तामाङ ल्होछार र यसको पृष्ठभूमि

काठमाडौं

पृष्ठभूमि

प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणहरुमा पञ्च बुद्ध प्रकट हुनुभयो ।

यसपछि विश्वभू बुद्ध आएर स्वयम्भू ज्योतिको दर्शन गर्नुभयो । उहाँले नै त्यस नागदहको जल बाहिर निकाल्न सकिने बाटो बताउनु भयो । साथै यहाँ चाँडै मानव सभ्यता र संस्कृतिको विकास हुने धोषणा गरेर फर्कनु भयो । यसैगरी महाचीनबाट आफ्ना शिष्यसहित महामञ्जुश्री आएर कात्तिक शुक्ल पूर्णिमाको दिन स्वयम्भू ज्योतिको दशर्न गर्नुभयो ।

दहको पानी निकालिए पनि नागहरु यहाँ बसुन् भनी टौदह, धनदह र द्धासा तीर्थको सिर्जना गर्नुभयो । अनि उहाँले उपत्यकामा मञ्जुपत्तन नामक शहर बसाई धर्मकरलाई राजा बनाई दिनु भयो । मञ्जुश्रीले नै यसपछि बनेको नेपाल खाल्डोमा मानव सभ्यता र बौद्ध संस्कृतिको स्थापना गर्नुभयो भन्ने कुरा स्वयम्भू पुराणमा उल्लेख गरिएका छन् ।

जातीय अवधारणा

यही पृष्ठभूमि उल्लेख गर्दै बौद्ध धर्मावलम्बी तामाङ समुदायले आफूलाई बोधिमहासत्व मञ्जुश्री सँगै उपत्यकामा आएका शिष्यहरुका सन्तान हौँ, उपत्यकाका आदिवासी हौँ भन्ने दाबी गर्ने गरेका छन् । त्यसैले यिनीहरु आफ्ना गुरु र पूर्खा महामञ्जुश्रीको स्मरण गर्दै हरेक वर्षको माघ शुक्ल प्रतिपदाको दिन आफ्नो घर आँगन, गुम्बाका साथै पहाड पर्वतका थुम्काहरुका मञ्जुश्रीको प्रतीक खडग (राल्डि)को गजुर राखी धार्मिक भण्डा (लुङ्दर) ठड्याएर वसन्त उत्सव आरम्भ भएको उपलक्ष्यमा नववर्ष अर्थात् ल्होछार शुरु भएको घोषणा गर्दछन् ।

तामाङ समूदायले मान्ने गरेको यसपटकको नववर्ष मञ्जुश्री तामाङ सम्वत् २८६० पञ्च तत्वगत स्वभाव काठ र वर्ष ड्रयागन (मुपुख्रि) पर्न गएको छ ।

वर्ष (वर्ग) परिचय र महत्व

तामाङ समुदायले मनाउने वर्षहरुले १२ वटा पशुपन्छीको प्रतिनिधित्व गरेका पाइन्छन् । तिनमा क्रमशः मुसा, गोरु, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेँडा, बाँदर, चरा, कुकुर र सङ्गुर पर्दछन् । (हेर्नुहोस : तालिका १)

उल्लेखित १२ पशुपन्छीका प्रतीक स्वरुप रहेका वर्ग (वर्ष)हरुको प्रतीकात्मक र पञ्चतत्वगत आगो, माटो, धातु, पानी र काठ स्वभावहरु हुने गर्दछन् । यिनै दुबै आधारहरुलाई लिएर उनीहरु आफ्नो वर्ष गणना, स्वभावको अडकल, संस्कार सम्पन्न र नव कार्यहरुको थालनी गर्दा धर्मगुरु वा लामा पुरोहितसित सरसल्लाह गर्ने गर्दछन् । यसो गर्दा उनीहरु चिनीया प्राचीन ज्योतिष पद्दतीको चन्द्र पात्रोको अवलम्बन गर्ने प्रचलन रहेको छ । यसका अतिरिक्त १२ पशुपन्छीहरुको वर्ग (वर्ष) (हेर्नुहोस : तालिका २) र पञ्च तत्वगत स्वभावहरु मिलाउँदा (हेर्नुहोस : तालिका ३) मित्र वर्ग भए राम्रो हुने र शत्रु वर्ग भए नराम्रो हुने तामाङ समुदायको धार्मिक मान्यता रहेको पाइन्छ ।

ल्होछारको प्रारम्भ

तामाङ समुदाय परम्परागत रुपमा सौर्य पात्रो अनुसार माघेसंक्रान्तिदेखि नै नववर्ष फेरिएको अर्थात् ल्हो धोबा भनेर पर्व मनाउन थाल्दछन् । उनीहरु पुसको अन्तिम दिनको साँझपख कन्दमुल र फापरको रोटी उसिन्ने गर्दछन् । संक्रान्तिको दिन उनीहरुका घरमूली वा महिला पानी पँधेरो रहेको ठाउँमा गएर नुहाई, पाठपूजा गरी, चोखो पानी ल्याएर कुलदेवता र भगवान बुद्धलाई चढाउने गर्दछन् ।

यसपछि सपरिवारले आफ्नो कुलदेवता र भगवान बुद्ध, पद्यसम्भव, महामञ्जुश्री लगायतका बोधीसत्वहरुलाई ढोग गर्दछन् । अनि परिवारका प्रत्येक सदस्यले ढोग थापी टिका लगाएर आर्शिवाद मोलम (हेर्नुहोस् मोलम) लिने गर्दछन् । यसपछि विशेष रुपमा तयार पारिएका कन्दमूल र आलु जस्ता खाद्यपदार्थ एकै ठाउँमा बसी खाने गर्दछन् । त्यसपछि गाउँघरमा रहेका अन्य मान्यवर कहाँ गएर ढोग गरी आर्शिवाद लिने गर्दछन् ।

बालबालिकाहरु घरदैलोमा पुगी ‘आलुम पउ माम, गेङ पउ माम/पानी रोटी – बाबर रोटी देउ…’ भन्दै माग्ने, दिएपछि ढोग गर्ने र आर्शिवाद लिने गर्दछन् । त्यही साँझ कुलायन भाइ, छोरीज्वाइँहरुसँगै बसेर जाँडरक्सीका सँगै खानपिन गर्दछन् । खानपिनपछि भने डम्फु बजाएर दुःखसुखका सेलो गीत गाउँछन् , डम्फू, म्हेन्दोमाया, घोडा, भाक्पा, लामा र स्याब्रु लगायतका नृत्य पनि गर्ने गर्दछन् ।

यसरी कुल कुटुम्बलाई बोलाएर अनिवार्य रुपमा खुवाउने कार्यक्रम तामाङहरुमा माघ महिनाभर चल्दछन् ।

माघ शुक्ल प्रतिपदा धार्मिक ल्होछार

चीनिया ज्योतिष पद्दति र चन्द्र पात्रोअनुसार तिथिगत रुपमा तामाङ समुदाय माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष फेरिएको मान्दछन् । यस दिन यिनीहरु आ-आफ्ना गाउँमा रहेको घ्याङ (गुम्बा)मा भेला हुन्छन् । भगवान बुद्ध र उनका शिर्ष अनुयायी अवलोकेश्वर, पद्मसम्भ, बज्रसत्व, मञ्जुश्री लगायतका स्मरण र पूजन गर्दछन् । आफ्ना पुरोहित लामाबाट दीप प्रज्वलित गर्दै मानव र विश्वशान्तिको कामना गर्दै नववर्षले सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने वरदान नयाँ वर्ष फेरिएको प्रतिकको रुपमा धार्मिक झण्डा लुङ्दर (ध्वजा) राखी चम्पा पीठो आकाश तर्फ उडाउँने प्रचलन पनि रहेको छ ।

यसरी धार्मिक ध्वजा उभ्याउँदा लामा पुरोहित र उपस्थितिजनले ‘चम्पा’को पीठो तीन पटक आकाशतर्फ उडाउने गर्दछन् । यसरी उडाउँदा उनीहरु ‘राक्षसहरुको अन्त्य होस्’ देवताहरुको विजय होस्, अनिकाल हटोस्, सहकाल आओस्, दुःख, दशा, रोग, अशान्ति नहोस्, सुख शान्ति र दीर्घायु रहोस् भन्ने बौद्ध वेद अनुसार मन्त्रोच्चारण गर्दछन् ।

प्राचीनकालमै यसरी नेपाल उपत्यकामा महाचीनबाट प्रवेश गरेको बौद्ध धर्मावलम्बी तामाङ समुदायले आफ्नो धार्मिक एवं सांस्कृतिक चाडको रुपमा तामाङ समुदायले आफ्नो धार्मिक एवं सांस्कृतिक चाडको रुपमा नयाँ वर्षलाई भव्यताका साथ लिच्छवीकालसम्म मनाउने गरेका भएपनि मल्ल र शाहकालमा एकछत्र रुपमा हिन्दू धर्मले राज्यगत मान्यता र संरक्षण पाउँदा यसको अवस्था लोपोन्मुख भएको हो । तर, २०४६ पछि तामाङ संस्थाहरुले यस चाडलाई पुनः ब्युँत्याए । मनाउन थाले थिए । २०५१ सालमा राज्यबाट मान्यता भए पश्चात् यसको महत्व र प्रचलन व्यापक हुँदै आएको देखिन्छ । तामाङ जातिको माउ संस्था नेपाल तामाङ घेदुङ संघले हरेक वर्ष राजधानीको टुडिखेलमा भव्य रुपमा नव वर्ष अर्थात् ल्होछार पर्वको उपलक्ष्यमा बृहत्त कार्यक्रम मनाउँदै आइ रहेको छ ।

अन्तमा

जब भगवान बुद्ध स्वर्ग फर्कने बेला नजिक आयो । तब उहाँले सबै पशुपन्छीलाई आफूले पृथ्वी छोड्न पूर्व बोलाउनु भएको थियो । भनिन्छ, त्यतिखेर उहाँलाई विदाइ गर्न केवल १२ वटा पशुपन्छीहरु आइपुगे । उहाँलाई भेट गर्न एकपछि अर्को गरी क्रमशःआउने पशुपङ्क्षीकै नामबाट उहाँले वर्षको नामाकरण गरिदिनु भयो । जुन जुन पशुपन्छी वर्षहरुमा जुन जुन मानिसहरुको जन्म हुन्छ तिनैको चरित्र, व्यवहार, स्वभाव, गुण र जीवनशैली रहोस् भनेर पनि भगवान बुद्धले आर्शिवाद पनि दिनुभयो । यसै अवधारणा अनुसार ल्होछार अर्थात् नयाँ वर्ष मनाउने परम्परा बौद्ध सभ्यता भएका नेपाल, चीन, जापान, कोरिया, लावोस, भियतनाम, बर्मा, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, सिंगापुर, मंगोलिया, तिब्बत, हङकङ, भुटान, फिलिपिन्स र भारतलगायत देशहरुमा पशुपन्छीलाई समेत सम्मानित गरी सोनाम अर्थात् कृषकहरुको नयाँ वर्ष मनाउने प्रचलन रहेको छ ।

नोट : अघिल्लो वर्ष छापिएका सामग्री ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका