दसैं मनाउन पहाड जानेको भीड

पत्रपत्रिका
धरान

दसैङ्को चहलपहल सुरु भएसँगै धरान बसपार्कमा प्रदेश १का पहाडी जिल्ला जाने सर्वसाधारणको भीड लागेको छ। सुनसरीको धरान उपमहानगरपालिका हुँदै पूर्वी पहाडी जिल्ला जाने मानिसको भीड लागेको हो।

पूर्वी पहाडी जिल्ला स्थायी घर भई काठमाडौं, पोखरा, विराटनगर, बुटवल, नेपालगञ्ज लगायत देशका विभिन्न जिल्ला तथा विदेशमा समेत बस्दै आएका सर्वसाधारणहरू धरान भएर पूर्वी पहाडी जिल्ला प्रस्थान गरेका छन्। धरान बसपार्क हुँदै प्रदेश १का पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, इलाम, पाँचथर, र ताप्लेजुङ जिल्ला जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ। तीनवर्षसम्म वैदेशिक रोजगारीका लागि दुबई गएका सङ्खुवासभाका रमेश खड्काले यसपाली दसैं परिवारसँग राम्ररी मनाउन घर पर्किएको बताए।

खोटाङको दिक्रेल घर भएका प्रहरी हवल्दार ज्ञानप्रसाद आचार्यले पनि केही दिनको छुट्टी मिलाएर बुढा भएका बाबु आमाको आर्शीवाद थाप्न दसैंमा घर हिँडेको बताए। विरटानगर बस्दै आएका भोजपुरकी सुष्मा खत्री पनि वर्षदिनमा आएको दसैङ्को अवसरमा बुवाआमाको हातको टीका लगाउन र गाउँका साथीभाइसँग भेटघाट गरी रमाइलो गर्न घर जान लागेको बताइन्।

धरानबाट दैनिक २० हजारभन्दा बढी सर्वसाधारणहरू यातायातका साधनमार्फत पहाडी जिल्ला प्रस्थान गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनले सर्वसाधरणगलाई सहज रुपमा घर फर्काउनका लागि धरान बसपार्कमा प्रहरी परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको बताए। आजको अन्नपूर्णपोष्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया