प्रवासका सङ्घसंस्थाले ल्होछार कहिले र कसरी मनाउदैछ ? कुन कुन कलाकार पुग्दैछ प्रवासमा ?

साङ्गीतिक माहौलमा डायस्पोराका ल्होछार‚ तामाङ समाज कतारले ज्ञान र विचार समावेश

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
224 Shares
काठमाडौं‌

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार देश विदेश (डायस्पोरा) का संघसंस्थाहरुले विविध कार्यक्रम गरी मनाइँदै छ । ‘२८६० औँ डुक (मु पुख्री) ल्हो’ लाई अमेरिका‚ युरोप‚ खाडीमूलकमा रहेका विभिन्न संघसंस्थाहरुले नेपालका तामाङ समुदायका कलाकारहरूको उपस्थितिमा मनाउँदै छन् । यही दिन र समयमा चिन, कोरिया, जापान, मलेसिया, हङकङ, सिंगापुर, भियतनाम, लाओस्, थाइल्यान्ड, बर्मा लगायत देशहरूले पनि यो पर्व धूमधामले मनाइन्छ ।

तामाङ सोसाइटी अफ अमेरिकाले फेब्रुअरी १७ का दिन द मिकेला प्लाजामा ल्होछार साँझ मनाउदैछ । कार्यक्रममा गायक मिलन लामा‚ सेलो गायिका शशिकला मोक्तान‚ गोमा योन्जन‚ सुमित्रा लामा‚ टेकमान तामाङ र डिजे कर्मको फिचरिङ रहने संस्थाका अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

यस्तै तामाङ समाज युके‚ तामाङ घेदुङ युके र म्हेन्दोमाया परिवारको संयुक्त आयोजनामा फेब्रुअरी ३ तारिखमा ल्होछार मनाउने मिति तय गरेको छ । कार्यक्रमको लागि नेपालबाट गायक तथा सङ्गीतकार विश्व दोङ युके पुगिसकेको छ। त्यस्तै गायिका सानु वाइबा‚ रश्मि तामाङ‚ मेनुका राई र गायक कृष्ण पाख्रिनको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम हुनेछ ।

नेपाल तामाङ समाज जापानले फेब्रुअरी ११ मा ‘ल्होछार बृहत् सांस्कृतिक साँझ’ आयोजना गरी मनाउने तयारी गरिएको छ । साँझका लागि मनोरन्जमय बनाउन नेपालबाट सुमिना लो‚ प्रकाश तितुङ‚ मनमाया वाइबा‚ पूजा तामाङको प्रस्तुति रहने आयोजकले जनाइएको छ ।

समाजका अध्यक्ष कर्साङ तामाङका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूसँग तामाङ झाँकीको बेजोड प्रस्तुति रहने जानकारी दिए ।

नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया सौलले फेब्रुअरी ९ मा उर्गेन दोङ, सुमिना लो र अनु चौधरी लगायत अन्य कलाकारहरुको साथमा साँगीतिक कार्यक्रम गर्ने भएको छ । घेदुङले आपतकालीन राहत कोष सहयोगार्थको लागि बृहत सांस्कृतिक कार्यक्रम गरि मनाउने भएको हो ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले नेपालबाट आउने चर्चित कलाकार उर्गेन दोङ लगायतको साथमा २८६० डुक ल्हो सोनाम ल्होछार मनाउने भएको छ । कोरियन पर्व सलनालको तेस्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजुस्थित अस्तार होटेलको सभा हलमा सांस्कृतिक कार्यक्रम गरी मनाउँदै छ ।

कार्यक्रममा गायक दोङको मुख्य प्रस्तुति रहनेछ । त्यस्तै स्थानीय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रै स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाएको छ ।

बिहान ११ बजे देखि साँझ ७ बजे सम्म हुने उक्त ल्होछार सांस्कृतिक कार्यक्रममा तामाङ समुदायको मौलिक खाना परिकारसँगै विविध खानेकुराको परिकार रहने आयोजकले जनाइएको छ ।

तामाङ समाज युएईले ‘ड्रागन वर्षको अवसरमा ‘सेलो विशेष ल्होछार साँझ २०२४’ को आयोजना गरी मनाउने तयारी गरिरहेको जनाइएको छ । कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकारको रूपमा चर्चित सङ्गीतकार एवं गायक विश्व दोङ र गायिका जितु लोप्चनलाई आमन्त्रण गरिसकेको संस्थाका अध्यक्ष जितेन्द्र गोलेले बताए ।

उनका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरूले तामाङ संस्कार–संस्कृति झल्किने तामाङ तथा सेलो गीतसङ्गीतहरूमा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने जानकारी दिए । फेब्रुअरी १० शनिवारका दिन रोयल रोज होटेल ग्रीन हाउस नजिक आबुधाबी र ११ आइतबार क्लब एसकेसेभेन वर दुबई, दुबईमा हुनेछ ।

ल्होछार परम्परा मूल त नेपालको हिमाली पहाडी आदिवासी जनजाति समुदायहरूको ठुलो साझा सांस्कृतिक पर्व हो । ल्होछार नेपालको पश्चिम, मध्ये तथा पूर्वी पहाडी हिमाली क्षेत्र लगायत एसियाका समग्र मङ्गोल समदायकै साझा सांस्कृतिक पर्व पनि हो ।

यस्तै अर्का संस्था तामाङ समाज युएईले फेब्रुअरी १० र ११ तारिखमा अबुधावी सुडानी सोसियल क्लब, युएई अलफला र याक एण्ड यत्ति क्लब एभरेस्ट, बर दुवईमा ल्होछार साङ्गीतिक कार्यक्रम गरी मनाउँदैछन् ।

‘नेपाल तामाङ घेदुङको ग्रेन धिम (भवन) खरिद सहयोगार्थ’ ल्होछार कार्यक्रम आयोजना गरिएको अध्यक्ष डिल्लीराम तामाङले जानकारी दिए । ‘तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू गायक तथा सङ्गीतकार विशाल काल्तान र म्हेन्दोमाया गायिका बिना घलेको उपस्थिति रहने संस्थाका नेपाल सम्पर्क समितिका अध्यक्ष निशान वाइबा तामाङले बताए । यस्तै स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति साथै डिजे सेसनमा नयाँ तथा पुरानो सेलो, म्हेन्दोमाया र खान्दोके गीतहरू प्रस्तुत हुनेछ ।

यस्तै तामाङ सोसाइटी अफ न्युजिल्याण्डले ‘सोनाम ल्होछार साँझ २०२४’ मनाउदैछ । संस्थाले फेब्रुअरी १० तारिखमा ड्रमन ओरेती रोडमा बेलुकी ५ बजेदेखिको समय तय गरेको अध्यक्ष रबिन मोक्तानले जानकारी दिए । कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति रहने संस्थाका नर्थ कोअर्डिनेटर निश्चल तामाङले बताए ।

नेपाल तामाङ घेदुङ साइप्रसद्वारा ११ फेब्रुअरी २०२४ मा फ्यान्टास्टिक हल लिमासोलमा सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम मनाउदैछ । कार्यक्रममा गायक छेवाङ लामाको प्रस्तुति रहन्छ ।

नेपाल तामाङ घेदुङ बहराइनद्वारा फेब्रुअरी ९ तारिखमा डेलमुन इन्टरनेश्नल होटेल मानमामा ल्होछार मनाउने तयारी गरिरहेका छन् । कार्यक्रमका लागि आमन्त्रित कलाकारहरू नेपाली तथा सेलो गायक प्रदीप लामा‚ गायिका निर्मला घिसिङ‚ गायकद्वय रोम लामा र आरबि लामाको प्रस्तुति रहनेछ ।

‘तामाङ समाज माल्टा’ द्वारा विविध सांस्कृतिक आयोजना गरी ल्होछार मनाउने भएका छन् । कार्यक्रम सफल बनाउन सबैलाई निम्तो समेत गरेका छन् । आयोजकले ह्योइ ल्होलाई बिदाइ गर्दै डुक ल्होलाई स्वागतार्थ विविध कार्यक्रम आयोजना गरिएको हो । आयोजक संस्थाका अनुसार फेब्रुअरी १० तारिखमा “Ivy House pembroke” (st. Julian, swieqi bus stop नजिक) हलमा दिउँसो ०४:०० देखि ११:०० सम्म कार्यक्रम हुनेछ ।

तामाङ समाज पोर्चुगलको आयोजनामा यही आउँदो फेब्रुअरी ११ तारिखमा चर्चित गायकद्वय रोज मोक्तान र विजय लामाको साथमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी सोनाम ल्होछार साँझ-२०२४ को आयोजना गरेको छ ।

नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमलाई दुई चरणमा मनाउने तयारीमा लागिरहेको समाजकी उपाध्यक्ष अस्मिता घिसिङले जानकारी दिइन् ।

‘विगतका वर्षहरू भन्दा फरक ढङ्गले मनाउने तयारी गरिरहेको छ’‚ १६ फेब्रुअरी २०२४ शुक्रवारको दिन ल्होछार शुभकामना आदानप्रदान तथा शान्ति पूजा गर्नेछ‚ उनले भनिन्‚ ‘मिति २३ फेब्रुअरी २०२४ शुक्रवारको दिन सांस्कृतिक कार्यक्रम गरी मनाउदैछौं ।’

ल्होछारको सुरुको चरणमा नेपालबाट आमन्त्रित अनुसन्धानकर्ता एवं लेखक अजितमान तामाङले कार्यपत्र प्रस्तुत गर्नेछ । तामाङले ल्होछार के हो ? कसरी मनाउने विषयमा कार्यपत्रबाट प्रस्ट पार्ने आयोजक संस्थाका अध्यक्ष सुबास तामाङले जानकारी दिए ।

यो वर्ष हामीले ज्ञान र विचारलाई पनि समावेश गरी ल्होछार मनाउने तयारीमा जुटेको अध्यक्ष तामाङको भनाइ थियो ।

समाजका महासचिव आशिष मोक्तान तामाङका अनुसार दोहा कतारमा कार्यरत सम्पूर्ण तामाङ तथा गैर तामाङ ज्यो ज्यो आले नाना आङाहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा २८६० औँ सोनाम ल्होछार १६ फेब्रुअरीमा सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारको साथमा मनाउने तयारी गरिरहेको छ ।

तेलअभिव सहरको याद-हारुचिम-ST 15 EvE हलमा हुने कार्यक्रममा इजरायलवासी सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेका छन् ।

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । यो “ल्हो” परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्ब गर्दछ ।

तपाईको प्रतिक्रिया