एमाले दोलखा १० औं जिल्ला अधिवेशन : प्रतिनिधि कसरी र किन हुने ?

राजेन्द्र मानन्धर राजनीतिज्ञ
1260 Shares

नेकपा एमालेका जिल्ला अधिवेशनहरूको मिति घोषणासँगै अधिवेशन प्रतिनिधि छनौटको चहलपहल सुरु भएको छ । सङ्गठन, मत सङ्ख्या र व्यवस्थापनमा नेपालको सबैभन्दा अब्बल पार्टीको जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट हुनुलाई सङ्गठित सदस्यहरूले गौरव ठान्छन् । त्यसैले विधि पुगेका हरेक सदस्यलाई प्रतिनिधि छनौटको अधिकारको सुनिश्चितता गरेको छ ।

नेकपा एमाले दोलखाले माघको तेस्रो सातामा अधिवेशन गर्न लागेको छ । अधिवेशन प्रतिनिधि छान्न माघ ९ देखि १३ गतेसम्म निर्वाचन तालिका सार्वजनिक गरेको छ । माघ १२ गते उम्मेदवारी दर्ता र १३ गते निर्वाचन गरेर अधिवेशन प्रतिनिधि छनौट गरिनेछ ।

अधिवेशनका हरेक प्रक्रियामा भाग लिन पाउने, राजनीतिक, सैद्धान्तिक बहस गर्न पाउने, चुन्न र चुनिन पाउने विशिष्ट अधिकार प्रतिनिधिलाई हुनेछ ।

अधिवेशनमा भाग लिन करिब सात सय प्रतिनिधि छनौट गरिने छ । निर्वाचन क्षेत्रहरू ७४ वटा वडा भूगोल हुनेछ । ९ वटा पालिकाको पायक पर्ने ठाउँमा दलित प्रतिनिधि छनौट गर्न  निर्वाचन क्षेत्र तोकिएको छ । खटाइएका निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरूले पार्टी विधानको धारा ६३ को १०, ११ १२ अनुसार निर्वाचन गराउने छ । त्यसैगरी अधिवेशन सम्पन्न गरेका जनवर्गीय सङ्गठनले तीन जना र नगरेकाले १ जना प्रतिनिधि पठाउन पाउने छ । सल्लाहकार कमिटीबाट २५ जना प्रतिनिधि हुनेछ । दोलखा–काठमाडौँ सम्पर्क मञ्चबाट ३ जना र सम्पर्क मञ्चका हरेक पालिका कमिटीबाट २र२ जना प्रतिनिधि पठाउन पाउने छ । मञ्चको २१ जना प्रतिनिधिमध्ये एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ । सबै निर्वाचन क्षेत्रबाट ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिने व्यवस्था छ । विधान अनुसार कुल प्रतिनिधिको ५ प्रतिशत मनोनीत हुने छ ।

मनोनीत गर्दा पार्टी प्रवेश गर्नेलाई प्राथमिकतामा राख्ने नीति बनाएको छ । तर, सङ्गठित सदस्यलाई मात्र प्रतिनिधि बनाउन सकिने व्यवस्था छ । भूगोल र दलित बाहेक अन्यको हकमा सम्बन्धित कमिटीले निर्णय गरेर प्रतिनिधि छन्ने व्यवस्था छ ।

प्रतिनिधि हुनका लागि कम्तीमा २ वर्ष पार्टीको सदस्य भएर काम गरेको हुनुपर्छ । महिला, दलित र युवाको हकमा एक वर्ष पार्टीको सदस्य भएर काम गरेको हुनुपर्छ । पार्टी प्रवेश गर्नेको हकमा पार्टी सदस्यता लिएको हुनुपर्छ ।

प्रतिनिधि छनौट निर्वाचन:

अधिवेशन प्रतिनिधि हुन योग्य पार्टी सदस्यहरूको नामावली माघ ९ गते तोकिएको निर्वाचन क्षेत्रमा मतदान अधिकृतले प्रकाशन गर्ने छ । उक्त काममा पार्टीको वडा अध्यक्ष, वडा इन्चार्जहरू, जिल्ला र प्रदेश कमिटीका नेताहरूले जिम्मेवारी लिएर खटिनु भएको छ । तोकिएको निर्वाचन क्षेत्रको ठेगाना र पठाइएको नामावली सम्बन्धमा पार्टी सदस्यले निर्वाचन अधिकृत वा जिम्मेवार कमरेडहरूबाट जानकारी लिन सकिन्छ । नामावली तलमाथि परेका पार्टी सदस्यले दाबी विरोध नपरेमा अन्यथा नहुने हुँदा सचेत रहन अनुरोध गरिएको छ ।

प्रतिनिधि हुन योग्यले माघ ९ देखि १२ गते २ बजेसम्म १ सय रुपैयाँ तिरेर फारम लिन सकिन्छ । १२ गते नै २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्नु पर्नेछ । १३ गते उम्मेदवारी फिर्ता, छानबिन गर्दै सोही दिन निर्वाचन गरी र परिणाम घोषणा गरिने छ । सबै जानकारी पार्टीका जिम्मेवार नेताहरूसँग सम्पर्क, समन्वय गरेर सूचित हुनुपर्ने हुन्छ । यो अभियानमा कोही नछुटुन् भन्ने पार्टीको आग्रह छ ।

प्रतिनिधि छनौट भएपछि :

यसबर्षबाट पहिलो पटक पार्टीले अनलाइन मार्फत प्रतिनिधि विवरण भर्ने व्यवस्था गरेको छ । प्रतिनिधि छनौट भएपछि प्रतिनिधि आवेदन फारममा उल्लेख भएको टेलिफोन नम्बरमा लिङ्क मेसेज आउँछ । लिङ्क वा क्युआर कोड अन्य माध्यमबाट पनि आउन सक्छ  । लिङ्क वा क्युआरमा क्लिक गरेपछि आवेदन फारम देखिन्छ  । सुरुमा अटो साइजको फोटो अपलोड भनिएको ठाउँमा क्लिक गरेपछि मोबाइल स्टोरमा भएको फोटो देखाउँछ । त्यहाँ क्लिक गरेपछि फोटो अपलोड हुन्छ । फोटो नजिकबाट खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्छ । फोटोलाई क्रप गर्ने व्यवस्था छ ।

फोटो अपलोड भएपछि नेपालीमा आफ्नो नाम लेख्नु पर्छ । जन्म मितिमा क्लिक गर्ने वित्तिकै क्यालेन्डर आउँछ । त्यसैबाट सर्च गरेर सालमा क्लिक गर्नु पर्छ । त्यहाँ आफ्नो जन्मको सालमा क्लिक गरेपछि महिना र गते भर्नुपर्छ । ‘ओके’मा क्लिक गरेपछि जन्म मिति भरिन्छ । त्यसपछि मोबाइल नम्बर र लिङ्ग भर्नु पर्छ । प्रतिनिधित्व गरेको कमिटीमा क्लिक गरेपछि भूगोल, जनसङ्गठन, जिल्ला सल्लाहकार, सम्पर्क मञ्च, उत्पीडित र मनोनीत भन्ने ‘अप्सन’ देखाउँछ । आफू कहाँबाट प्रतिनिधि भएको हो त्यहाँ क्लिक गर्नुपर्छ । त्यसपछि खुल्ला वा महिला भनेर पनि आउन सक्छ । त्यो छानेपछि पालिका छान्नु पर्छ र वडा नम्बर टाइप गर्नुपर्छ ।

आफ्नो विवरण सही छ भन्ने पक्का गरेपछि पेस गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुपर्छ । त्यस पश्चात् आफूले पेस गरेको मोबाइल नम्बरमा ६ अङ्कको ‘ओटिपी कोड’ एसएमएस सन्देशमा आउँछ । कोड मागेको ठाउँमा उक्त कोड  राखेपछि  ‘तपाईँको विवरण प्राप्त भयो, स्वीकृत भएपछि एसएमएस मार्फत जानकारी गराइनेछ’ भन्ने जानकारी आउने छ ।

प्रतिनिधि कसरी स्वीकृत हुन्छ ?

निर्वाचन अधिकृतले पेस गरेको आधारमा प्रतिनिधि हो/होइन छानबिन हुन्छ । प्रतिनिधि शुल्क १००० र अन्य लेवी चुक्ता भएको छ/छैन छानबिन हुन्छ । विधान, कार्यविधि अनुसार योग्य छ/छैन भन्ने छानबिन हुन्छ । योग्य ठहरिएकाहरूलाई ‘एडमिन साइड’बाट विवरण प्रमाणीकरण गरिन्छ । विवरण सही भएमा सो विवरण स्वीकृत गरी एसएमएसबाट ‘नेकपा (एमाले) दोलखा जिल्लाको १० औ अधिवेशनमा परिचयपत्रको लागि तपाईँको विवरण स्वीकृत भएको छ । कार्ड प्रिन्ट पश्चात् जानकारी दिइने छ ।’ भन्ने सन्देश आउँछ । विवरण गलत भएमा एडमिन साइडबाटै अस्वीकृत गरी एसएमएसबाट ‘अधिवेशनको लागि तपाइको विवरण अस्वीकृत भएको छ । ‘भन्ने सन्देश आउँछ । कार्ड प्रिन्ट भए पश्चात् पुन एसएमएसबाट  ‘अधिवेशनको लागि तपाईँको कार्ड प्रिन्ट भएको छ ।’ भन्ने सन्देश आउँछ ।

उक्त सूचनाहरू नआएमा प्रतिनिधिले पार्टी  जिल्ला कार्यालयमा सम्पर्क गर्नुपर्छ । यदि कसैसँग मोबाइल नभएमा वा विवरण भर्न नसकेमा अरूको मोबाइल फोन प्रयोग गरेर पनि फारम भर्न सकिन्छ । फारममा जुन फोन नम्बर राखेको हुन्छ, त्यसैमा एसएमएसबाट सूचना आउने व्यवस्था गरिएको छ ।

प्रतिनिधिको तयारी :

प्रतिनिधिहरूले अधिवेशनबारे पूर्ण जानकारी राख्नुपर्ने हुन्छ । पार्टीको जिल्ला कार्यालयमा रहेको प्रतिनिधि व्यवस्थापन समितिबाट कार्ड र अन्य सामग्री बुझ्नेलगायतको काम पहिले नै गर्नुपर्छ । प्राप्त कार्डबाट ‘क्युआर’ स्क्यान गरेपछि मात्र प्रवेश र मतदान गर्न पाउने हुँदा आफ्नो कार्ड सुरक्षित राख्नु पर्छ ।

अधिवेशनको बन्द सत्रमा प्रस्तुत हुने राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदन र दोलखा-समृद्धिको दृष्टिकोण पहिले नै अध्ययन गरिसकेको हुनुपर्छ । बन्द सत्रमा पुरै समय भाग लिने र बहस गर्ने विषयहरू आफूले प्रतिनिधित्व गरेको कमिटीबाट छलफल गरेर तयार गरेको हुनुपर्छ । अधिवेशन उद्घाटन समारोह, बन्द सत्र र निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म पूर्ण समय दिन सक्ने गरी आफूलाई तयारी गरेको गर्नुपर्छ ।

थप जानकारी आवश्यक भए पार्टी कार्यालय र प्रतिनिधि व्यवस्थापन समितिबाट जानकारी लिन सकिन्छ ।

प्रतिनिधिहरूले चरिकोटको जाडो मौसमलाई ख्याल गर्दै तयारीसाथ उपस्थित हुनुपर्छ ।

पार्टीले सम्पन्न गर्न लागेको ‘एकताको १० ओै जिल्ला अधिवेशन’ भव्य बनाउन सबैभन्दा बढी भूमिका प्रतिनिधिहरूको हुन्छ । पार्टी केन्द्र, जिल्ला पार्टी र विधान, नीति, कार्यविधिलाई अधिवेशनका हरेक प्रक्रियाहरूमा सुझबुझका साथ लागू गरिएको छ । त्यसमा अस्पष्ट भए वा चित्त नबुझेमा पार्टीको आधिकारिक व्यक्तिसँग प्रस्ट हुनुपर्छ ।

अधिवेशन र मतदान प्रक्रिया पारदर्शी गर्न प्रतिनिधि कार्डमा ‘क्युआर’ स्क्यान विधि प्रयोग गरिएको छ । हरेक कामहरू पारदर्शी गर्ने र अधिवेशनमा कसैलाई कुनै विषयमा अपमान हुन नदिन सचेतता अपनाइने छ ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि  जिल्लाको नेतृत्व चयन गर्नेछ । त्यसैले आगामी नेतृत्व कस्तो बनाउने भन्ने प्रतिनिधिहरूको हातामा हुन्छ । अति नै महत्त्वपूर्ण जिम्मेवारी लिएर पार्टी सदस्यबाट छानिएर आउनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना छ ।

(लेखक नेकपा एमाले दोलखाको उपाध्यक्ष तथा प्रतिनिधि व्यवस्थापन संयोजक हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया