अहिले म उमेरले ६९ वर्षमा लाग्दै छु । अङ्ग्रेजी संवत् लागि सक्यो (सन् २०२४) र ल्हो (ड्रागन) पनि फेरियो । अब विक्रम संवत् र जन्म मिति नजिकिदै छ । हो, म २०१२ सालको मान्छे। हाल मलाई फुर्सद्को अनुभूति हुन थालेको छ।
आज मभित्र मेरो लेखनका गोरोटाहरूलाई फर्केर हेर्ने विचार पलायो। वास्तवमा भन्ने नै हो भने मलाई परिचय दिने उल्लेखनीय पक्ष भन्नु नै मेरो लेखन हो । आजको मेरो व्यक्तिगत हैसियत पनि लेखनले गर्दा नै हो जस्तो लाग्छ । अहिले जसले जे जे भनेर पुकारे पनि ‘मेरा लेखन यात्रा’मा सिर्जेका कृतिहरू नै अब मेरो पहिचान हुन सक्दछ ।
आज म पाठकहरू माझ मेरो लेखन यात्रा केही विस्तारसँग सेयर गर्न चाहन्छु ।
हो, मेरो लेखन यात्रा कविताबाट सुरु भयो । ‘विरुवाहरूको सङ्घर्ष’ शीर्षक कविता पश्चिम बङ्गाल साप्ताहिकमा २०३७ मा प्रकाशित भएको थियो । यो नै मेरो पहिलो प्रकाशित रचना हो (रचनाकाल : २०७८.८.३) । पश्चिम बङ्गाल सरकारको यो मुखपत्र म्यागाजिन साइजमा दार्जिलिङबाट प्रकाशित हुन्थ्यो । म यस पत्रिकाको ग्राहक थिएँ । यो पत्रिका नेपाली भाषाका अतिरिक्त बङ्गाली, हिन्दी, अङ्ग्रेजी आदि भाषामा पनि प्रकाशित हुँदो हो । त्यतिबेला म कलकत्ता विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्दै थिएँ र हवडा जिल्लाको शिवपुरस्थित ‘रोयल बोटनिकल गार्डेन[1]’ नजिकै पश्चिमतिरको रङ्कल बस्तीमा सपरिवार बस्दथेँ ।
यही कविताको प्रकाशित पछि मेरो लेखन यात्रा प्रारम्भ भएको मान्नु पर्दछ । हुन त माध्यमिक तह (सन् १९७४-१९७५) मा अध्ययन गर्दादेखि नै ममा साहित्यमा रूची जाग्न थालेको थियो र गीत-कविता कोर्न पनि थालेका थिएँ । हिन्दी विषयका एकजना गुरू सस्वर कविता पाठ गरेर पढाउनु हुन्थ्यो । एकजना आफैँ पनि कवि थिएँ । म गुरूहरूको शिक्षण प्रतिभाबाट प्रभावित भएको थिएँ । प्रारम्भमा म हिन्दीमा लेख्ने गर्दथेँ- ती रचनाहरू अझै अप्रकाशित छन् । निम्न माध्यमिक विद्यालय तहदेखि स्नातक तहसम्म नै म हिन्दीको विद्यार्थी रहेँ ।
भारतको कोलकताबाट फागुन २०३७ मा आफ्नो मूलघर (तिल्पुङ, रामेछाप) हुँदै काठमाडौँ सहर पसेँ अनि कामको खोजीमा भौतारिँदै भौतारिँदै २०३८ जेठदेखि न्युलाइट साप्ताहिकमा सहायक सम्पादकको जिम्मेवारीसहित पत्रकारिता प्रारम्भ गरेँ । सम्पादक थिए- गोपाल गुरूङ जो पछि एउटा पार्टी खोलेर अध्यक्षसमेत बनेँ । समाचार लेखन र पुस्तक समीक्षाबाट मेरो कलम चल्न थाल्यो । तर बाइलाइनको आकर्षणले लागेको यो रहरे पेशाबाट जीवन चलाउन नसक्ने भएँ । अनि जीवनयापनको स्रोत खोज्दै छ महिनापछि म अन्य पेशातिर लागेँ (‘तिल्पुङे ठिटो’को दोस्रो खण्डमा विस्तृत जानकारी छ) ।
जीवनमा प्राथमिक शिक्षा जस्तै त्यो प्रारम्भिक छ महिनाको पत्रकारिता उपलब्धिमूलक भएको रहेछ । त्यो अवधिमा त्यस समयका आदिवासी जनजाति समुदायका सम्पादकहरू- घल राई (कोङपी मासिकका सम्पादक), तिलक राई (पारूहाङ मासिकका सम्पादक), गोपाल छाङ्छा (छहरा साप्ताहिकका सम्पादक), विश्वजीत किराती (युगध्वनि साप्ताहिक र अन्तर्वार्ता अर्ध-साप्ताहिकका सम्पादक) लगायतसँग मेरो भेटघाट र चिनजान भएको थियो । र, जल्दाबल्दा आदिवासी नेता र लेखकहरू जयबहादुर हितानमगर, सुरेश आलेमगर, वीर नेम्बाङ, खगेन्द्रजङ्ग गुरूङ, डा. हर्क गुरूङ, निर्मलकुमार लामा, आख्यानकार पारिजात दिदीलगायतसँग पनि परिचय स्थापित भएको थियो । पत्रकारितामा जोड्ने खुबी हुँदो रहेछ । कतिपयसँग म पछिसम्म पनि जोडिरहेँ ।
असोज २०३९ मा फ्रान्सका एउटा अनुसन्धान टोलीसँग म पश्चिम नुवाकोटको साल्मे गाउँ पुगेँ । त्यहाँको जीवनयापन देखेर मलाई निकै अचम्म लाग्यो । म आफ्ना छरछिमेक र नातागोताको गाउँघरभन्दा टाडोको अर्को तामाङ गाउँ पुगेको थिएन । ती सबै तामाङ गाउँघर एक दिनको दूरीमा पर्दछ । पूर्वको तामाङसँग यहाँको भाषा, संस्कार-संस्कृति आदि धेरै विषयमा निकै फरक लाग्यो ।
हाम्रो अध्ययन अनुसन्धान टोली दिनहुँजसो स्थानीय समुदायसँगै लेक धाउँथ्यौँ । लेकमा उनीहरूको खेतीपाती हुँदो रहेछ । हाम्रो उनीहरूसँग खेतीसंस्कृतिको बारेमा कुराकानी हुन्थ्यो । घाँस दाउरा त्यहीबाट ओसार्दो रहेछ । आवत जावत लामलस्कर हुँदो रहेछ- कमिलाको ताँती जस्तै । दसैँ तिहारको सिजन थियो त्यो । म एक महिना जति त्यहाँ रमाएँ । मेरो काम दोभाषेको थियो । पछि काठमाडौँ फर्केपछि सम्पादक घल राईसँग यो कुरा सेयर गर्दा उनले लेख्न आग्रह गरेँ । फागुन २०३९ मा कोङपी मासिकमा ‘नुवाकोट जिल्लाका तामाङहरू : एक अवलोकन’ शीर्षकमा मेरो लेख प्रकाशित भयो । यो नै मेरो पहिलो लेख हो । यसपछि खोजमूलक र अनुसन्धानमूलक लेखनमा मेरो रूची जाग्न थाल्यो । अहिले फर्केर हेर्दा यस प्रकारका पाँच दर्जन जति लेख विभिन्न पत्रपत्रिका र जर्नलहरूमा प्रकाशित भइसकेको रहेछ ।
यसपछि रामेछाप जिल्लाको पिङखुरी गाउँका शिक्षण गर्दा थाहा भयो त्यहाँका तामाङहरूले माझी जातिलाई ‘ग्यागार’ भन्दा रहेछन् । म सानैदेखि ‘ताम्बा काइतेन व्हाइ रिमठिम’ पढ्ने गर्दथे र सो पुस्तकको ठाउँठाउँमा ‘ग्यागार’ शब्दको प्रसङ्ग आउँछ । यसोसले मलाई ‘ग्यागार’ शब्दबारे चासो रह्यो र फागुन २०४० मा ‘ग्यागार’ (माझी, मधेस र भारत पनि) शब्दको अध्ययन विश्लेषण गरेर ‘ग्यागार शब्दको अर्थ र सन्दर्भ’ शीर्षक लेख तयार गरेर गर्जन साप्ताहिकमा प्रकाशित गरेँ । अहिले हेर्दा तामाङ भाषाको अध्ययन विश्लेषण गर्ने चासो यसै लेखबाट सुरु भएको रहेछ ।
अनि मित्र प्रताप बलले २०४८ देखि विभिन्न भू-क्षेत्रमा तामाङ भाषाको सङ्कलन गरेर तामाङ सुङरापको (नेपाली-तामाङ) श्रृङ्खला सुरु गरेँ । उनी तामाङ भाषा सिक्न निकै उत्सुक थिए । सो पुस्तकको सम्पादन मैले गर्नु पर्यो । सोही क्रममा तामाङ जाति र तामाङ भाषाबारे जानकारी दिने उद्देश्यले मैले एउटा लामो लेख तयार गरेँ- ‘तामाङ जाति र भाषा : एक चर्चा’ (२०४८) । भाषाको क्षेत्रमा मेरो यो दोस्रो लेख थियो ।
यसपछि मेरो लेखनले भाषाको अध्ययन अनुसन्धानको क्षेत्रमा निरन्तरता पाउन थाल्यो । पछि मैले भाषाको क्षेत्रमा धेरै काम गर्नु पर्यो र भाषाविज्ञानको विद्यार्थी पनि बनेँ । एकजना भाषाविज्ञानका विद्यार्थी र भाषिक मानवअधिकारका अभियन्ताका हैसियतले हालसम्ममा भाषा, भाषाविज्ञान, बहुभाषिक शिक्षा, भाषिक मानवअधिकार आदि क्षेत्रमा एक सयको हाराहारीमा मेरा लेखहरू प्रकाशित भएका रहेछन् (हे० तामाङ सन्दर्भ ग्रन्थकोश, २०८०) ।
अब म यहाँ तामाङ भाषामा लेखनको प्रसङ्गलाई पनि जोड्न चाहन्छु । साथीहरूसँग मिलेर जेठ २०४५ मा स्योम्हेन्दो मासिक सुरु गरेँ । यो मूलतः तामाङ केन्द्रित पत्रिका थियो- सानो डिमाइज साइजमा ८ पृष्टको । प्रेसको भाषामा भन्नु पर्दा आधा फर्माको । देशको कुना काप्चामा समेत ‘एक भाषा एक भेष’ नारा गुञ्जी रहेको र ‘नेपाली भाषा मात्रै बोल्न र लेख्न पाउने’ पञ्चायती व्यवस्थामा तामाङ पत्रिका प्रकाशन गर्नु कम चुनौतीपूर्ण काम थिएन । साथी र आफ्नतजनहरू माझ मात्र स्योम्हेन्दो वितरण हुन्थ्यो । पृष्ठको सीमितताले गर्दा यहाँ तामाङ भाषाका गीत, कविता र सासाना लेखआदि मात्र प्रकाशित हुन्थ्यो । अहिले त तामाङ भाषामा लेख्नेहरू पाउन गाह्रो छ भने त्यत्तिबेला झन कति गाह्रो थियो होला भनेर अनुमान गर्न सकिन्छ । साथीहरूलाई कनिकुथी लेख्न लगाएँ र म आफैँ पनि लेख्न भिडेँ । तामाङ भाषामा गीत, कविता र लेखादि लेखेँ । यो पत्रिका नियमित अनियमित हुँदै जम्माजम्मी २३ अङ्क प्रकाशित भयो ।
स्योम्हेन्दो पत्रिका मार्फत् लेखन सुरु गरेको मेरो तामाङ लेखनलाई फर्केर हेर्दा हालसम्ममा आधा दर्जन जति तामाङ साहित्यिक कृतिहरू (कविता सङ्ग्रह, लेख, कथा, नाटक, उपन्यास) प्रकाशित भएका रहेछन् । मैले एकभन्दा धेरै ठाउँमा लेखिसकेको पनि छु कि ‘मेरो लेखन अभाव वा ग्यापको परिपूर्ति मात्र हो’ भनेर ।
तामाङ साहित्यको आकासमा आधुनिककाल प्रारम्भ भएका डोबहरू पनि स्योम्हेन्दोमा देख्न सकिन्छ । एक अङ्क मात्र निस्कने तामाङ पत्रिकाको परम्परालाई पनि यसले भङ्ग गरेको थियो- हिन्दी कवि जायसीले भने जस्तै ‘देखनमे छोटा लागे घाउ करे गम्भिर’ । प्रारम्भमा सानो आकारको यस पत्रिकाले तत्कालीन सत्तालाई चुनौती दिएको थियो । तत्कालीन सत्ताका भाषिक मान्यताहरू उल्लङ्घन गरिएको थियो । यसका अरू केही सबल पक्षहरू यसै लेखमा कतै उल्लेख गर्नेछु ।
न्युलाइट सप्ताहिकमा सिकेको सीप र सम्पादक घल राईसँगको सङ्गत र हुटहुटीले फागुन २०४० देखि मैले आफ्नैँ सम्पादन र प्रकाशनमा गर्जन साप्ताहिक समाचारपत्र काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट दर्ता गरेर छाप्न प्रारम्भ गरेँ । आफ्नै सम्पादन र प्रकाशनमा निस्कको यो मेरो पहिलो समाचारपत्र हो । दुर्इ वर्षजति आफैँले हाँके पनि । पञ्चायती सत्ता र सरकारको आलोचना गर्यो भनेर मुद्दा पनि धेरै खेपेँ । आफैँबाट प्रकाशन खर्च धान्न नसक्दा अन्य धेरैले यस सप्ताहिक माथि घोडा चढे (त्यसताका साप्ताहिक पत्रपत्रिकाको दर्ता सहज थिएन) । २०४५ देखि स्योम्हेन्दो मासिक पत्रिकाको पनि सम्पादन प्रारम्भ गरेँ जसको चर्चा माथि गरिसकेको छु । यसैगरी असार २०४७ तिर तामाङ भाषामा नै याम्बु साप्ताहिक पनि सुरु गरेँ । तामाङ भाषामा समाचारपत्रको प्रकाशनको अभ्यासको थालनी यस मार्फत् प्रारम्भ भएको थियो । तीन दर्जन अङ्क प्रकाशित भएको हुनसक्छ । प्रारम्भमा दुर्इ पृष्ठको यो साप्ताहिक जागरूक युवाहरूको सक्रियता रहेको थियो । स्वाभाविक रूपले यसलाई पनि निरन्तरता दिन सकिएन । स्योम्हेन्दोले जस्तै गरी तामाङ भाषाको मानक स्थापना गर्न र सिर्जनात्मक सामग्री प्रकाशन गर्न यसले पनि सघाएको थियो ।
कोङपीको प्रकाशन बन्द भइसके पछि आदिवासी जनजाति सवाललाई मुखरित गर्ने ध्येयका साथ कइरन मासिक असार २०४८ देखि सम्पादन र प्रकाशन गर्न थालेँ । पञ्चायत कालको अन्त्य भएर प्रजातन्त्रको पुनर्स्थापना भइसकेको परिवेश थियो तर पनि सांस्कृतिक आतङ्कवादले निरन्तरता पाइरहेको थियो (कइरनको पहिलो सम्पादकीयमा नै लेखेको थिएँ- ‘सांस्कृतिक आतंकवाद अझै हटेको छैन’) जसरी आज गणतन्त्र स्थापनापछि पनि देशमा नश्लवादीहरूको निरन्तरता रहेको छ । आज जस्तै ती समयमा पनि आदिवासीहरू माथि बर्बर आक्रमण हुन्थ्यो । अपमानित व्यवहार र अभिव्यक्तिहरू सार्वजनिक भइ रहन्थ्यो । अनि नश्लवादीहरूको पक्षमा उभिनेहरू पनि हाम्रै आदिवासीहरू नै हुन्थे ।
आदिवासी जनजातिहरूको सवालहरू खरो र दरोसँग उठ्ने गरेको हुनाले जनस्तरमा कइरन मासिकको भव्य स्वागत भयो । तर, यसले पनि १३ अङ्कसम्म मात्र जीवन्तता पायो । कान्तिपुर दैनिक जस्ता राष्ट्रिय स्तरका पत्रिकाले आफ्नो ओपेडमा नै तीन-चार हजार शब्द खर्चेर कइरनका सम्पादकलाई झुन्डाउनु पर्छ जस्ता आसयका लेख छापे पछि कइरन सम्पादकले त्यस लेखको सामना गर्ने आँट गरेन । कतैबाट प्रतिरक्षाको आवाज पनि उठेन । त्यस बेला लाहुर्निप जस्ता संस्था र अधिवक्ता शंकर लिम्बू वा डा. कृष्ण भट्टचन जस्ताहरू परिदृश्यमा कोही थिएनन् । त्यति बेलाका आदिवासी सङ्घसंस्थाहरू आ-आफ्ना डम्फू बजाउनमा र घोचपेचमा नै व्यस्त हुन्थे ।
पञ्चायतकालमा कोङपी र प्रजातन्त्र पुनर्स्थाना कालमा कइरन पछि आदिवासी जनजातिको पक्षमा आवाज घन्काउन सक्ने कुनै पत्रिका देखा परेन भन्ने लाग्छ । यस पछिका अवधिमा ‘जनजाति विकास समिति’ र ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ जस्ता सरकारी संस्था पनि बनेका हुन् ।
जे भए पनि मेरो लागि खुसीको कुरा के हो भने पछिल्ला दिनहरूमा म पूर्वतिर पुग्दा त्यतातिरकाहरूले मलाई ‘कइरन’ भनेर चिन्दा रहेछन् । डा. केशव शाक्य लगायतकाहरू मलाई भेट्दा भन्ने गर्दछन् कइरन त रुकुम, रोल्पा र डोल्पाका सुदुर दुर्गम गाउँहरू समेत पुगेका रहेछन् ।
छापा पत्रपत्रिकामा मात्र होइन रेडियो नेपाल जस्तो श्रव्य-सञ्चारका माध्यममा रहेर मैले दुर्इ वर्ष जति तामाङ भाषाको समाचार सम्पादन र वाचनको प्रारम्भ गरेको छु।
सम्पादन गर्ने सिप र आँट देखेर होला पछिल्ला विभिन्न सङ्घ संस्थाले आआफ्ना पत्रिका र स्मारिका आदिको सम्पादन गर्ने जिम्मेवारी मलाई दिने गर्दथे । यसरी गणना गरेर हेर्दा मैले एक दर्जन जति पत्रपत्रिका र स्मारिका आदिको सम्पादन गरेको रहेछु। ती सबैसँग मेरो अनुभव र अनुभूति गाँसिएको छ ।
वास्तवमा भन्ने हो भने पञ्चायत कालमा नेपाली पत्रकारिताको मूल मन्त्र मिसन पत्रकारिता थियो । एउटा मिसन पुरा भएपछि बन्द पनि हुन्थ्यो । २०४६ सम्मको हाम्रो मिसन निरङ्कुश पञ्चायती व्यवस्थालाई ढालेर प्रजातन्त्र पुनःस्थापना गर्नु थियो । यसपछिका मूलधारका नेपाली पत्रकारिता आ-आफ्ना शैलीका समाजवाद निर्माणतिर उन्मूख छन् । तर, कइरन पछिका आदिवासी पत्रकारिता कता गए ? यो महत्त्वपूर्ण प्रश्न हुन सक्छ । हो, आदिवासी जनजातिहरूले नेपालका सांस्कृतिक आतङ्कवादलाई राम्रोसँग ठम्याउन सकेका छैनन् भन्ने लाग्छ । अर्कोतिर मातृभाषी सम्पादकहरूले थालेका संस्था आदिवासी सम्पादक मञ्च पनि मातृभाषा बोल्न लजाउने पत्रकारहरूले ‘हाइज्याक’ गरेर नश्लवादीहरूकै वरिपरि झुमिरहेको पनि देख्न सकिन्छ ।
सारमा भन्नु पर्दा मैले कोङ्पी पत्रिकाको बिडो थाम्दै आदिवासी पहिचान उजागार गर्न कइरन मासिकको सम्पादन थाले र तामाङ पहिचानलाई उजागार गर्न स्योम्हेन्दो लाई निरन्तरता दिइ रहेँ । भाषाको उठान गर्न याम्बु साप्ताहिक प्रकाशन गरेँ । आफ्नै स्रोतसाधनले थेक्न नसक्दा र राज्यको हस्तक्षेप भइरहँदा मलगायतका इमान्दार सम्पादकहरूले चलाएका आदिवासी पत्रकारिता दिगो हुन सकेनन् । कतै समात्ने लहरा र कतै टेक्नो टेको नहुँदा म शिक्षक, प्रशिक्षक, विकासे लगायतका पेशातिर उन्मूख हुँदै मेरो परिवारिक जीवन धानेँ । जेजसरी भए पनि लेखनलाई केन्द्रमा राखेँ ।
मैले यहाँ पत्रकारितालाई किन जोड दिएँ भने नेपालमा पत्रकारिता नै लेखनको प्रारम्भिक विन्दू हो । लेखनको प्रारम्भ र अभ्यास नै पत्रपत्रिका र पत्रकारिता पेशाबाट हुन्छ । मेरो लेखन यात्राको जग पनि पत्रकारिता नै हो । तामाङ वाङ्मयका अधिकांश स्रष्टाहरू पत्रकारिताबाटै यता छिरेको देख्न सकिन्छ ।
पत्रकारिता हतारिएको साहित्य हुनाले यहाँ ठोस लेख्नुभन्दा पनि पृष्ठ भर्ने उद्देश्यले सम्पादकहरू हत्तारिएका हुन्छन् । प्राज्ञिक लेखनभन्दा पनि आमपाठकलाई तत्काल सूचना सम्प्रेषण गर्नु नै उसको मुख्य ध्येय हुन्छ । मेरो अधिकांश लेखन पनि यसै रोगले ग्रस्त देखिदो रहेछ, देखिन्छ । कतिपय ठाउँमा लेखन चिप्लिएको पनि छ र प्राज्ञिकता खुइलिएको पनि छ । पत्रकारिताको मूख्य विशेषता भनेको घटना र विचारको तत्काल सम्प्रेषणका साथै अभिलेख तयार हुनु हो जो युगौँ युगसम्म बाँची रहन्छ ।
यहाँ मैले मेरा प्रारम्भिक लेखनका परिवेश, आधार र स्रोतहरू खोलेको छु । म कविता सिर्जना गर्दै अनुसन्धानमुलक लेखनतिर उन्मुख हुँदै सम्पादन-प्रकाशनतिर प्रवेश गरेको देख्न सकिन्छ । वास्तवमा पत्रकारिक लेखन र फुटकर लेखन नै मेरा कृतिहरूका आधार स्तंभ पनि हुन् । यी मेरा लेखन यात्राका प्रारम्भिक बिन्दुहरू हुन् ।
माघ २३, २०८०
बौद्ध, काठमाडौँ
[1] हाल यसको नाउँ ‘आचार्य जगदिश चन्द्र बोस इन्डियन बोटानिकल गार्डेन’ भएको रहेछ ।