मासिन्या हेरेपछि डा.सिके राउतले आफ्नो विगत सम्झिए

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
98 Shares
काठमाडौं‌

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नाटक ‘मासिन्या’ हेरेपछि आफ्नो विगत र भोगाइलाई सम्झिए।

थापागाउँस्थित मण्डला थिएटरमा मासिन्या हेरेपछि नाटकले प्रस्तुत गरेको कथा आफ्नो जीवनसँग मेल खाएको उनले बताए । ‘म २५ पटक हिरासतमा परेको मान्छे । मासिन्यामा तामाङ जातिमाथिको दमनको इतिहासको कथामा मेरो पनि कथा मिलजुल देखिन्छ’,उनले स्मरण गरे,’म तराईको मान्छे आठ कक्षा पढ्दा मात्र पहाड यस्तो हुन्छ भनेर टाढाबाट दाइको बिहेमा जाँदा देखेको थिएँ । दाइको बिहे पहाड नजिकै भएको थियो ।’ हिँडेर जान खोज्दा सेनाले समाते भने यातना दिन्छन् भनेर साथीले डर देखाएको कुरा समेत उनले सुनाए ।

मासिन्याले जल, जमिन, जङ्गल,संस्कृति, इतिहास र परम्परा खोसिएका तामाङ, थारु, चेपाङ समुदायको कथालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउँदै उनले यसलाई जनचेतनाकै रूपमा लिनुपर्ने धारणा राखे । उनका अनुसार नाटकमा अभिनय, भावना, प्रकाश र सङ्गीतको पनि उत्तिकै संयोजन रहेको छ ।

राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । माघ २८ गतेसम्म मञ्चन हुने नाटकमा रुपेश तामाङ, रोहनी लामा,शीतल थोकर, सुनिल तामाङ, विकास लामा, विष्णु मोक्तान,रमिला मोक्तान, सानुमाया तामाङ, प्रशान्त वाइबा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया