टनमका ओर्ग्येन थेगसुम छ्योइलिङ तामाङ गोन्पाको प्राण प्रतिष्ठा सम्पन्न (फोटो/भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
266 Shares
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. १ टनममा निर्माण सम्पन्न ओर्ग्येन थेगसुम छ्योइलिङ तामाङ गोन्पाको माघ ५ र ६ गते प्राण प्रतिष्ठा (ह्राब्ने) गरिएको छ । माघ ५ गते धर्मगुरुहरूको उपस्थिति र ६ गते टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठानसहित ह्राब्ने गर्ने गरिएको हो ।

गोन्पाका अध्यक्ष रेन्जेन लामाका अनुसार करिब २ करोड लागतमा निर्माण सम्पन्न भएको हो । गोन्पा निर्माणका लागि कोरियाबाट उर्गेन लामा र रसुवा थुमन गोसाइँकुण्ड–१ का लोपेन दावा पाल्सङ (हाल कोरिया) को पहलबाट आर्थिक सहयोग जुटेको अध्यक्ष लामाले जानकारी दिए ।

त्यस्तै नाम्ग्यल रिम्पोर्छे फाउन्डेसन, लिसंखुपाखर गाउँपालिका र स्थानीय तथा अन्य दानपतिहरुको आर्थिक सहयोगमा निर्माण गर्न सफल भएको अध्यक्ष लामाले बताए ।

उनले भने¸‘गोन्पाको ह्राब्ने सम्पन्न भएको छ । अब यहाँ धार्मिक कार्यहरू गर्न सहज भएको  छ ।’

यस्तै धर्मगुरु खेन्पो सर्वाजित गोङ्बाले यो गोन्पा यहाँका स्थानीयका मात्रै नभई संसारकै बौद्वमार्गीहरुको सम्पत्ति भएको बताए । उनले यो धर्ती जबसम्म रहिरहन्छ तबसम्म गोन्पाको पहिचान र सम्पत्ति रहिरहने बताउँदै यो इतिहास अब मेट्न नसक्ने बताए ।

‘समाज र समुदायको र प्राणी हितको लागि गरिने कार्य चाहिँ बोधिसत्त्वको कार्य भनिन्छ’‚उनले भने‚ ‘गोन्पा बुद्धको शिक्षालय हो‚ ज्ञानलय हो‚ बौद्ध शिक्षालाई अध्ययन अध्यापन गर्ने स्थलको रूपमा विकास गर्नुपर्छ । अनि मात्र गोन्पाको पहिचान रहन्छ ।’

उनले गोन्पा बनाएर मात्रै हुँदैन गोन्पामा जाने धार्मिक आस्था राख्ने मान्छेहरू बनाउन महत्त्व रहेको बताए । गोन्पा बनाउनुभन्दा गोन्पामा जाने मान्छेको मति बनाउनु महत्त्वपूर्ण विषय रहेको खेन्पो गोङ्बाले बताए ।

उनले यो गोन्पा बनेको छ‚ यसमा जन्मदेखि मृत्युवरणको सबै कार्य यही गर्न सहज हुने बताए ।

ह्राब्ने गरेर गोन्पा सञ्चालनमा आएको छ । यहाँका लाभान्वित समुदायका लागि अति उपयोगी भएको स्थानीयहरू बताउँछन् ।

‘गोन्पा निर्माणका लागि यहाँहरूले गरेको सहयोग सराहनीय रहेको बताउँदै मेरो अथक प्रयास र तपाईँहरूको सहयोगले नै यो संरचना बनाउन सफल भएको अध्यक्ष लामाले बताए ।

टनम योन्जनहरुको बब्सा (थातथलो) भएकोले गोन्पा बन्नु सराहनीय कार्य भएको लिसंखुपाखर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पासाङलाल लामाले बताए ।

२०७२ सालदेखि निर्माणाधीन गोन्पा करिब ८ वर्षपछि सम्पन्न भएको हो ।

गोन्पाको लागि आइतली तामाङ र कर्म योन्जन लामाले जग्गादान गरेका थिए । त्यस्तै कपन गुम्बाका खेन रिन्पोछे  स्व. पासाङ लामा र बाल कुमारी लामा दान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि धर्मगुरु रिन्पोछेद्वारा दानपतिहरुलाई प्रशंसा पत्र र अतिथि पाहुनालाई मायाको चिनोद्वारा सम्मान गरिएका थिए ।

२ दिने ह्राब्नेमा स्व. अगमबिर लामाको नाममा उनका परिवारबाट भोजन तथा चियापानको सम्पूर्ण खर्च व्यहोरेका थिए ।

ह्राब्नेमा कोरियाका धर्मगुरुहरू‚ स्थानीय‚ जनप्रतिनिधिहरूको उपस्थिति रहेका थिए । साथै ह्राब्ने तथा औपचारिक पश्चात् स्थानीय लामागुरुहरुबाट छ्याम (लामा नृत्य) प्रस्तुत गरेका थिए ।

यो पनि

तपाईको प्रतिक्रिया