मेरो लेखन यात्रा‍-३

अमृत योन्जन-तामाङ भाषाशास्त्री
1162 Shares
काठमाडौं

मेरो लेखन यात्राको तेस्रो पाटो हो- पेपर लेखन । ‘पेपर’लाई नेपालीमा कार्यपत्र, गोष्ठीपत्र, छलफलपत्र आदि विभिन्न नामबाट चिनिन्छ । पेपर लेखनको मुख्य उद्देश्य हुन्छ- छलफलको लागि तोकिएको विषयको यथार्थ वस्तुस्थिति प्रस्तुत गर्नु । पेपरले छलफलको लागि बाटो खोलिदिन्छ । कुनै पेपरको उद्देश्य अनुसन्धानको सार प्रस्तुत गर्नु हुन्छ भने कुनैले कुनै जल्दोबल्दो सवाललाई हल गर्ने उपाय खोज्नु हुन्छ । र, कुनै पेपर योजना तयार गर्ने उद्देश्यले तयार गर्नु हुन्छ । पेपर केका लागि चाहिएको हो त्यो आयोजकको उद्देश्यमा भरपर्दछ । पेपर तयारी पछि गोष्ठीमा प्रस्तुत गराइन्छ । मैले माथि उल्लेखित सबै प्रकारको पेपर तयार गरेर प्रस्तुत गरेको रहेछु ।

सर्वप्रथम २०५० मा ‘लिङ्ग्युस्टिक सोसाइटी अफ् नेपाल’ (नेपाल भाषाविज्ञान समाज) को १४औँ वार्षिकीको अवसरमा पेपर प्रस्तुत गरेको रहेछु ‘The Synopsis of Tamang Grammar’, a paper presented at the 14th annual Conference of the Linguistic Society of Nepal, Nov. 26-28, 1993 । यसपछि तामाङ भाषा तथा साहित्य परिषदद्द्वारा २०५१ भदौमा काठमाडौँको बौद्धमा आयोजित गोष्ठीमा “तामाङ भाषाको प्रशारण, समस्या र निराकरणका उपायहरू” शीर्षकको कार्यपत्र प्रस्तुत गरेको रहेछु । यी मेरा प्रारम्भिक कार्यपत्रहरू हुन् । यसपछि विभिन्न विषयक्षेत्रसँग सम्बन्धित पेपर प्रस्तुत गर्ने मौका मिलिरह्यो । मैले मूलतः नेपालका भाषा र भाषाविज्ञान, मातृभाषामा शिक्षाका साथै तामाङ जाति, भाषा, साहित्य, लोकसंस्कृति तथा आदिवासीका मौलिक ज्ञान र दर्शन आदि बारेमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरूमा २०० जति पेपर प्रस्तुत गरिसकेको रहेछु (हे० तामाङ सन्दर्भ ग्रन्थसूची, २०८०) ।

तामाङ सन्दर्भ ग्रन्थसूची, २०८० हेर्दा मूलतः युनेस्को, भाषा आयोग, नेपाल प्रज्ञा-प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजाति महिला महासङ्घ, विभिन्न तहका आदिवासी जनजाति सङ्घ संस्थाहरू, नेपाल सरकारका विभिन्न निकायहरू, स्थानीय सरकार, गैरसरकारी सङ्घसंस्थाहरूले विभिन्न समय, सन्दर्भ र अवस्थाहरूमा आयोजना गरिने गोष्ठीहरूमा पेपर प्रस्तुतिका लागि मलाई निम्त्याइएका रहेछन् ।

विदेशतिर जानु मेरो चासो कमै हुन्छ तर पनि पेपर प्रस्तुत गर्न म अमेरिकाको कर्नेल विश्वविद्यालय (सन् २०००), फिन्ल्यान्डको ल्याडेन विश्वविद्यालय (सन् २०१८), भारतको दिल्ली (सन २००८) र भुवनेश्वर (सन २००८) मा आयोजना गरिएका सेमिनारहरूमा पुगेको रहेछु । विदेशमा रहेका आदिवासी जनजाति र तामाङ सङ्घसंस्थाको निम्तोमा अस्ट्रेलियाको सिडनी (सन् २०१५), लेडेन र मेल्बोर्न (सन् २०१५) मा, अमेरिकाको न्युयोर्क (सन् २०१६) र क्यालिफोर्निया (सन् २०१६) जस्ता सहरहरूमा पुगेर पेपर प्रस्तुत गरेको रहेछु ।

मेरा अधिकांश प्रस्तुतिहरू अनुसन्धानपरकभन्दा पनि जागरणमूखी भएकोले दोहोरिएका र तेहरिएका पनि हुन्छन् । उदाहरणको लागि ‘मातृभाषाको स्थिति’ वा ‘बहुभाषिक शिक्षा’ जस्ता विषयमा धेरैको चासो रहदो रहेछ।  यस्ता विषय स्थान र समय विशेषको सन्दर्भमा पटक पटक प्रस्तुतिको लागि अनुरोध हुन्छ जस्तो कि कलाकारहरूले एउटै गीत विभिन्न स्टेजहरूमा वर्षौँसम्म गाइरहेका हुन्छन् ।

पेपर प्रस्तुतिको क्रममा फरक लागेको तीनवटा प्रतिनिधिमूलक घटना म यहाँ प्रस्तुत गर्न चाहन्छु ।

घटना १ : गीतको स्टेज प्रस्तुतिमा प्रायः ‘वन्समोर’ भन्ने सुनिन्छ । ज्ञानको क्षेत्रमा त्यस्तो प्रायः सुनिदैन । एक पटक मेरो प्रस्तुतिमा वन्समोर भयो । पहिलो संविधानसभाको समय थियो । सो संविधानसभाले माओवादी नेता तथा सभासद् वर्षमान पुनको अध्यक्षतामा विभिन्न पार्टी र क्षेत्रका सभासदहरूलाई समेटेर संविधानको मस्यौदा तयार गर्न कोर समिति बनाइएको रहेछ । र, सो समितिले विज्ञजनसँग छलफल गरेर सुझाव लिने गर्दो रहेछ ।

नेपालमा भाषिक अधिकार र मातृभाषामा शिक्षाबारेको प्रस्तुतिको लागि मलाई निम्त्यायो । मलाई दिइएको समय विहान एघार बजेको थियो । मैले समाचारपत्र र टिभीतिर देखेका दिग्गज दिग्गज सभासद् नेताहरू पनि रहेछन् जस्तै प्रकाशचन्द्र लोहनी, सरिता गिरी आदि आदि । पावर प्वान्ट प्रोजेक्टर नभएकोले मैले मौखिक प्रस्तुति गरेँ । एक घण्टाको प्रस्तुति रह्यो । प्रस्तुति पछि खाना खाएर म घर फर्किने क्रममा संयोजक वर्षमान पुनबाट पुन आधा घण्टाको प्रस्तुत गरिदिन अनुरोध भयो । म छक्क परेँ । मेरो जीवनमा यो अपूर्व घटना रह्यो । मैले पुनः आधा घण्टा जति प्रस्तुत गरेँ ।

भोलिपल्ट विहान नेपाल आदिवासी जनजाति महासङ्घको तत्कालीन महासचिव पासाङ शेर्पाको फोन उठाएँ । धन्यवाद दिँदै भन्नु भयो- “अमृत सर, तपाईले हिजो निकै गज्जबको प्रस्तुति दिनु भएछ । माननीय पुनले योग्य मान्छे पठाउनु भएछ भनेर मलाई धन्यवाद दिनु भयो । र, अब हाम्रो सेयरिङमा युवा विज्ञहरूलाई बोलानु पर्ला भन्नु भयो ।” उनको यो कुरा सुनेर म झन छक्क परेको थिए ।[1]

घटना २ : बहुभाषिक शिक्षासम्बन्धी विश्व स्तरको तिन दिने सम्मेलनमा भाग लिन नेपालमा बहुभाषिक शिक्षाका टोलीसहित म दिल्ली गएँ । हाम्रो संयुक्त पेपर थियो । विश्वभर नाम चलेका टोभे स्काटनुन-काङ्गास, रबर्ट फिलिप्सन लगायतका दर्जनौँ विज्ञहरूको उपस्थिति थियो । यस सम्मेलनका दुईटा कुरा मलाई सम्झना भईरहन्छ।

एउटा, आयोजक मध्येका जवाहारलाल नेहरू विश्वविद्यालयका बहुभाषिक शिक्षाविद् मिनाटा पान्डाले रोस्टममा उभिन साथै बोल्नु भयो- “आइ एम ह्यार बिकाज आइ वान्ट टु बि ह्यार” (म यहाँ छु किनकि म यहाँ हुन चाहन्छु) । यो वाक्यले मलाई निकै गहन ढङ्गले छोयो । यो अधिकारको कुरा थियो । यसपछि ‘मातृभाषा र मातृभाषामा शिक्षा’ बारेका गोष्ठीहरूमा निम्तो बिना पनि पुग्ने गर्दछु । यीबारे जानकारी राख्नु मेरा अधिकार र कर्तव्य हो भन्ने लाग्छ । अनि, यसबारे मलाई जुनसुकै बेला कहीँ कतै बोल्नु पर्ने हुन्छ ।

दोस्रो, सुसन मालोनले आफ्नो प्रस्तुति गर्ने क्रममा रबर्ट फिलिप्सनले हस्तक्षेप गर्नु भयो । वहाँ आक्रमक शैलीमा स्टेजतिर जानु भयो । टोभे लगायतले उनलाई रोके । मेरो लागि यो अनौठो घटना रह्यो । पछि कारण थाहा पाएँ- मालोनहरू समर इन्स्टिच्युट अफ् लिङ्ग्युस्टिक (एस.आइ.एल.) का रहेछन् । उनीहरू ‘भाषाको मृत्यु’को कुरा गर्दा रहेछन् र संसारभरिका भाषामा बाइबल अनुवाद गराउँन चाहँदा रहेछन् । अर्कोतिर रबर्ट फिलिप्सनहरू ‘भाषिक मानवअधिकार’को कुरा गर्दा रहेछन्, ‘भाषा मर्छ होइन, मारिन्छ’ भनेर भाषिक साम्राज्यवादको चर्को विरोध गर्दा रहेछन् र अल्पसङ्ख्यक मातृभाषाहरूको पक्षमा वकालत गर्दा रहेछन् । मातृभाषासम्बन्धी यस्ता शसक्त दुई धार थाहा पाएपछि म होशियार हुन थालेँ ।

घटना ३ : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित गोष्ठीमा म ‘मातृभाषाको संरक्षण’ बारे पेपर प्रस्तुत गर्दै थिएँ । अग्रपङ्तिमा केन्द्रिय भाषाविज्ञान विभागका प्रमुख, त्रिविका प्रतिनिधि, नेपाल प्रज्ञा-प्रतिष्ठान, मातृभाषा विभागका प्रमख, भाषा आयोगका अध्यक्ष लगायतका भाषावैज्ञानिकहरू अग्रपङ्तिमा विराजमान थिए । मैले “भाषा संरक्षण गर्ने एक मात्र उपाय भाषा बोल्नु हो । बोलेर मात्र भाषा बचाउन सकिन्छ । भाषाको डकुमेन्टसन गर्दैमा वा शब्दकोश, व्याकरण निर्माण गर्दैमा भाषाको संरक्षण हुन सक्दैन । भाषावैज्ञानिकहरूको मुख ताकेर होइन कि भाषिक समुदाय आफैँले दुईसय घण्टा जतिको अडियो-भिडियो बनाएर भाषाको संरक्षण गर्न सकिन्छ” भनेछु।

मेरो प्रस्तुतिको क्रममा कतिपय अग्रपङ्तिका भाषावैज्ञानिकहरू उठेर हिडिसकेका रहेछन् । मेरो प्रस्तुति निकै कडै भएको महशुस गरेका रहेछन् ।[2] मेरो पेपरको कमेन्टमा भाषावैज्ञानिक प्रा.डा. माधवप्रसाद पोखरेलले पनि भरमार गाली गर्नु भयो- ‘आफ्नो खुट्टामा आफैँले बन्चरो हान्न दुष्साहस गरेको आदि’ भन्नु हुँदै ।

