तमा‚ रसुवाका जनताका लागि केही छन् ?

रसुवा अधिक सम्भावना भएको जिल्ला हो । सबैको समन्वयका ढोकाहरू खोज्दै जानू पर्छ । पारदर्शी‚ एकता र सहकार्यमा सबैले ध्यान दिनुपर्छ । रसुवामा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सहज पहुँचका लागि थप काम गर्नुपर्छ । जहाँसम्म सेवा प्रवाहको कुरा छ‚ म रसुवावासी नागरिकहरूलाई जिम्मेवार अधिकारीहरू समक्ष प्रश्न सोध्न र गुनासो गर्ने बानीको विकास  गर्न समेत अनुरोध गर्छु ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
0
+1
0

तपाईको प्रतिक्रिया