नाटक ‘मासिन्या’ हाम्रो उत्पीडनको कथा हो : आङ्काजी शेर्पा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
काठमाडौं‌

नाटक ‘मासिन्या’ तामाङ समुदायको उत्पीडनको कथा रहेको आदिवासी अभियन्ता आङ्काजी शेर्पाले  बताए ।  थापागाउँस्थित मण्डला थिएटरमा नाटकको विशेष मञ्चनमा बुधबार शेर्पा लगायत साहित्य, कला, संगीत,राजनीति र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।

नाटकले सडकमा उभिएर आन्दोलन र भाषण गरेभन्दा पनि शक्तिशाली सन्देश दिएको तर्क गर्दै आदिवासी अभियन्ता शेर्पाले सम्पुर्ण तामाङ समुदाय र विश्वभर आदिवासी माझ यसलाई पुर्याउन आव्हान गरे । उनले भने,’यो हाम्रो उत्पीडनको कथा हो । यही कुरा राज्यले बुझेको भए आज सडकमा आन्दोलन गर्नुपर्ने अवस्था आउने थिएन । नाटकका यी दृश्यहरु प्रचण्ड र आङकाजीले बोलेको भाषणभन्दा शक्तिशाली छ । यसलाई प्रत्येक तामाङ बस्तीमा लानुपर्छ ।’

नाटकमा विशेषत: तामाङ समुदायले भोग्दै आएको उत्पीडननको कथालाई प्रस्तुत गरिएको छ । त्यसैमा समुदायको जीवनपद्धति, संस्कृति, लय र परिवेशहरु नाटकमा देख्न सकिन्छ । तामाङ समुदायमाथि गरेको विभेद र अत्याचारको जीवन्त प्रस्तुत नाटकमा रहेको विशेष मञ्चनमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । ‘यो नाटक मात्र होइन पीडा हो । यसलाई युवा पीढीले बुझ्नुपर्यो’, उनले भने, ‘यस्तो पीडाको विरुद्धमा संघर्ष गर्नुभन्दा अरु उपाय नै छैन । यो देशभरी देखाउनुपर्छ र आफ्नो अधिकार पहिचानको लागि संघर्ष गर्नुपर्छ ।’ उनले तामाङ समुदायमाथि मासिन्या भनेर राज्यले गरेको विभेद प्रायोजित व्यवहार रहेको समेत धारणा राखे । उनका अनुसार आफ्नो समुदाय र नागरिकलाई नाटक जस्तो माध्यम नै जनचेतना बढाउने उपाय हो । ताम्सालिङ संघर्ष समितिका सदस्य सचीव तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले नाटकलाई अभियानकै रूपमा सम्भव भएसम्म सातै वटा प्रदेशमा पुर्याउने सुनाए । राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । नाटक बिहीबारदेखि माघ २८ गतेसम्म मञ्चन जारी रहनेछ । नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान,रविन दोङ,विकास लामा,इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका