रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा अबका दिनहरूमा व्यवस्थित रूपमा उपचार गर्न पाउने भएको छ ।
केन्द्र धुन्चेका वरिष्ठ कविराज निरीक्षक सातौँ तहका अशोककुमार झाका अनुसार माघ १२ गतेको प्रदेश स्तरीय बैठकबाट पारित भई बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तरगत सञ्चालनमा रहेका १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय (साबिकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र) लाई स्वास्थ्य बिमा कार्यालयमा समावेश भई स्वास्थ्य सेवा प्रदान गर्न परिपत्र आएकाले अबका दिनमा व्यवस्थित उपचार हुनेछ ।
उपचारमा पायल्स भएर अप्रेसन गर्नुपर्ने तर टाढा जानुपर्ने भएमा यही स्वास्थ्य केन्द्रमा बसी निःशुल्क उपचार हुनेछ । नसर्ने तर जटिल नदेखिएको उपचार हुने र जटिल जस्तै क्यान्सर र सर्ने रोग देखा परेको भए रिफर गरिने बताइएको छ । पायल्स, फिस्टुला, फिसर, मधुमेह, प्रेसर, मिर्गौला रोगहरूको लागि सामान्य स्क्रिनिङ समेत गरिने बताइएको छ ।
त्यस्तै माघ १५ गतेबाट नसर्ने रोगहरूको व्यवस्थापन ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तरगत परीक्षण निदान, परामर्श र उपचार हरेक हप्ताको हुनेछ । यो कार्यक्रम आर्थिक वर्ष २०८०/२०८१ को कार्यक्रम सुरु भई अर्को आर्थिक वर्ष सम्म रहने छ ।