न्युलाइट साप्ताहिक मार्फत् मैले पत्रकारिता सुरु (जेठ २०३८) गर्दा तामाङ सङ्घसंस्थामा तामाङ सेवा गुठी (२०३६) मात्र थियो । पुतली सडकमा गुठीको कार्यालय थियो- कुनै घरको दोस्रो तलामा । पदाधिकारीहरूसँग म भेटघाट गरिरहन्थेँ । यसपछि क्रमशः तामाङ युवा क्लब (२०३९), तामाङ भाषा तथा संस्कृति विकास समिति (२०४०) र नेपाल तामाङ कोकोम्हेन्दो सङ्घ (२०४६) देखा परे । तामाङ विद्यार्थीहरूले वनभोज कार्यक्रम गर्दै तामाङ विद्यार्थीको समिति (२०४६) को गठन गरेको थियो र त्यसै वर्षको अन्ततिर डम्फू समूह (२०४६) पनि देखा परेको थियो । मेरो अवलोकनमा त्यति बेलाका कतिपय यी संस्थाहरू एकार्कामा आरोप प्रतिआरोप र गुटबन्दीमा व्यस्त हुने गर्दथे ।
त्यस बेलाका सङ्घसंस्थाका पदाधिकारीहरूको विषेश चासो तामाङ इतिहास र लिपिमा हुन्थ्यो । तामाङबारे केही लेख्ने चासो देखाएमा हामी कहाँबाट आएका हौँ ? हाम्रो इतिहास के हो ? जस्ता कुटिल प्रश्न तेर्स्याएर हतोत्साहित गर्दथे । तामाङ भाषामा लेख्न रूची देखाएमा हाम्रो लिपि कुन हो ? कुन लिपिमा लेख्ने ? जस्ता प्रश्न तेर्साएर भाँचो हाली हाल्थे ।[1] आजभोलि टोन लेखन (Tone writing) को कुरा गरेर तर्साए जस्तै । यथार्थमा ती प्रश्नहरू ठालु प्रवृत्ति हुन्- आफूलाई केन्द्रमा राख्ने । र, पटक पटक म उनीहरूका कुटिल प्रश्नहरूको सिकार हुन्थेँ । आज पनि हाम्रा सङ्घसंस्थाका पदाधिकारीहरू यस्तै प्रश्न तेर्साएर केही गर्न उत्साहीहरूलाई निरूत्साहित गरिरहेका हुँदा हुन् ।
अन्ततोगत्वा म लगायत कही साथीले जेठ २०४५ मा ‘स्योम्हेन्दो’ मासिकको प्रकाशन थाल्यौँ । प्रकाशकमा ‘स्योम्हेन्दो थेत्मा’ नाम राखियो (‘थेत्मा’को अर्थ परिवार हुन्छ) । मासिक रूपमा तामाङ भाषा, साहित्य र सांस्कृतिक सामग्रीहरू छाप्ने, तामाङ साहित्यिक गोष्ठी गर्ने र विभिन्न नाममा छरिएर रहेका तामाङ संस्थाहरूलाई जोडेर एउटै संस्था नेपाल तामाङ घेदुङ स्थापना गर्न (२०४७) सक्रिय भूमिका निर्वाह गर्ने जस्ता[2] जिउँदा घटनाहरू ‘स्योम्हेन्दो थेत्मा’ ले गर्यो । यी तथ्यहरू स्योम्हेन्दो का विभिन्न अङ्कहरूमा दर्ज छन् । त्यसताकाका नेवार भाषाका ‘इनाम’ साप्ताहिक लगायतका पत्रपत्रिकामा पनि यी गतिविधिलाई खोज्न सकिन्छ ।
राष्ट्रिय जनआन्दोलन मार्फत् पञ्चायती व्यवस्थाको अन्त भएपछि चैत्र २६, २०४६ मा प्रजातन्त्रको पुनर्वहाली भयो । राजनीतिक परिवर्तन सँगै मेरा दुईवटा कृति चुसा हेन्छे (तामाङ भाषामा कविता सङ्ग्रह) र तामाङ सङ्ख्या प्रणाली (तामाङ गणना सम्बन्धी) माघ २०४७ मा प्रकाशित भयो । यी मेरा पहिला दुई कृति हुन् । पहिलोमा तामाङ भाषामा लेखिएका गीत तथा कविताहरू छन् । एउटा खण्ड काव्य भन्न सकिने लामो कविता पनि छ । दोस्रो कृतिले तामाङ गणना पद्धतिको सविस्तार प्रतिनिधित्व गर्दछ । गणनाको सन्दर्भमा यो कृति निकै उपयोगी सिद्ध हुन गएको छ ।
यसपछि मेरो पुस्तक लेखन कार्यले पनि निरन्तरता पाउन थाल्यो । मैले प्रति वर्ष जस्तै पुस्तक प्रकाशन गरेँ । विशेष गरी मैले तामाङ साहित्य, तामाङ भाषा, तामाङ व्याकरण र शब्दकोश, बहुभाषिक शिक्षा, आदिवासी पहिचान आदि विषयका कृतिहरू लेखेँ । जीवनयापनको स्रोत खोज्ने क्रममा म निकै धेरै क्षेत्रमा भौंतारिएको थिएँ- अहिले हेर्दा ती सबै क्षेत्रमा धेरथोर कलम चलाएको रहेछु । हालसम्ममा विभिन्न शीर्षकमा ५० वटा जति कृति प्रकाशित भइसकेका रहेछन् (हे० तामाङ सन्दर्भ ग्रन्थसूची, २०८०) ।
मैले मात्र होइन मेरा समकालीन साथीहरूले पनि धेरै पुस्तक लेखेका छन् । प्रताप बलले दुई दर्जन जति पुस्तक लेखेका छन् । पि. लामाले पनि एक दर्जन जति, लामा धर्मराज तामाङ, लामा टि. ग्याल्छेन र दुपवाङ्गेल मोक्तानले आधा दर्जन जति पुस्तक लेखका छन् । यसै गरी लादुराम तामाङ, ध्यानबहदुर मोक्तानले पनि एकभन्दा धेरै सङ्ख्यामा पुस्तक लेखेका छन् । तामाङ वाङ्मयलाई ह्वात्तै माथि उकास्नुमा उनीहरूको योगदान अद्वितीय देखिन्छ ।
मैले मूलतः तामाङ केन्द्रित भएर लेखेँ । लेख्नु अनिवार्य आवश्यकता जस्तै थियो मेरो लागि । परिवेश त्यस्तै सलबलार्इ रहेको हुन्थ्यो । त्यत्तिबेला तामाङ प्रकाशन शुन्यको स्थितिमा थियो । तामाङ कृति प्रकाशनको प्रारम्भ २०१३ सालमा भएता पनि २०४६ सम्ममा अर्थात् ३३ वर्षको अवधिमा १३ वटा मात्र तामाङ पुस्तकपुस्तिका निस्केको थियो । तीमध्ये ६ वटा पुस्तक त दार्जिलिङ र सिक्किमको देन रह्यो । र, त्यी सबै कृतिहरू लोकसाहित्यका हुन् । चुसा हेन्छेबाट तामाङ साहित्य आधुनिकतातिर उन्मूख भएको कुरा कतिपय समालोचकहरूले लेखेका छन् ।
मैले २०४७ देखि २०८० सम्ममा अर्थात् ३३ वर्षको अवधिमा ५० वटा पुस्तक प्रकाशित गरेको रहेछु । यत्ति धेरै कृति लेखन कसरी सम्भव भयो भन्ने जिज्ञासा कतिपयमा हुनसक्दछ । यो स्वाभाविक प्रश्नको सन्दर्भमा म सर्वप्रथम एउटा जोक राख्न चाहन्छु । एक पटक एउटा प्लेन र एउटा रकेट बिच उडान प्रतियोगिता हुँदा रकेटले बाजी मारेछ । पुरस्कार वितरण समारोहमा प्लेनले खुसुक्क रकेटलाई सोधेछ, ‘तिमी त्यत्ति छिटो कसरी उड्यो हँ ।’ अनि रकेटले ‘पुच्छरमा आगो लागे पछि तत्काल नउडी भो त’ भनेर जोवाफ दिएछ । देशमा राजनीतिक परिवर्तनको परिघटनाले मेरो पनि पुच्छरमा आगो लागे जस्तै भएको थियो- जहाँ पुगे पनि र जसले पनि तामाङ भाषा, साहित्य आदिको बारेमा के भइरहेछ भनेर कोही न कोहीले सोधी हाल्थे । जहिले पनि एउटै उत्तर दिन मलाई लाज लागथ्यो । त्यतिबेला बौद्धिक प्राज्ञिक क्षेत्रमा मानिसहरू सलबलाइरहेका हुन्थे ।
अब म यहाँ मेरा लेखनका चार मुलभूत सूत्र प्रस्तुत गर्न चाहन्छु । यी सबै सूत्रहरूका सूत्रधार हुन्- नेवाःभाषाविज्ञ काशीनाथ तमोट । त्यसताका उनी पाटन क्याम्पसमा नेवार भाषामा प्राध्यापक थिए ।
पहिलो सूत्र हो- धेरैभन्दा धेरै किताब लेख्नु : प्राज्ञ वैरागी काइँलाको अध्यक्षतामा जेठ २०५० मा ‘राष्ट्रिय भाषानीति तथा सुझाव आयोग’ गठन भयो । सो आयोगका ११ जना सदस्यहरूमा म पनि थिएँ । र, नेवाःभाषाविज्ञ काशीनाथ टमोट पनि थिए । उनी पाटन क्याम्पसमा पठाउनु हुँदो रहेछ र पर्चा धरी सङ्कलन गर्दा रहेछन् । उनीसँग मेरो निकटता बढ्यो । एक दिन हामी दुईजना चियागफ गरिरहेको समयमा उनले भनेका थिए- हेर्नोस् अमृत, पुस्तक धेरै लेख्नु पर्छ । पुस्तक ८-१२ पृष्ठको भए पनि हुन्छ। पुस्तक सूची लामो छैन भने देशका शासक-प्रशासकहरूले पत्याउँदैनन् । तामाङ भाषाले कतै ठाउँ नपाउन सक्छ ।
आयोग मातृभाषाहरूको लेखन परम्पराको वर्गीकरणमा गर्दै थियो । म तामाङ भाषालाई ‘लेख्य परम्परा उन्मुख भाषा’ को श्रेणीमा राख्न चाहन्थे तर उनीहरू लेख्य परम्परा नभएको भाषामा राख्न चाहन्थे । हुन पनि तामाङ भाषामा लेखिएका सामग्रीहरू शुन्यकै स्थितिमा थियो । तामाङ कृति एक दर्जन पनि थिएन । र, लेख्य परम्परा भएको भाषा हुनका लागि भाषाको मानकीकरण भएको र प्रयाप्त मात्रामा प्रकाशित सामग्री चाहिँदो रहेछ । दाबीको भरले थेक्दो रहेनछ । ‘लिम्बू भाषा लेख्य परम्परा भएको भाषा’ को श्रेणीमा राखिनुमा यहीँ आधारले काम गरेको थियो ।
आयोगको वर्गीकरणले झस्किएको मलाई पुस्तक धेरै लेखिनु पर्छ भन्ने कशिनाथ टमोटको जुक्तिले म निकै उत्साहित भए । अनि मैले लेख्न थालेँ । तामाङ भाषाको वर्ण पहिचान भइसकेको थियो। तामाङ लेखनमा मानकीकरणको काम पनि थालेँ। तामाङ शब्दकोश र तामाङ व्याकरण थिएन, जानी नजानि ती पनि तयार गरेँ । ती सामग्रीहरू प्रकाशित पनि भयो ।
आज हेर्दा तामाङ भाषाको मानक लेखन किन र कसरी ? (पृ. ८), तामाङ व्याकरणको प्रारूप (पृ. १६), तामाङ प्रतिभा (पृ. ८), तामाङ जाति र संस्कृति (पृ. ८), तामाङ साङग्युर सानस्युगो (पृ. २४), नेपाली–तामाङ शब्दावली (पृ. ३२), पहिचानको सन्दर्भमा रामेछापका तामाङहरू (पृ. १२) जस्ता एक दर्जन जति पुस्तिकाहरू[3] छापिएका रहेछन् । कुनै कुनै लामो लेखलाई नै पुस्तक बनाएर छापेको रहेछु ।
अनि तामाङ प्रकाशनको छलाङलाई देखाउन मैले दुईवटा पुस्तक तामाङ प्रकाशनको विकासक्रम (२०५५) र तामाङ भाषाको फट्को (२०६५) प्रकाशित गरेको रहेछु । यी दुवै ग्रन्थ प्रकाशनको मूल उद्देश्य तामाङ पुस्तकको आधारभूत जानकारीसहित तामाङ ग्रन्थसूची लामो देखाउनकै लागि थियो भन्दा पनि फरक पर्ने छैन ।
तामाङ प्रकाशनको फट्को विमोचनको क्रममा प्राज्ञ वैरागी काइँलालको भनाइ थियो- ‘छोटो अवधिमा नै तामाङहरूले यत्ति धेरै पुस्तक कसरी छाप्न सके ? यदि तामाङहरू कर्णाली अञ्चलका भएको भए यो कार्य सम्भव हुन्थ्यो त ?’ वहाँको निष्कर्ष थियो- काठमाडौँ उपत्यका वरिपरि तामाङ जातिको बाक्लो बसोबास हुनाले छापाखाना सँगको उनीहरूको पहुँच सहज हुन गएकोले हुन सक्दछ ।
यो कुरा म पनि स्वीकार्छु । काठमाडौँ हाम्रो लागि नजिकैको सुविधासम्पन्न विश्व स्तरको सहर मात्र होइन राजधानी सहर पनि हो । कर्णालीका तुलनामा तामाङहरूको पहुँच सहज र सुलभ छ । यस सहरले तामाङ समुदायलाई धेरै दिएको पनि छ र यसले धेरै कुरा लिएको पनि छ । ज्ञान गुणको पहुँचको सन्दर्भमा तामाङ जातिलाई कर्णालीलाई भन्दा धेरै सहज छ भन्नु नै पर्ने हुन्छ ।
अर्को, सरकारी संस्था पाठ्यक्रम विकास केन्द्र (पाविके), सानोठिमीले पनि मातृभाषामा पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न व्याकरण, शब्दकोश र लेखन परम्परा भएको मातृभाषालाई छनौटको आधार बनाइएको थियो । यसर्थ पहिलो खेप २०५३ बाट सुरु भयो र यस खेपमा तामाङ भाषा परेको थिएन । नेवाः भाषा, मैथिली, भोजपुरी, लिम्बू र अवधि भाषाले लेख्य परम्परा स्थापित भएको हुनाले पहिलो खेपमा नै ती भाषाहरूले मौका पाएका थिए ।
आज पनि तामाङ भाषाभन्दा कम वक्ता भएका भाषाहरूमा उच्च मावि, मावि र निमावि तहको पाठ्यपुस्तक बनी सक्ता पनि तामाङ भाषाले सो मौका पाएको छैन । सम्भवतः सो तहको लागि तामाङ भाषामा सामग्रीको विकास नभएको हुनसक्छ । यसै गरी प्रावि तहको बाल सन्दर्भ सामग्रीको तीन पुस्तकको सेट (…) पनि दर्जनौँ मातृभाषामा छापिसक्दा पनि सो सूचीमा तामाङ भाषा परेन । कस्तो दुखद् क्षण ! पाविकेले तामाङ भाषामा सामग्री तथा पाठ्यपुस्तक तयार गर्न तयार नहुनुमा दोषी को ? पर्याप्त मात्रमा भाषिक सामग्री तयार गर्न नसक्नुमा हामी पनि दोषी हुनसक्छ ?
यसै गरी नेपाल प्रज्ञा-प्रतिष्ठानबाट आधा दर्जन जति मातृभाषा (मैथिली, नेवाः भाषा, लिम्बू, भोजपुरी, अवधी र मगर) मा जर्नल छापी सक्दा पनि तामाङ भाषाले सो मौका नपाउनुमा कारण के हुनसक्दछ ? तामाङहरू पाँचौँ स्थानमा छौँ भनेर छात्ती पिटने तर सरकारले दिने सुविधामा तामाङहरू कतै पाँचौँ स्थानमा नदेखिनुमा हामीमा जागरूकता नभएर पो हो कि ? हाम्राहरूको पुच्छरमा आगो किन नलागेको होला ? यी विषयहरूमा हाम्रा तामाङ मिडियाले खोजपत्रकारिता गरेको देखिदैन ।
दोस्रो सूत्र- मातृभाषामा लेख्न जोड : तामाङ भाषामा लेख्नु पर्ने आधार सूत्र पनि टमोटजीकै हुन् । यस सूत्रले आफ्नै मातृभाषामा लेख्नमा जोड दिन्छ । यसो गर्दा मातृभाषाको विकास हुन्छ र साहित्यले उचाइँ लिन्छ । त्यत्ति बेला कतिपय तामाङहरू तामाङ भाषामा साहित्य रच्दैन थिए । कतिपय चाहिँ नेपाली भाषामा लेखेरै पनि तामाङ भएकै कारणले तामाङ भाषी साहित्यकार भन्न रुचाउँथे।
उनी किन नेवाः भाषामा मात्र लेख्छन् सोबारे टमोटजीले एउटा रोचक घटना सुनाएका थिए- “एक पटक म नेपाली भाषाको सम्मेलनमा गएँ । नेपाली हिज्जेको बारेमा निकै चर्काचर्की वहस भइरहेको बेला मैले पनि आफ्नो कुरा राखेँ । यसरी पटक पटक नेपाली लेखनमा हिज्जेको कुरा गरिरहनु भन्दा बरू करोडौँ रकम खर्च गरेर भए पनि एकै पटकमा महिनौँ वहस गरेर यो टुङ्याउनु राम्रो हुन्छ् ।” यत्ति सुनेपछि अध्यक्षले कट्केर रूलिङ गरे- “तपाई आफ्नो नेवारी भाषाको कुरा गर्नोस् । नेपाली भाषाको बारेमा नबोल्नोस् ।” “त्यस दिनदेखि हेर्नोस् अमृत, मैले नेपाली भाषामा लेख्नै छोडेँ ।” सायद यस्तै घटना हिमाल पत्रिकासँग संवद्ध दीपक थापासँग पनि भएको हुनसक्छ ।[4]
टमोटजीको कुराले मलाई निकै छोयो र मैले पनि तामाङ भाषामा नै लेख्न जोडदिन थालेँ । तामाङ भाषामा आधा दर्जन जति मेरा साहित्यिक कृति प्रकाशित भएका छन्- चुसा हेन्छे (२०४७), ङ्याउ ङ्याउ सुरि (२०६१), सेङजिला (२०६८), ह्युल्बाला क्याप्सुङछे (२०६९) आदि । मैले तामाङ साहित्यमा कलम चलाउन भ्याइरहेको छैन । तामाङ भाषाको हैसियत उठाने हो भने तामाङ भाषामा नलेखी धरै छैन । तामाङ भाषामा लेखन शैली र पठन सामग्रीको विकास अनि पर्याप्त मात्रमा साहित्य सिर्जनामा एउटा मानक स्थापित नगरेसम्म हामीलाई कसैले पत्याउने छैनन् ।
यसै सन्दर्भमा एउटा प्रसङ्ग जोड्न चाहन्छु । एउटा पुस्तक विमोचन समारोहमा मैले भनेका थिएँ- “गौतम बुद्ध स्वयंले विभिन्न स्थानीय भाषामा प्रवचन दिने गर्दथे । उनका चेलाहरू विभिन्न मातृभाषी थिए । मातृभाषामा सम्प्रेषण सहज हुन्छ भन्ने कुरा बुद्धले बुझेका थिए । बुद्धका सन्देश विश्वमा विभिन्न भाषामा अनुवाद भएका छन्- श्रीलङ्का, म्यानमार, कोरिया, जापान, चिन, तिब्बत आदि देशहरूका सैकडौँ भाषामा । बुद्धधर्मका अनुयायीहरू आ-आफ्ना भाषामा अनुवाद गर्न सक्रिय भए र छन् । तर, विडम्बना ! तामाङ भाषामा बौद्ध ग्रन्थहरू अनुवाद गरेका छैनन् । पाठ मूल भाषामा नै हुन्छ । हाम्रा लामाहरूले अनुवाद गरेनन् ।” यो कुरालाई बङ्ग्याएर एकजना खेन्पो महोदयले डेढ घण्टा बोले रे मेरो विरूद्धमा । एक दिन उनका चेलाहरूले मलाई टुसाल चोकमा घेराबन्दीमा पार्ने सम्मको दुष्प्रयास गरेका थिए ।
मातृभाषामा अनुवाद साहित्यको विकास नगरेसम्म कुनै पनि मातृभाषाको सपाङ्ग विकास सम्भव छैन । तिब्बती भाषा सम्पन्न हुनुमा बौद्ध धर्मग्रन्थहरू सो भाषामा दुरुस्त अनुवाद गरिनु नै हो ।
तेस्रो सूत्र- मातृभाषामा साझा कृतिहरूको प्रकाशन गर्नु : कुनै भाषा वा साहित्यको उचाइँको मापन गर्ने आधार हो- साझा कृति प्रकाशन । प्रायःजसो स्रष्टा वा लेखकहरूले आ-आफ्ना प्रकाशित सामग्रीको सङ्कलन र प्रकाशन गर्ने गर्दछन् । तर, विषय केन्द्रित भएर विभिन्न स्रष्टाहरूको सामग्री एक ग्रन्थमा सङ्कलन र प्रकाशन गर्ने कार्यको थालनी गरेको पाइँदैन । साझा कार्यले कुनै भाषाको सहित्यको उचाइँ मात्र बढाउँदैन, स्रष्टाहरूलाई एक ठाउँमा जोड्ने काम पनि गर्छ । पाठकले एकै ठाउँमा स्रष्टाहरूको विचार र अनुभूतिहरूको साक्षात्कार पनि गर्छन् र स्तरीय सामग्री पनि प्राप्त गर्न सक्छन् । टमोटज्यूको यो सूत्र पनि मलाई निकै जँच्यो । मैले स्याल्गार (नाटक सङ्ग्रह २०५२), ह्याङला व्हाइ (कविता सङ्ग्रह, २०६२), एचबिसि तामाङ न्हान (श्रव्य कविता सङ्ग्रह २०६२), तामाङ सेङराप (आख्यान सङ्ग्रह, २०६८), नेपालबाहिरका तामाङ वाङ्मय (वाङ्मय सङ्कलन, २०६९) गरी एक दर्जन जति कृतिको सङ्कलन तथा सम्पादन पनि गरेको रहेछु । वास्तवमै यी कृतिहरूले तामाङ वाङ्मयलाई चिनाउने कार्य गरेको छ । तामाङ भाषाले उचाइँ लिइरहँदा यस्ता कृतिहरूको सम्पादन तथा प्रकाशन कार्य अझै खट्की रहनेछन् ।
चौथो सूत्र हो- आफ्ना समुदायका पुस्तक सङ्कलन गर्नु : टमोटजीले तामाङसम्बन्धी पुस्तकादि सङ्कलनमा जोड दिए । यसबाट यथार्थपरक इतिहास लेखन गर्न सहयोगी हुने बताए । उनी बाटोका पर्चा समेत सङ्कलन गर्ने गर्दछन् । मैले उनको घरमा सङ्कलित पर्चा, किताब आदिको निकै ठुला ठुला भण्डार देखेँ । मैले पनि तामाङसम्बन्धी सबै खाले पुस्तक सहितको सामग्री सङ्कलन गर्न थालेँ- पुस्तक, पत्रपत्रिका, स्मारिका, पर्चा, अभिलेख आदि । म कुनै पनि सभा, समारोह, गोष्ठी, पुस्तक प्रदर्शनीमा पुगेर तामाङ सामग्रीहरू खोजी रहन्छु । तामाङ लगायतका आदिवासी समुदायका पुस्तकहरू एकै ठाउँमा र एकै समयमा पाउने वस्तु होइन । एक एक गरेर सङ्कलन गरिरहनु पर्छ । हाल मसँग भएका सामग्रीहरू वर्षौँदेखिको लगातारको प्रयासको परिणाम हो । थोपा थोमा मिलेर समुन्द्र भने जस्तै ।
पुस्तक सङ्कलन कार्यमा मेरा मित्र प्रताप बलले निकै सघाए । विशेष गरी भारतमा प्रकाशित पुस्तक र पत्रपत्रिकाहरू सङ्कलन गरिदिएर । उनले कतिपय अति दुर्लभ पुस्तकको फोटोकपी पनि तयार गरी दिएका छन् । हाल मसँग प्रायः प्रायः सबै प्रकाशित तामाङ पुस्तक, पत्रपत्रिका, स्मारिका, लेखरचना र पेपरहरू सुरक्षित छन् भन्ने लाग्छ । यी सामग्रीबाट मलाई साझा पुस्तक सम्पादन गर्न, ‘तामाङ ग्रन्थसूची’ तयार गर्न र यथार्थपरक लेख लेख्न निकै सहयोग पुगेको छ।
एउटा दुखद् घटना पनि म यहाँ उल्लेख गर्न चाहन्छु । काठमाडौँ नारायणस्थानका निर्मलकुमार लामाबाट प्राप्त २०३६ मा नै छापिएका तामाङ भाषाको पर्चादेखि तामाङसम्बन्धी तीन दर्जनजति पर्चा र पम्फ्लेटहरू द्वन्द्वकालमा नेपाली सेनाले काठमाडौँको घरघरमा पसेर सर्च गर्न थालेपछि आफ्नो सुरक्षाको लागि म आफैँले जलाएर नष्ट गर्नु परेको थियो । यसरी तामाङ वाङ्मयको इतिहास पोल्नु परेकोमा मलाई अझै बिस्मात लागि रहेछ ।
अर्को, कसैलाई पुस्तक दिँदा पनि निकै होस् पुर्याउनु पर्ने हुन्छ । नचिनेको वा कम चिनेको मानिसलाई हामी पुस्तक दिदैनौँ । पुस्तक दिने भनेकै आफ्नो नजिकको र चिनेका मान्छेलाई हो र पुस्तक नफर्काउने पनि उनीहरू नै हुन् । अति विश्वासले गर्दा यस्तो दुरघटना हुन्छ । कतिपय चाही मानिस चाही टार्नै नसकिने खालका पनि हुन्छ । आजभोलि मलाई पुस्तक फिर्ता नगर्नेभन्दा पनि दिनेहरू दोषी हुन् भन्ने लाग्न थालेको छ । कतिपय मेरा आफ्नै पुस्तक पनि मसँग छैन ।
तामाङ भाषा र साहित्यको विकासको लागि माथिका सूत्रहरूको अनुकरण गर्न आवश्यक ठान्छु । मैले लेखनको लागि सबैलाई अनुरोध गर्ने गरेको पनि छु । सङ्गठित ढङ्गबाट तामाङ प्राविधिक शब्द निर्माण र तामाङ भाषामा अनुवादको काम थाल्नु पनि आवश्यक छ । छरिएर रहेका सामग्रीहरूको सम्पादन र प्रकाशन गर्न पनि आवश्यक छ ।
गज्जबका यी चार सूत्र पछि दुईवटा लेखन-आधारबारे पनि उल्लेख गर्न चाहन्छु ।
१. भाषासम्बन्धी लेखन-आधार : विसं. २०४८, पुसको महिना । त्रिभूवन विश्वविद्यालय (त्रिवि)का एकजना विद्यार्थी जगन्नाथ उपाध्याय मलाई खोज्दै आइपुगेँ । सामान्य परिचय पछि उनी भन्न थाले- ‘म त्रिविको नेपाली केन्द्रिय विभागबाट नेपाली र तामाङ भाषाको व्यतिरेकी अध्ययन गर्दैछु । यहाँ मेरो तामाङ भाषा सूचक बसीदिन अनुरोध गर्न चाहन्छु ।’ मैले सकरात्मक जोवाफ दिएपछि उनले भोलि विहान त्रिवि जानुपर्छ भने ।
भोलिपल्ट विहान म उनीसँग उनका गुरूकहाँ पुगेँ । गुरू प्राडा. बल्लभमणि दाहाल हुनुहुँदो रहेछ- भाषावैज्ञानिक । मैले भाषाविज्ञान विषयको पुस्तक त देखेको थिएँ तर भाषावैज्ञानिकसँग मेरो भेट भएको थिएन । एकजना महिला पनि भाषावैज्ञानिक रहेछिन्- प्राडा. सुभद्रा सुब्बा दाहाल । औपचारिकता पछि वहाँले भाषाका केही कुरा सोध्न थाल्नु भयो । ‘ग ज ड द ब’ र ‘घ झ ढ ध भ’ भन्न थाल्नु भयो । बेला बेलामा वहाँ ‘गज्जब’ भन्नु हुन्थ्यो । मैले केही बुझिराखेको थिएनँ । मेरो सम्झनामा रहेको एउटा उदाहरण म यहाँ राख्न चाहन्छु :
दाहाल सर : ‘निदाउनुलाई तामाङ भाषामा के भन्छ ?’
मैले भने : ‘ङ्हु ह्राबा’।
‘ङ्हु’ भनेको के हो ?
‘निद्रा’ ।
‘ह्राबा’ भनेको ?
‘बुन्नु’ ।
‘वाह ! क्या गजबको भाषा रहेछ ?’ तामाङहरूले निद्रा ‘बुन्दो’ रहेछ लुगा, गुन्द्री जस्तै गरी । ‘सुत्दा पनि सिर्जनात्मक काम गरिरहँदो रहेछ !’ नेपालीमा ‘निद्रा आउनु’ हुन्छ र तामाङमा ‘निद्रा बुन्नु’ हुँदो रहेछ’ । ( ‘आउनु’ बाह्यबाट प्रवेश गर्नु हो र ‘बुन्नु’ भित्रबाट सिर्जना गर्नु हो ।)
यसपछि वहाँ निकै बेरसम्म सोची रहनु भयो । बिच बिचमा केही सोध्नु पनि भयो । अनि ‘अमृत भाइ, भोलि पनि आउनोस् है’ भन्नु भयो ।
दिनको दुई घण्टा जतिको दरले दुई-तीन दिन यो क्रम चल्यो । एक दिन सुभद्रा दिदीले भन्नु भयो- “अमृत भाइले मलाई पनि सहगोग गर्नुपर्छ । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश निर्माण योजना चल्दै छ । हामी दुबै सो योजनाका सदस्य हौँ । लिम्बू केटाकेटीहरू फिल्ड जान नमान्दो रहेछ । लाहुरेका सन्तानहरू ।” एक छिन पछि भन्नुभयो- “आज दिउँसो साढे बाह्र बजे नेपाल एकाडेमीमा आउनु है, तीन तला माथि । आजदेखि लिम्बू शब्द सङ्कलनबारे तालिम सुरु हुन्छ ।” ‘हुन्छ’ भनेर म फर्केँ ।
म समयमै पुगेँ । सानदार भवन । म कहिल्यै नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको भवनमा पुगेको थिइनँ । सम्भवतः प्राज्ञ वैरागी काइँलालाई पनि प्रत्यक्ष देखेको थिएनँ । केही बेरपछि तालिम प्रारम्भ भयो । ध्वनिवैज्ञानिक प्राडा. माधवप्रसाद पोख्रेलले लिम्बू वर्णको पहिचान गर्न थाल्नु भयो । ‘लघुतम युग्म’ (minimal pairs) भन्दै लिम्बू सहभागीहरूलाई ‘जोडी शब्द’ सोधिरहनु भयो । मलाई त सबै वातावरण नौलो लागिरहेको थियो ।
लिम्बू वर्ण, शब्द, शब्द टिपोट, शब्दकोश निर्माण, फिल्ड वर्क आदिको बारे एक हप्ता जति तालिम भयो । मैले यी सबै कुरो कहिल्यै सुनेको थिइनँ । प्रत्येक भाषाको व्याकरण हुन्छ, प्रत्येक भाषाको आ-आफ्नै वर्णमाला हुन्छ भनेर थाहा पाउँदा मलाई उदेक लागेको थियो । उत्साह पनि जागेको थियो । मलाई अङ्ग्रेजी, हिन्दी, नेपाली जस्ता ठुला भाषाहरूको मात्र व्याकरण हुन्छ भन्ने लाग्दथ्यो ।
शब्दकोशविज्ञान पनि हुँदो रहेछ । यस विज्ञानले शब्दकोश निर्माण बारेमा धेरै कुरा थाहा दिँदो रहेछ । लिम्बू वर्णमालामा नेपालीमा जस्तो सबै वर्ण नहुँदो रहेछ । ‘ग ज ड द ब’ र ‘घ झ ढ ध भ’ वर्णको सेट नै नहुँदो रहेछ । ‘ख छ ठ थ फ’ वर्णको सेट पो हुँदो रहेछ । देवनागरी वर्णमालामा नभएको वर्ण पनि पो हुँदो रहेछ । ग्लोटप स्टप (?) भनिने वर्ण हुँदो रहेछ । सिकाइएको थियो- लिम्बू वक्तालाई घर देखाएर त्यसलाई के भन्छ भनेर सोध्नु, जसले ‘घर’लाई ‘खर’ भन्छ ऊ खाट्टी लिम्बू भाषी हो । उसलाई नेपाली भाषाको प्रभाव परेको छैन भनेर बुझ्नु पर्छ । त्यस्तोसँग शब्द सङ्कलन गर्नु राम्रो हुन्छ आदि ।
तालिमको दौरानमा लिम्बू भाषाबारे विशेष गरी लिम्बू ध्वनि र वर्णबारे धेरथोर ज्ञान भयो । समावेशी (exclusive), असावेशी (inclusive), सर्वनामीकरण (prominalization) जस्ता व्याकरणका पद्धति थाहा पाएँ । स्थलगत अध्ययन बारे जानकारी भयो । सहभागी लिम्बूहरूसँग उठबस भयो । पछि थाहा भयो मैले भेटेका भाषावैज्ञानिकहरू त निकै दिग्गज दिग्गज पो रहेछन् ।
अनुसन्धानमा सूचना दिनेलाई सूचक भन्दो रहेछ । अनुसन्धाता र सूचक एउटै भाषी भएका अनुसन्धाता आफ्नो भाषाप्रति बायस हुने (आफुले जानेको ध्वनि अरूले फरक उच्चारण गर्दा पनि उही उस्तै सुनिने र उस्तै लाग्ने जस्ता पक्षपाती) हुने भएकोले एकजना गैरलिम्बूभाषीको रूपमा मलाई टोलीमा समावेश गरे जस्तो लागिरह्यो ।
डेढ महिनाको फिल्डवर्क पाँचथरको पौवासारतापबाट लेबुङ हुँदै फेदिम पुगेर टुङ्गिएको थियो । टिम लिडर थिए- विरही काइँला र सहकर्मीहरू थिए- नन्द कन्दङवा, रेशमकुमार थाम्सुहाङ, शारदा सुब्बा र रिता सुब्बा जो अहिले आ-आफ्ना क्षेत्रमा सक्रिय छन् । पौवासारताप प्राज्ञ वैरागी काइँलाका घर रहेछन् र विरही काइँला पनि वहाँकै वंशजका रहेछन् र दार्जिलिङको मिरिकमा बस्दा रहेछन् ।
फर्के पछि मैले नेपाल तामाङ घेदुङका महासचिव सहितका पदाधिकारीहरूलाई तामाङ वर्ण पहिचानको कुरो राखेँ । कतैबाट सकारात्मकता नपाएपछि तामाङ भाषा तथा साहित्य परिषद्को पहलमा प्राडा. माधवप्रसाद पोखरेललाई निम्त्याएर ३-५ असार, २०४९ मा सम्पन्न तीन दिने गोष्ठी मार्फत् ३१ जना तामाङ वक्ताको सहभागीतामा तामाङ भाषाको वर्ण पहिचान गोष्ठी सम्पन्न गरियो । सो गोष्ठीमा ३१ वटा तामाङ वर्णको पहिचान भयो । हाम्रो लागि यो नितान्त नौलो विषय रह्यो र उपयोगी पनि । यिनै पहिचान वर्णको आधारमा तामाङ भाषा लेखन कार्य गर्न थालियो (पछि नेपाल तामाङ घेदुङ र सिक्किम तामाङ बौद्ध सङ्घले पनि तामाङ वर्ण पहिचान गरे । परिणाम लगभग उस्तै थियो) ।
गत वर्ष एउटा कार्यक्रममा प्राडा. पोखरेल भन्दै हुनुहुन्थ्यो मैले भारतको पुने विश्वविद्यालयबाट ध्वनिविज्ञानमा पिएचडी गरेर फर्केपछि सर्वप्रथम लिम्बू भाषा र त्यसपछि तामाङ भाषाको वर्ण पहिचान गरेको थिएँ । यस अर्थमा तामाङहरू भाषावैज्ञानिकको पहुँचमा प्रारम्भमा नै पुगेको रहेछ ।
पछि २०५२ मा त्रिविमा केन्द्रिय भाषाविज्ञान विभाग खुलेपछि म पनि भाषाविज्ञानका विद्यार्थी बनेँ । भाषाविज्ञानले मूलतः ध्वनिविज्ञान, वर्णविज्ञान, रूपविज्ञान, वाक्यविज्ञान, अर्थविज्ञान, ऐतिहासिक भाषाविज्ञान आदिको अध्ययन गर्दो रहेछ ।
अध्ययन सकेपछि म नेपालमा विभिन्न भाषाको अध्ययन अनुसन्धानतिर उन्मुख भएँ । मैले तामाङ शब्दकोश, तामाङ व्याकरण, तामाङ भाषाको मानकीकरण आदि एक दर्जनजति ग्रन्थ तयार गरेको रहेछु । तामाङ भाषामा अतिरिक्त अन्य एक डेढ दर्जन जति भाषाहरूको वर्ण पहिचान, व्याकरण लेखन र शब्दकोश निर्माण गर्न सहयोग गरेँ । यसै कामले म समुदायमा चिनिन पनि थालेँ ।
२. बहुभाषिक शिक्षासम्बन्धी लेखन आधार : मेरो लेखनको अर्को एउटा समानान्तर धार बहुभाषिक शिक्षा हो । यसलाई मातृभाषामा आधारित बहुभाषिक शिक्षा पनि भनिन्छ । बहुभाषिक शिक्षा बालबालिकाको मातृभाषामा अर्थात् उनीहरूको मातृभाषाको माध्यमबाट शिक्षण गरिन्छ । नेपालको संविधान र कानुनहरूमा यसलाई मातृभाषामा शिक्षा भनिएको छ । दुबैले एउटै अर्थ दिन्छ । मातृभाषामा शिक्षालाई नेपालको संविधानले मौलिक अधिकारमा राखेको छ ।
नेपालमा माघ २०६३ देखि ‘बहुभाषिक शिक्षा कार्यक्रम’को सुरु भयो । यो कार्यक्रममा फिन्ल्यान्ड सरकार र नेपाल सरकारको संयुक्त लगानी थियो । म सो कार्यक्रमको ‘राष्ट्रिय प्राविधिक सल्लाहकार’को रूपमा नियुक्त भएँ । डेभिड हफ मुख्य प्राविधिक सल्लाहकार थिए । यसको मूख्य उद्देश्य नेपालमा बहुभाषिक शिक्षाको लागि नीति तयार गर्नु थियो जसको आधारमा नेपालमा बहुभाषिक शिक्षा लागु गर्न सकियोस् ।
देशको छवटा जिल्लाको सात वटा विद्यालयमा आठवटा मातृभाषामा यो शिक्षाको पाइलटिङ गरियो । यो कार्यक्रम ३२ महिनासम्म रह्यो र नेपाल र विश्वको अनुभवको आधारमा ‘बहुभाषिक शिक्षा कार्यक्रम निर्देशिका २०६६’ तयार गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । यो निर्देशिका चैत्र २०६६ मा शिक्षा मन्त्रालयले पारित गरेको थियो ।
नेपालको बहुभाषिक शिक्षाको प्रारम्भिक चरणमा नै म थिएँ । कञ्चनपुर, पाल्पा, रसुवा, धनकुटा, मोरङ र झापा जिल्लाका विद्यालयहरूमा यो शिक्षा लागु गरिएको थियो । दुई-तीन महिनाको एक पटक ती विद्यालयमा पुगेर म परियोजनाको स्थिति अपडेत गरिरहन्थे । भारतमा सन् २००४ तिर नै उडिसा र आन्द्रप्रदेशमा यो शिक्षा लागु गरिएको थियो । उनीहरूको अनुभव बटुल्न नेपालबाट १५/१५ जनाको टोली ती दुई स्थानमा पठाइएकोमा आन्द्रप्रदेश जाने टोलीमा म संलग्न थिएँ । यस अवधिमा देश-विदेशमा सम्पन्न भएका धेरै जसो बहुभाषिक शिक्षा गोष्ठीमा मेरो उपस्थिति र प्रस्तुति रह्यो । यसै क्रममा मैले बहुभाषिक शिक्षामा विभिन्न पक्षमा पेपर प्रस्तुत गर्ने मौका मिल्यो । त्यसपछि आजका दिनसम्म पनि अनुभवजन्य ज्ञानका कारण नेपालमा हुने धेरैजसो गोष्ठीहरूमा मलाई निम्त्याउने गर्दछन् ।
यसर्थ नेपालका भाषा, मातृभाषा, मातृभाषामा शिक्षा, भाषिक मानव अधिकार आदि मेरो अध्ययनको क्षेत्र मात्र होइन कि मेरो कार्यक्षेत्र पनि भएकोले यी विषयहरूको विभिन्न पक्षको चर्चा परिचर्चा मेरो लेखनमा हुने गर्दछ ।
सारमा भन्नु पर्दा भाषाको सन्दर्भमा दुईवटा लेखन आधार र चारवटा सूत्र नै मेरो पुस्तक लेखनका मूलभूत आधारहरू हुन् । यिनै लेखनाधार र सूत्रको आधारमा मेरो कलम चल्ने गर्दछ । धेरै पुस्तक लेख्नुका राज पनि यही हो । मौलिक चिन्तन र पहिचान पनि यिनै भित्रका आधार स्तंभहरू हुन् । अनि मेरो लेखन प्रष्फुटनको जग हो- पत्रकारिता ।
यिनै पृष्ठभूमिले गर्दा २०१३ देखि २०४६ सम्ममा अर्थात् ३३ वर्षको अवधिमा जम्माजम्मी १३ वटा पुस्तक प्रकाशित भएका रहेछन् । पछिल्लो दिनमा म एक्लैले २०४७ देखि २०८० सम्ममा अर्थात् ३३ वर्षको अवधिमा ५० वटा पुस्तक प्रकाशित गरेको रहेछु । अनुवाद, शब्दकोश र व्याकरणबाहेक पनि तामाङ भाषामा १६४ वटा साहित्यिक कृति प्रकाशित भएका छन् । लोकसाहित्यमा मात्र सीमित रहेको तामाङ साहित्यमा हाल आधुनिक मात्र होइन उत्तरआधुनिक दर्शन पनि देख्न सकिन्छ । फुटकर कवितादेखि खण्ड काव्य र महाकाव्यसम्म, छोटो कथादेखि उपन्याससम्म तामाङ भाषामा प्रकाशित भएका छन् । साहित्यका हरेक विधा-उपविधाका साहित्यिक सामग्री तामाङ साहित्यमा खोज्न सकिन्छ ।
यसै गरी हामीले स्योम्हेन्दोको प्रकाशन सुरु गर्नु पूर्व मात्र ५ वटा पत्रिका देखिएकोमा हाल प्रकाशित तामाङ पत्रिकाको सूचीमा ११२ वटा दर्ज भएका छन् । तामाङ साहित्यमा देखिएको यो प्रगति छलाङ्ग होइन र ?
बौद्ध, काठमाडौँ
[1] पत्रकारितामा प्रवेश गरेसँगै फुर्सद निकालेर म उनीहरूसँग बाक्लै भेटघाट गर्ने गर्थेँ किनकि मलाई तामाङबारे जान्ने चासो निकै थियो । म आफ्ना आफन्तजन बाहेक अन्य तामाङसँग मेरो भे टघाट त्यति थिएनँ । एक दसकको लामो अवधि अध्ययनको सिलसिलामा म नेपालबाहिर रहेको थिएँ । ठुलाबडा कुनै तामाङ मैले चिनेको थिएन । र, यी सबै अवसर काठमाडौँमा हुने रहेछ ।
[2] तामाङ साहित्यिक संस्था ‘स्योम्हेन्दो थेत्मा’ (२०४६) ले तत्कालीन सबै तामाङ संस्थाहरूलाई ठमेलस्थित सरस्वती क्याम्पसमा निम्त्याएर एउटै संस्था बनाउन प्रस्ताव गर्यो । बौद्धिक समुदाय पनि थियो । भदौ २४, २०४६ को दिन थियो । सबै पक्षले गहन छलफल गरे । एउटा बलियो संस्थाको आवश्यक्ता सबैले महशुस गरे । सो दिन तामाङ सेवा गुठी बाहेक सबै संस्थाहरू सहमत भएको थियो । तामाङ सेवा गुठीले आफ्नो संस्थाको आकस्मिक बैठक गरेर सहमति भएपछि मात्र सहभागी हुन सकिने अडान लियो । आज हेर्दा उसको त्यो निर्णय परिपक्व रहेछ ।
दोस्रो भेला पनि स्योम्हेन्दोकै पहलमा भयो- असोज ८ गते । सबै तामाङ संस्थाहरू एउटै संस्थामा गोलवद्ध हुन राजी भए । स्योम्हेन्दो थेत्मासहित सबै सङ्घसंस्थाहरू रहेको १३ सदस्यीय एउटा ‘वृहत् तामाङ भेला आयोजक समिति’ गठन गरियो। यो समिति मङ्सिरमा तामाङ वृहत् भेला गर्न सक्रिय भयो । तर, मङ्सिरमा तयारी पुरा नहुने भएकोले सो भेला फागुनमा सारियो र फागुनमा राष्ट्रिय जनआन्दोलन चर्केकोले चैत्रमा बहुदलीय व्यवस्थाको स्थापना भएसँगै जेठ, २०४७ मा वृहत् तामाङ भेला मार्फत् ‘नेपाल तामाङ घेदुङ’ को स्थापना गरिएको थियो ।
[3] युनेस्कोले पुस्तकको परिभाषामा पुस्तक ५० पृष्ठको हुनु पर्ने भनेको छ ।
[4] हिमालका बसन्त थापाले पनि एनसेलका सहयोगमा आयोजना गरेको एउटा गोष्ठीमा एक घण्टा जति मैले सानैदेखि नेपालीमा लेख्दै आइरहेको छु, मलाई मगर भाषा आउँदैन, मैले नेपालीमा यो गरेँ त्यो गरेँ भनेको सुन्दा उनीलाई कसैले नेपालीमा नलेख्न गालीगलौज गरेको अनुमान लगाउन सकिन्छ । गाइँगुइँ सुने पनि उनलाई गाली गरेको सो लेख मैले पढ्न भने पाएको छैन ।