प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायलाई यस वर्ष पनि उधारो आश्वासन दिएका छन् ।
राष्ट्रिय सोनाम ल्होछार–२८६० डुक/मुपुख्री ल्होछार मूल समारोह समिति काठमाडौँद्वारा टुँडिखेलमा मनाउने ल्होछार सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै गत वर्ष यस कार्यक्रमलाई गर्ने भनिएको आर्थिक सहयोगलाई कर्मचारीतन्त्रले गर्दा त्यो सहयोग प्राप्त नभएको बताए ।
उनले भने, ‘गत वर्षका समस्यालाई पनि सम्बोधन गर्दै यस वर्ष पनि गत वर्षका जति नै सहयोग गर्छु । मन्त्रालयमा फाइल ल्याएर आउनु ।’
कार्यक्रम आयोजकले प्रधानमन्त्रीले गत वर्ष आर्थिक सहयोग सम्बन्धित मन्त्रालयमार्फत सिफारिस गरे पनि त्यो पाउन मन्त्रालय धाउँदाधाउँदै थाकेको बताएका छन् ।
यस्तै प्रधानमन्त्री दाहालले सङ्घीय मन्त्रिपरिषद् पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बनाउने पनि आश्वासन दिएका छन् ।
‘म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दै छु । अब सङ्घको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ’, उनले भने ।