मेडिकल डाक्टरको पहिचान सम्बन्धी किताब : अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा

154 Shares
काठमाडौं‌

पेसाले डाक्टर युवराज तेयुङ लिम्बु मेडिकल डाक्टर हुन् । तर उनले आफू मेडिकल विषय पढेको डाक्टर भएर (मुटु रोगसम्बन्धी) पनि मेडिकल (एमडी) डाक्टर पेसाका साथै लेखन क्षेत्रमा पनि सक्रिय रूपमा लागी पर्नु भएको ऊर्जाशील मानिस हुन् । अझ त्यसरी आफ्नो विषय अथवा भनौँ आफ्नो पेसाभन्दा एकदमै फरक ढङ्गमा लागेर काम गर्ने मानिसहरू संसारमा धेरै कम मात्रै पाइन्छ, देखिन्छ । हो, त्यस्तै दुर्लभ मानिसहरूमा राख्न सकिन्छ, ‘–डाक्टर युवराज तेयुङ लिम्बु’लाई । अझ उनले आफ्नो लेखनलाई अगाडि बढाउने क्रममा नेपालका मूलधारका भन्ने र भनिने मिडिया, पत्रकार, इतिहासकार, बुद्धिजीवी, प्राध्यापक आदिले सुन्नै नचाहने, मनन गर्ने नचाहने, मनै नपराउने विषय अथवा भनौँ लामो समयदेखि नेपालको मूलधारबाट वञ्चितीकरणमा परेका जातजातिको पहिचान, समावेशीकरण, भाषिक विभेद, समानुपातिक समावेशिता, सांस्कृतिक विभेद, एकल जातीय अहङ्कारवाद, नश्लीय चिन्तन, राज्य पक्ष र राज्यमा पहुँच भएका पक्षबाट अर्को पक्षमाथि भएको अथवा हुने गरेको विभेद आदिका विषयलाई सशक्त ढङ्गले अगाडि बढाई रहेको छ ।

त्यसको एक मात्रै कारण हुन सक्छ, डाक्टर युवराज तेयुङ लिम्बु स्वयम् राज्यद्वारा ऐन, कानुन, नीति, नियम, विनियम आदि बनाएरै विभेदमा पारिएका, उत्पीडनमा पारिएका नेपालका आदिवासी जनजाति मूलका हुन । हो, त्यही कारणले गर्दा पनि उनीमा जातीय पहिचान, सांस्कृतिक चेतना, समावेशीकरण, समानुपातिक समावेशीकरण, समानता, आदिवासी जनजातिको हक–अधिकार के हो ? किन आदिवासी जनजाति लगायत नेपालका उत्पीडित जातजाति, वर्ग, समूहका मानिसहरू सम्पूर्ण जनसङ्ख्याको लगभग ७० प्रतिशत हुँदा पनि किन अल्पसङ्ख्यक (लगभग ३० प्रतिशत आर्य खस) हरूबाट शासित भएर बस्नु परिरहेको छ ? उनीहरूको हातमा शासन सत्ताको साँचो हुनु त परै जाओस्, शासन सत्तामा आफूहरूले पाउनुपर्ने सहभागी समेत नपाई रहेको स्थित कसरी निर्माण भयो ? भन्ने सम्बन्धमा धेरै राम्रोसँग ज्ञान रहेको छ, जानकारी रहेको छ । त्यसैले गर्दा नै डाक्टर लिम्बुले आफ्नो र आफ्नो परिवारको आर्थिक स्थिति सुधार गर्ने र अरूको हेरेर एैयश–आरामको जीवन जिउने दिशातिर नलागीकन लामो समयदेखि नेपालभित्र बसोबास गर्दै आएका आदिवासी जनजाति, मधेसी, दलित–शिल्पीलगायत उत्पीडित समुदाय, वर्ग र समूहका मानिसहरूका लागि योगदान गर्नेतर्फ लागेको हो । हुन पनि यसो हेर्दाखेरि मेडिकल डाक्टर, त्यसमा पनि मेडिकल विषयका एक विज्ञले नेपाल र नेपाली समाजभित्र रहेका अत्यन्तै जटिल र जकडिएर रहेका विषय र समस्याका सम्बन्धमा चासो र चाख राख्दै कलम चलाउनु अवश्य नै चानचुने कुरो होइन । हुन पनि डाक्टर लिम्बुले आफ्नो पेसा वा नियमित काम गर्दै लामो समय (विसं २०६०–०६१) देखि फुटकर रूपमा विभिन्न त्रैमासिक, द्धैमासिक, मासिक पत्रिका, विशेषाङ्क, दैनिक पत्रपत्रिकाहरू र पछिल्लो पटक अनलाइन न्युज पोर्टलहरूमा लेख रचनाहरू लेख्दै, सिर्जना गर्दै आएको छ ।

त्यसैको फलस्वरुप डाक्टर लिम्बुले केही समयअघि ‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’ नामक किताब, जुन किताबमा २९ वटा लेखहरूको सङ्ग्रह रहेको छ, सो सङ्ग्रह आम पाठकहरू सामु ल्याएको छ ।

डाक्टर लिम्बुले सो किताबमा समग्र नेपालका उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसङ्ख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द ढङ्गले उठाएको छ । तापनि डाक्टर लिम्बुको २९ वटामध्ये अधिकांशले लेखहरूले नेपालका आदिवासी जनजातिहरूका विषय र मुद्दालाई सशक्त ढङ्गले बोलेको छ । छ, त्यसअनुसारको प्रतिनिधित्व राज्यको हरेक अङ्गमा हुनु पर्छ भनी लेख्नु भएको छ, डाक्टर लिम्बुले । त्यस क्रममा उनले एकल काँटे ढङ्गले आवाज नउठाएर, मनगढन्ते ढङ्गले फत्तुर मात्रै लगाएर नलेखेर हालसम्म राज्य सत्तामा भएका वा सहभागिता जनाएका जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्ग, वर्गको तथ्य, तथ्यांकसहित, उदाहरणसहित लेख्नु भएको छ, आफ्नो लेखमा उजागर गरिएको छ । जहाँ राज्य वा राज्य पक्षद्वारा विभेद गरिएको विभेदमा परेका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तस्बिर तथ्य, तथ्याङ्क र दसी–प्रमाणहरू पनि प्रायः जसो सबै लेखहरूमा राखिएको छ, उल्लेख गरिएको छ ।

डाक्टर लिम्बुले लेखिएको आफ्नो किताब ‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’ किताबको पाना नम्बर–१५१ मा ‘नेपालमा आदिवासी जनजातिको मौलिक पहिचानको सवालमा top down कि bottom up दृष्टिकोण ?’ शीर्षकको अर्को लेखमा डाक्टर लिम्बु लेख्नु हुन्छ ‘–…सामाजिक द्धन्द, युद्ध आदि मानव सिर्जित घटनाहरू हुन् जुन मानव नियन्त्रित घटनाहरू हुन् । सायद प्रकृतिको आफ्नै उत्कृष्ट नियमहरू Laws of nature छन्, जसले मानव सिर्जित भाक्ष्यहरु; सर्वोच्च कमान्डर, सर्वोच्च अदालत, परमादेश, नेता, धनी, गरिब, क्रान्ति, राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आदि केही पनि बुझ्दैन । प्रकृतिको नियमलाई न कुनै सर्वोच्च अदालतको परमादेशले रोक्न सक्छ न कुनै शक्ति राष्ट्रको भिटो (veto) ले नै रोक्न सक्छ । समाजमा प्रचलित नियम कानुनहरू आदि समाज, सरकार र राज्यद्वारा अर्थात् मानव निर्मित दस्ताबेजहरू हुन् यसमा वर्चस्वशाली र प्रभुत्वशाली समुदायको वा व्यक्तिको दृष्टिकोण, विश्वास र चाहनाको प्रभाव रहन्छ ।…भनी संसारमा प्रचलित विचार राख्ने दुई सिद्धान्त top र bottom का बारेमा नेपालका आदिवासी जनजातिहरूले down को सिद्धान्त रोज्ने कि bottom up को सिद्धान्त रोज्ने ? सम्बन्धमा विभिन्न उदाहरणसहित चर्चा गरिएको छ । उनले नेपालका आदिवासी जनजातिहरूले मौलिक पहिचानको सवालमा विभिन्न उदाहरणसहित लामो व्याख्या गर्दै नेपालका आदिवासी जनजातिहरूले bottom up approach को सिद्धान्त अपनाउनुपर्ने विचार राखिएको छ । त्यसको ज्वलन्त र पछिल्लो उदाहरण चाहिँ थप व्याख्या गर्दै डाक्टर लिम्बुले एक नम्बर प्रदेशको नामाङ्कनलाई दिएको छ । उनका अनुसार सुरुमा–पहिले (अहिले कोसी नामाङ्कन भई सकेको छ) प्रदेश नं. १ को नाम top down approach र bottom up approach बिचको अनिर्णीत द्वन्द्व कारण नाम रहन नसकी प्रदेश नं. १ नै रहन गएको हो, थियो ।

अन्त्यमा भन्नै पर्दाखेरि नेपालका आदिवासी जनजाति, उत्पीडित जाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसङ्ख्यक, सीमान्तकृत समुदाय, वर्ग आदिको आवाजलाई बुलन्द ढङ्गले लेखिएको, सशक्त ढङ्गले विषय उठान गरिएको थोरै किताबमध्ये डाक्टर लिम्बुले लेखिएको ‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’ नामक किताब पनि पर्न सक्छ । त्यसैले हामी सबैले यो किताब पढ्नै पर्ने देखिन्छ । जसले गर्दाखेरि हाम्रो बौद्धिक खुराक, ज्ञान, प्रज्ञान, विवेक, सिकाई, बुझाई, चेतना, चैतन्य,…को स्तर बढ्ने छ । जसले गर्दा हामीलाई हाम्रो आफ्नै विषय थाहा नभएका थुप्रै जानकारी प्राप्त हुने छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका