जिरीमा सडक खाना महोत्सव हुने

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
जिरी, दोलखा

दोलखाको पर्यटकीय नगरी जिरीमा नेपाल भ्रमण वर्र्ष–२०२० को पूर्वसन्ध्यामा सडक खाना महोत्सव (स्ट्रिट फुड फेस्टिभल) २०७६ आयोजना हुने भएको छ । आगामी कात्तिक १, २ र ३ गते आयोजना हुने स्ट्रिट फुड फेस्टिभल–२०७६मा सांस्कृतिक प्रदर्शनी, स्थानीय परिकार बिक्री, प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण जस्ता कार्यक्रम आयोजना हुनेछ । ‘जिरीलाई क्लिन जिरी, ग्रीन जिरी र अर्गानिक जिरी भन्ने नाराका साथ’ स्थानीय सरकारले काम गरिरहेको उनले बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही सर एड्मण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पा जिरी हुँदै सगरमाथा पुगेकाले सन् १९५३ देखि जिरीलाई सगरमाथाको प्रवेशद्वारसमेत भनिन थालेको छ । युवा सञ्जाल जिरीले आयोजना गर्न लागेको स्ट्रिट फुड फेस्टिभल– २०७६लाई जिरी नगरपालिका, गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना, नेपाल पर्यटन बोर्डलगायतको सहयोग रहने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए ।

स्ट्रिट फुड फेस्टिभल– २०७६ को अवसरमा जिरी आउने पर्यटकहरूले जिरीभित्रका पर्यटकीय गन्तव्यहरू चेर्दुङ, जिरेश्वर मन्दिर, हलेश्वर मन्दिर, ढुगेश्वरी मन्दिर, पाँचपोखरी, जटापोखरी, राम्बोले देवी, जिरीबजार, ठुलोनागी, हनुमन्ते, सिक्री गाउँ, लावती झरना, चेर्दुग डाँडा, चेर्दुग चिज उत्पादन केन्द्र, चेञ्चो डाँडा, बुद्धपार्क, कालोभीर, जिरी चियाबगान, रमिते डाँडा आदि ठाउँमा घुम्न सक्ने युवा सञ्जाल जिरीका अध्यक्ष खड्काले बताए ।

स्ट्रिट फुड फेस्टिभल–२०७६मा जिरी पुग्ने पर्यटकले चिज, छुर्पी, चिया, आलु, किबी, ट्राउट माछा जस्ता स्थानीय उत्पादनको स्वाद समेत लिन सक्ने उनले बताए । सञ्जालका स्ट्रिट फुड फेस्टिभलको अवधिमा मौलिक स्थानीय कला संस्कृति प्रदर्शनी, साङ्गीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता र विविध मौलिक तथा अन्य खाद्य परिकारहरू खुला सडकमा नै प्रदर्शन गरिने आयोजकको भनाइ छ ।

स्ट्रिट फुड फेस्टिभल–२०७६मा झण्डै ५ हजार स्वदेशी तथा विदेशी पर्यटक सहभागी हुने र १० लाखभन्दा बढीको स्थानीय उत्पादनको कारोबार हुने अनुमान गरिएको आयोजक युवा सञ्जाल जिरीले जनाएको छ ।

जिरीमा पर्यटकहरूको आकर्षणका लागि जिरी ताल, विश्वकै अग्लो गुरु पद्मसमका सालिक सहितको बौद्ध विहार निर्माण, हनुमन्ते डाडाँमा विश्वकै अग्लो हनुमानको मूर्ति राख्ने लगायतका ठुला परियोजना समेत सुरु गर्न लागेको जिरी नगरपालिकाका मेएर टङ्क जिरेलले जानकारी दिए । आजको कारोबारले समाचार छापेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका