हामी आजबाट नौ वर्षमा


२८६० सोनाम ल्होछार डुक ल्हो (मुपुख्री वर्ग) को शुभारम्भसँगै सैलुङअनलाइन डट कमले आठ वर्ष पूरा गरेको  छ । २८५२ ‘टे’ ल्हो (बाँदर वर्ग) कै दिन सैलुङअनलाइन डट कम को शुभारम्भ भएको थियो । सूचना प्रविधिले फट्को मारेसँगै नेपालमा पनि इन्टरनेटको पहुँच बढ्दै गइरहेको थियो । समयको यही प्रवाहलाई मध्यनजर गर्दै हामीले पनि डिजिटल अनलाइन प्लेटफर्ममार्फत् हाम्रा सामाजिक-सांस्कृतिक अभियान, ज्ञान उत्पादन र विचार निर्माण गर्दै हाम्रो आफ्नो छुट्टै भाष्य निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ सैलुङअनलाइन डट कम सुरु गरिएको थियो ।

सैलुङअनलाइन डट कमले यो आठौं वर्षको अवधिमा राष्ट्रिय राजनीति, मुलुकको अर्थराजनीतिक प्रणाली, धर्मनिरपेक्षता, पहिचानका मुद्दा, सामाजिक सांस्कृतिक, समानुपातिक र समावेशीताको मुद्दालाई आदिवासी विश्व दृष्टिकोणबाट बहस र छलफललाई अगाडि बढाएको छ । यसलाई अझ व्यापक र बृहत्तर बनाउँदै लैजाने हाम्रो सोच र प्रयास हो ।

यस क्षेत्रमा चुनौती बढी‚ अवसर कम पक्कै भएको छ तर समग्र पत्रकारिताभित्र अनलाइन पत्रकारिताको विश्वसनीयता र व्यवसायिकता बढाउने हाम्रो कोसिस रहि नै रह्यो ।

सामान्य प्रविधि र ज्ञानका साथ सुरु गरिएको अनलाइन अहिले प्राविधिक रूपमा परिष्कृत अवस्थामा छ । डिजाइन र आउटलुकमा समय अनुकूल परिमार्जन हुँदै आएको छ । डिजिटल प्लेटफर्ममा अहिले टेक्स सँगसँगै भिजुअल सामग्रीको आकर्षण बढ्दो छ । यसको लागि हामी निरन्तर प्रयासरत छौं ।  सैलुङअनलाइन डट कम स्वयंको प्रयासले मात्र यहाँसम्म आइपुगेको होइन । अनलाइनलाई यो उचाइमा ल्याइपुर्‍याउन धेरै सहयोगी हातहरूको योगदान रहेको छ  ।

त्यसैगरी अनलाइनको साजसज्जामा विकाससफ्ट टेक्नोलोजी‚ सन्जय तामाङ‚ लोगो डिजाइनमा कमल तामाङ, सामग्री निर्माण र प्रकाशन–प्रसारणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा धेरै शुभचिन्तकहरूको सहयोग रहेको छ ।

आगामी दिनमा अझै अनलाइन पत्रकारितालाई विश्वसनीय र पठनीय बनाउने हौसला हामीलाई दैनिक हामीसँग जोडिने पाठकबाट मिलेको छ । हामीलाई व्यक्तिगत रूपमा र आफ्ना व्यापार व्यवसायको विज्ञापन उपलब्ध गराई आर्थिक सहयोग गर्नुहुने व्यवसायीहरूको योगदान अतुलनीय छन् । यी आठ वर्षमा साथ, सहयोग र हौसला दिने आमपाठक, विज्ञापनदाता, सुभेच्छुक सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छौँ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका