उत्पीडनको कथामा जेलिएको मासिन्या

काठमाडौं

इतिहासको कालखण्डमा ‘मासिन्या’को बिल्ला भिराएर राज्यले कानुन बनाएरै तामाङ लगायतका अन्य जाति विरुद्ध मच्याएको आताङ्क र त्यसको शेष छिट्टाहरुलाई बिउ बनाएर आधुनिक शासकहकहरुले त्यसलाई निरन्तरता दिएको कथित उज्यालोभित्रको अध्याँरो खण्डको मञ्चन हो, नाटक मासिन्या । लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतको संयुक्त लेखन रहेको नाटकलाई बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेको छ । नाटक मण्डला नाटकघर थापागाउँमा माघ ११ गतेबाट मञ्चन हुँदै आएको हो भने माघ २८ सम्म मञ्चन हुनेछ । उत्पीडनहरुको इतिहास कहिल्यै कतै गौरवशाली हुँदैन । त्यसभित्र बर्बरता, भोक, रोग, शोक अत्यास लाग्दो वियोगका कथाहरु टुक्राटुक्रा गरी जोडिएका हुन्छन् । त्यसलाई खोज्नु, रोक्नु, जोख्नु र पस्कनु सर्जकहरुको कर्तव्य र दायित्व दुबै हो । त्यसो त पूर्खाको विरासातको कथालाई तामाङ राष्ट्रले डम्फू, सेलोे, ढ्याङ्ग्रो, छयोर्तेन आदिले बोक्दै यहाँसम्म लिएर आएको छ । त्यसैको आड भरोसामा अझै पनि बाँकी कथाहरु भन्दै, सुन्दै र हेर्दै जानु पर्नेछ ।

मासिन्याले तामाङ सभ्यता मध्येका एक अगुवाई बोन्बोको केरकारबाट कथा सुरु गरेर फ्याल्सब्याकमा पुर्‍याउँछ । च्याङ्बा र साङ्मोको प्रेमिल पलहरुलाई बुन्दै लग्दछ । त्यसमा जोडिँदै आएका पात्रहरु र लोकजीवनसँग गाँसिएका संस्कार, संस्कृति, गीत, संवाद्, जात्रा, खेतिपाति, घाँस, दाउराभारी आदिलाई लिएर अघि बढाउँछ । कथा क्लाइमेक्समा पुग्छ । त्यसपछि मूल पात्रहरु तिर्तरबित्तर हुन्छन् । अन्त्यमा पाल्मोको शरीरबाट साङ्मोको प्रेत आत्मालाई ‘च्याङ्बा… च्याङ्बा..’ बकाएर मासिन्यालाई सकाउँछ ।

नाटकले पचास र साठी दशक मध्यतिरको कथालाई ओकलेको छ । त्यति बेला देश युद्धमय थियो । त्यसैले त कथा त्यति पुरानो छैन । कथा पुरानो नभएर होला कथाका पात्रहरु अझै पनि तामाङ राष्ट्रमा विभिन्न स्वरुपमा यत्रतत्र भेटाउन सकिन्छ । यो अर्थमा नाटकले मासिन्या शब्दलाई शताब्दीऔँदेखि गढेको खिलको रुपमा स्थापित गर्न खोजिएको छ । जुन अझै निकालिएको छैन । राज्यको विभेदकारी कानुनहरु अझै पनि तामाङ लगायतका राष्ट्रलाई अप्रत्यक्ष रुपमा मास्नको लागि उद्दत देखिएकोले मासिन्या शब्द प्रतीकत्माक रुपमा सन्तुलित देखिन्छ ।

नाटकमा तामाङ भाषी र गैरतामाङ भाषी दुबैलाई सँगैसँगै लैजान सक्ने भाषीक सन्तुलन बेजोड छ । संवादहरु स्वभाविक लाग्छ । पात्रहरुको अभिनय जीवन्त देखिन्छ । परम्परागत संस्कार संस्कृतिको गज्जबको सज्जवाट देखिन्छ । डम्फू बजाएर र नाँचेर कहिल्यै नथाक्ने पात्रहरु अझै पनि तामाङ राष्ट्रमा प्रशस्त भेटाउन सकिन्छ । दृश्यको सिक्वाइन्समा गीत बगेको छ । पूर्खाप्रतिको समर्पणमा निर्माण भएका तामाङ सभ्यताका छयोर्तेनहरु आधुनिक विकासको तारोमा परेको दृश्यले बेचैन बनाउँछ । नेपालमा गाई र आदिवासी राष्ट्रहरुका बीच जर्बरजस्त विरुद्धको सम्बन्ध स्थापित गरेको छ । गाईले तामाङ राष्ट्रलाई राज्यको कठाघरामा उभ्याएर दण्डित मात्र बनाएको छैन बाहिष्करण पारेर थाँतथलोबाट उठीबास लगाएको छ । आदिवासीलाई तह लगाउने राज्यको सबैभन्दा ठूलो हतियार हिजो र आज निर्दाेष पशु गाई बनेको छ र भोलि पनि सायद बन्नेछ । त्यो झेलमा शान्त र सरल जीवनको लयलाई भत्काउन पल्केका वडा अध्यक्ष जस्ता पात्रहरुले खेल्ने दोहोरो चरित्रलाई नाटकले प्रष्ट पारेको छ । त्यससँगै राज्य–विद्रोहीकोे दोहोरो चेपमा च्यापिएको कथाले साझा नेपाली समाजको द्वन्द्वकालिन समयको कथालाई ताजा बनाएको छ । त्यति मात्र होइन विकासको नाममा राष्ट्रिय निकुञ्ज र नदिहरुमा हाइड्रो योजनाहरु अघि सार्दै पर्यावरणमैत्री भएर बाँच्ने आदिवासी राष्ट्रको थाँतथलो राज्यले खोस्दै बेघर बनाएको छ ।

नाटकमा थुप्रै दृश्यको सही तवरले अवतरण हुन सकेको छैन । सायद त्यसको उत्तर खोज्ने जिम्मा नाटकले दर्शकलाई दिएको हुन सक्छ । यस अर्थमा नाटकले दर्शकको बौद्धिकतालाई खोजेको हुनसक्छ । यद्यपि पछिल्लो समय राज्यको हरेक अङ्गहरुमा जवजस्त हस्तक्षेप र प्रतिरोध हुन सुरु भइसकेको छ । पढेलेखेका पुस्ता तयार भइसकेको छ । यस्तोमा मासिन्या मा मञ्चन भएको कथाले तामाङ राष्ट्रको मुद्दाहरुलाई लिएर धेरै अघि बढाउन सकिदैन । तामाङ लगायतका राष्ट्रले समयको कालखण्डमा भोगेको विर्सन लायक दमनको र रौइलोलाई भजाएर दुःखी बनाउँदै सहानुभूति बटुल्नु भन्दा ज्ञानको दायरालाई फराकिलो पार्दै प्रतिरोध गर्नु आजको आवश्यकता हो । कम्तिमा नाटकसँग जोडिएका दरिएका लेखहकहरु र निर्देशकहरुबाट त्यो आस बढी गर्न सकिन्थ्यो ।

अन्त्यमा मासिन्याले उत्पीडन तामाङ राष्ट्रभित्र लुकेको कथालाई उप्काएको छ । मसिनो छिद्राबाट भइरहेको आताङ्कलाई प्रतिरोध गर्न धारिलो हतियारमा शान लगाउँदै केन्द्रीय पात्र च्याङ्बाले भत्किएकोे जीर्ण छयोर्तेनको डिलबाट गरेको उदघोष आगमी दिनहरुमा हुने ताम्सालिङ प्राप्तीको आन्दोलनलाई एक्येबद्ध हुन मासिन्याले सघाउने कुरामा विश्वस्त हुन सकिन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका