दशैँको पिङ सम्झनामा मात्रै

सैलुङअनलाइन संवाददाता
बलेवा

केही वर्ष पहिले दशैँ भन्नेबित्तिकै टीका जमरा र पिङको याद आउने बागलुङका गाउँमा पछिल्लो समय काठे पिङ र चमच्चा देखिनै छाडेका छन् । बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँघरमा युवाको जमात कम छ । दशैँ मान्नकै लागि देशका ठूला शहर र विदेशबाट आएका युवासमेत पिङ बनाउने तथा खेल्ने काममा चासो दिँदैनन् । सहज इन्टरनेट चल्ने ठाउँको खोजीमा देखिन्छन् । युवाको अभावका कारण दशैँमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका छन् ।

दशैँमा बनाइने काठे पिङका लागि आवश्यक काठसमेत पछिल्लो समय लोप हुँदै गएको छ । पहिलेपहिले चमच्चाका लागि प्रयोग गरीने खिर्रोको रुख अहेले घरछेउका डहरमा देखिँदैनन् । खिर्रोको काठ नभएसम्म काठे पिङ बनाउन कठिन हुने रेशका युवराज शर्मा बताउनुहुन्छ ।

काठ मात्रै होइन पिङ बनाउने ठाउँकोसमेत अभाव छ । निजी जमीनमा धान कोदो फलेको छ भने सार्वजनिक जमिनमा कतै सामुदायिक भवन त कतै विद्यालयका भवन बनेका छन् । बाँकी रहेका सार्वजनिक जमीनकोसमेत उपयोग हुन नसक्दा पिङ बनाउने ठाउँमा जङ्गल बनेको जैमिनी नगरपालिका–१ कुश्मीशेराका शिक्षक उमाकान्त शर्माले बताइन् ।

घरघरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैन । दशैँका बेला राखिने पिङ चमच्चा खेल्नेको भीड देखापर्न छोडेको छ । गाउँघरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् । उनीहरुले काठको प्रयोग गरे चमच्चा बनाउन सक्दैनन् । काठ बोक्नसक्ने युवा कोही रोजगारीको सिलसिलामा विदेशमा छन् भने कोही देशका ठूला शहर छिरेका छन् ।

दशैँको बेलामात्रै टीका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् । पिङ हाल्नका लागि गाउँमा बाबियोसमेत पाइन छाडेको छ । ‘दशैँका लागि पिङ हाल्नलाई वस्तुबाट जोगाएर बाबियो राख्ने गरिन्थ्यो’, स्थानीय दीलबहादुर थापाले भने, ‘चमच्चाका लागि दुई महीनादेखि तयारी गर्नुपथ्र्याे अहिले हरायो, बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने सीप नयाँ पुस्तामा छैन ।’

गाउँमा बसोबास गर्ने अधिकांश मानिस सहर केन्द्रित हुँदा परम्परागत सीपसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको जैमिनीका कृष्ण शर्माले बताए । शहर बजारमा पाइने यतारी पिङ बाह्रै महीना खेल्न पाइने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको उनको अनुमान छ ।

तपाईको प्रतिक्रिया