पार्टी प्यालेसमा ल्होछार नमनाउन घेदुङको अनुरोध‚ पार्टी प्यालेसमा मनाएको ल्होछारमा अतिथि बनेका घेदुङका जिम्मेवार व्यक्तिहरू उपस्थिति नहुन निर्देशन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
378 Shares
काठमाडौं‌

तामाङ समुदायको सोनाम ल्होछार सहरका पार्टी प्यालेसमा मनाउन नपाइने भएको छ। नेपाल तामाङ घेदुङले काठमाडौँ उपत्यका सहित देशका विभिन्न सहरमा ल्होछार मनाउँदा पार्टी प्यालेस तथा होटेलमा नमनाउन निर्देशन जारी गरेको छ।

पार्टी प्यालेस र होटेलमा ल्होछार मनाउँदा आर्थिक रूपले अर्कैको व्यापार हुने र सांस्कृतिक रूपले समेत अर्कैको संस्कृति प्रवर्द्धन हुने हुँदा त्यस खालको गतिविधिप्रति सबैलाई सचेत हुन अनुरोध गरेको हो ।

‘सोनाम ल्होछार पर्वलाई घरघरमा परम्परागत विधि, प्रक्रियाद्वारा भव्यताका साथ आग्रह गरे’‚ घेदुङका अध्यक्ष मोहन गोलेले भने‚‘ पार्टी प्यालेसमा हुने खर्चलाई आफ्नै गाउँ र टोल केन्द्रित गरी तामाङ खानपिन र तामाङ भेषभुषा र संस्कृति प्रवर्द्धनमा जोड दिने गरी मनाउन सबैलार्ई अनुरोध छ ।’

यदि, कुनै संस्थाले पार्टी प्यालेसमा आयोजना गरिहालेमा घेदुङका जिम्मेवार अभियन्ताहरू अतिथिको रूपमा उपस्थिति नहुन समेत निर्देशन दिएका छन्। विभिन्न संघसस्थाले आयोजना गर्ने ल्होछार कार्यक्रम नेपालको हकमा सहरको पार्टी प्यालेसमा पिजा, वर्गर, चाउचाउ र कोकाकोला खाएर मनाउने गरेकोप्रति घेदुङले आपत्ती जनाएको छ।

पछिल्लो समय ल्होछार सहितको चाडपर्वहरू तामाङ संस्कृति र तामाङ उत्पादन पद्धतिबाट टाढिँदै गएको तथा बाह्य संस्कृति र बहुराष्ट्रिय कम्पनीको व्यापार बढ्दै गएको पक्षलाई मध्यनजर गरी घेदुङले यस्तो खालको निर्णय गरेको अध्यक्ष गोलेको भनाई छ।

२७ गते काठमाडौँको टुँडिखेलमा हुने ल्होछार विशेष कार्यक्रमको स्टलमा तामाङको मौलिक पहिचान झल्कने वस्तुहरूको प्रदर्शनी हुनेछ ।

तपाईको प्रतिक्रिया