ल्होछार मनाउने नाममा भिन्नाभिन्नै नभई एकीकृत शक्ति निर्माण आवश्यक : अध्यक्ष लामा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
364 Shares
काठमाडौं‌

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले ल्होछार मनाउने नाममा तामाङहरू भिन्न भिन्न नभई एकै ठाउँमा उभिएर एकीकृत शक्ति निर्माण गर्दै अघि बढ्नुपर्ने बताएको छ ।

मञ्जुश्री संवत् २८६० डुक९मु पुख्री० सोनाम ल्होछारको अवसरमा शनिवार नेपाल तामाङ ताम्बा घेदुङ,सङ्घीय कार्यसमितिद्वारा काठमाडौँ चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङको सभा हलमा आयोजित शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष लामाले उक्त कुरा बताएका हुन् ।

लामाले तामाङ समुदायको भाषा,धर्म,संस्कार संस्कृतिको विकास तथा अधिकार प्राप्तिका लागि सबै तामाङ सङ्घसंस्थाहरू एकै ठाउँमा उभिनुको विकल्प नभएको बताएका हुन् ।

तामाङ समुदायको मूर्त अमूर्त संस्कृतिको जगेर्ना तथा विकासका लागि एवं ताम्बा प्रशिक्षणको लागि बौद्धनाथ क्षेत्र विकास समितिले केही बजेट विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष लामाले आफ्नो व्यक्तिगत तवरबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गत पौष १३,१४ र १५ गते काठमाडौँमा सम्पन्न भएको तीन दिवसीय ताम्बा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिका महासचिव जगतमान दोङले तामाङ समुदायको सांस्कृतिक धरोहरहरू मध्ये ताम्बाहरुको भूमिका समुदायको लागि निकै महत्त्वपूर्ण रहेको बताए ।

उनले तामाङ संस्कृतिलाई जीवन्त बनाउन ताम्बा ज्ञान र सीपको पुस्तान्तरण हुनुपर्ने वर्तमान अवस्थामा नेपाल तामाङ ताम्बा घेदुङ्ले सम्पन्न गरेको ताम्बा प्रशिक्षण कार्यक्रमको प्रशंसा गरे ।

ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानले तामाङ समुदायको मौखिक इतिहासकारको रूपमा चिनिने ताम्बाहरुसँग भएको ज्ञान र सीप सही रूपमा नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको कारण तामाङ समुदायको इतिहास,संस्कार संस्कृति र मौलिक परम्पराका कुराहरू बिस्तारै लोप हुँदै गएको र यही अवस्थालाई मध्यनजर गर्दै ताम्बा घेदुङले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।

उनले आगामी दिनहरूमा गरिने यस खालको कार्यक्रमलाई सफल तुल्याउन सबैसँग सहयोगको अपिल गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमिति अन्तरगत सूचना सञ्चार तथा प्रकाशन विभागका प्रमुख तीर्थमान बल,भाषा लिपी तथा साहित्य विभागका प्रमुख हिरालाल दोङ,तामाङ ह्रुइबा तथा वंशावली विभागका प्रमुख दिनेश कुमार लो,नेपाल तामाङ युवा घेदुङका अध्यक्ष बिलम मोक्तान तामाङ, प्रशिक्षक तथा खोज अनुसन्धानकर्ता खोजराज गोले लगायत देशभरका ताम्बाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका