तामाङ भाषा सिक्ने र सिकाउने एप तयार हुँदै, अपनत्वका लागि घेदुङसँग समझदारी

सैलुङअनलाइन संवाददाता
742 Shares
काठमाडौँ

तामाङ भाषा सिक्ने र सिकाउन सक्ने एप्लिकेशन सफ्टवेर (तामाङ ल्याङ्गोइज एप) को प्रवर्द्धनका लागि नेपाल तामाङ घेदुङले अपनत्व लिएको छ । एप निर्माण गरिरहेको संस्था इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिसँग गत शुक्रबार घेदुङले प्रवर्द्धन गर्न आठबुँदे समझदारी गरेको छ ।

समझदारीमा इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिका संयोजक नवराज लामा र नेपाल तामाङ घेदुङको तर्फबाट महासचिव जगतमान लामा दोङले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमारसिंह घिसिङ तथा इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एन्ड एनालिसिसका सदस्य झलकमान तामाङ, सल्लाहकार कुमार यात्रु र कार्यक्रम सदस्य भीमबहादुर तामाङलगायतको उपस्थिति थियो ।

तामाङ भाषा बोल्न आवश्यक पर्ने आधारभूत शब्द र शब्दको वाक्यसहित तयार गरिने एप हालका लागि देवनागरी र अंग्रेजी लिपीमा तयार हुनेछ । कालान्तरमा तामयीगलगायत अन्य लिपीमा पनि विस्तार गरिने कार्यक्रम संयोजक लामाले जानकारी दिए ।

यो एप नेपाली र अंग्रेजीमा रुपान्तरण हुने गरी तयार हुनेछ । एपमा भाषा रुपान्तरणका साथमा सम्झिन सक्ने गरी खेल र चित्रहरु पनि राखिने छ । इन्टरनेटको पहुँच भएकाहरुले यो एप प्रयोग गरी भाषा सिक्न सक्ने र सिकाउन पनि सकिने आयोजकहरुको दावी छ ।

तामाङ भाषा सिक्न चाहानेहरुका लागि लक्षित गरी बनाइने यो एउटा एप्लिकेशन सफ्टवेर हो । कम्प्युटर वा मोवाइलमा सजिलै डाउनलोड गर्न सक्ने यो एपको निर्माण कार्य हालसम्म ६० प्रतिशत सकिएको संयोजक लामाले बताए ।

एपमा भाषा सिक्नका लागि भाषाशास्त्री अमृत योञ्जन-तामाङले तयार गरेका किवार्डहरु रहने छन् भने काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. बालकृष्ण बलले मल्टिमिडिया र आइटी पक्षलाई हेर्ने छन् ।

समझदारी आदानप्रदान कार्यक्रममा घेदुङका केन्द्रीय अध्यक्ष गोलेले एप निर्माणमा तामाङहरुको नेपाल तामाङ घेदुङले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसका संयोजक लामाले एप निर्माणको ऐतिहासिक कार्यमा नेपाल तामाङ घेदुङले यसरी अपनत्व तथा प्रवद्र्धनको लागि सहमति गरेकोमा आभार व्यक्त गरेका थिए । घेदुङका महासचिव जगतमान दोङले पनि यो निकै सह्रानिय काम भएको र यसको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

समझदारी पत्रमा यसको आर्थिक भार संस्थाले व्यहोर्ने र प्रवद्र्धन घेदुङले गर्नेलगायतका आठ बुँदा रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका