जिल्लाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेमा रहेको सेतिभुमि माध्यमिक विद्यालयमा पढ्दै र सिक्दै अभियान सुरु गरेको छ ।
प्रदेश सरकारको नीति अनुसार गुणस्तरीय शिक्षा शैक्षिक रूपान्तरण, नवप्रर्वद्वन उद्यमशीलता विकास गरी शैक्षिक संस्था मार्फत सामाजिक रूपान्तरणबाट समृद्ध र सुखी रसुवाली अभियान लाई टेवा पुर्याउन पढ्दै र सिक्दै अभियान सुरु गरिएको हो ।
पढाइको अलवा खालि समयमा पढ्दै सिक्दै अभियान अन्तर्गत १० रोपनी जग्गा भाडामा लिएर विद्यार्थी तथा शिक्षक मिलेर तरकारी खेती जस्तै आलु, मुला, फर्सी, गाजर, स्कुस, बरेला लगाउने खाद्यान्न अन्तरगत मकै, कोदो, जौ आदी उत्पादन गर्ने विद्यालयका प्रधानाध्यापक शिला मगरले जानकारी दिइन् ।
उत्पादित तरकारी तथा खाद्यान्न विद्यालयमा दिवा खाजा वा होस्टेलमा प्रयोग हुने र बाँकी रहेको बजारमा बेच्न लैजाने प्रधानाध्यापक मगरको भनाई रहेको छ ।
अहिले रसुवामा आलु लगाउने सिजन भएकोले विद्यार्थी , शिक्षक मिलेर ५ बोरा आलु, ३०० ग्राम मुला लगाइसकेको छ भने बाकी जग्गामा पनि क्रमशः खेती गरिने छ ।
यसो गर्दा पढाईसँगै व्यवहारिक शिक्षा मिल्छ भन्नेमा आशावादी रहेको अभिभावकहरू बताउँछन् ।