यी तीन प्रतिनिधिमूलक घटनाले मलाई बेलामौकामा छोइरहन्छ । समय सन्दर्भमा प्रस्तुत गरिएका कतिपय मेरा पेपरहरू विभिन्न पत्रपत्रिका, स्मारिका र जर्नलहरूमा छापिएका छन् । सबै पेपरको सङ्गालो भने छापिएको छैन ।

अब म टुङ्ग्याउनी तिर उन्मुख हुन्छु । समग्रमा हेर्दा मैले मूलतः तामाङ जाति र भाषा, साहित्य, लोकसंस्कृति, साहित्य इतिहास, ताम्बा दर्शन तथा आदिवासीका मौलिक ज्ञानविज्ञान आदिका साथै भाषा र भाषाविज्ञान, मातृभाषामा शिक्षा र भाषिक मानवअधिकार जस्ता विषयमा केन्द्रित भएर पत्रपत्रिका प्रकाशन र लेखन कार्य गरेको रहेछु । मेरा लेखनका आधार स्तंभहरू ‘मौलिक चिन्तन’ र ‘पहिचान’ बनेको छ ।

२०३७ मा विरूवाहरूको सङ्घर्ष कविता मार्फत् सुरू भएको मेरो लेखन यात्रा २०८० सम्म आइपुग्दा अर्थात् त्रिचालिस वर्षको अवधिमा पचासवटा पुस्तक, लेख, पेपरसहित १५ हजार पृष्ठ जति लेखे हुँला अर्थात् सात लाख पचास हजार शब्द जति कोरेको हुनसक्छ।

नोभेम्बर १, १९५५ मा म जन्मदा तामाङ प्रकाशन गर्भमा नै थियो। सर्वप्रथम सन् १९५६ मा बुद्धिमान मोक्तानका कृति जिक्तेन तामछ्योइ अथवा तामाङ वंशावली ह्रमा प्रकाशित भयो । तामाङ वाङ्मयको आकाशमा यो पहिलो कृति हो । मेरो उमेर र तामाङ प्रकाशनको उमेर एक वर्षको जेठो कान्छो देखियो । विदेशी विद्वान क्रिस्टोफ भोन फुरर‍-हेमेन्ड्रफ (सन् १९५६) को ११ पृष्टको लामो अनुसन्धानमूलक लेख ‘एथ्नोग्राफिक नोट्स अन द तामाङस् अफ नेपाल’ (इस्टर्न एन्थोपोलोजी, ९.३-४:१६६-१७७) पनि यसै वर्ष प्रकाशित भएको हो । यसै लेखबाट तामाङ अनुसन्धान पनि प्रारम्भ भएको मानिन्छ ।

मेरो लेखनको प्रारम्भ २०३७ मा कविता प्रकाशन र पत्रकारिताबाट भयो । त्यति बेला दुर्इवटा मात्र तामाङ पत्रिका थियो- म्हेन्दो (हस्तलिखित, २०१६) र थ्विन्डेल (मुद्रित २०३३) । मैले साथीहरूसँग मिलेर जेठ, २०४५ मा स्योम्हेन्दो मासिक प्रारम्भ गर्दा चारवटा थपिएको थियो ।[3] स्योम्हेन्दोको प्रकाशन पछिको ३५ वर्षको अवधिमा १०७ वटा पत्रपत्रिका प्रकाशित भइसकेका छन् । तामाङ डाजाङ (२०५९ मा प्रारम्भ) मासिकको २००औँ अङ्क प्रकाशित भइसकेको छ । २०४० सालमा प्रकाशन प्रारम्भ भएको तामाङ स्मारिका पनि हालसम्ममा ५८ शीर्षकमा प्रकाशित भएका छन् । यी सबै रहर लाग्दा उपलब्धिहरू हुन् ।

मेरो पहिलो कृति २०४७ मा प्रकाशित हँदा तामाङ प्रकाशनको स्थिति शुन्यप्रायः थियो । सो अवधि पूर्व १३ वटा पुस्तक रहेकोमा २०८० सम्ममा तामाङ भाषामा प्रकाशित पुस्तक सङ्ख्या १६४ पुगेको छ ।[4] समग्र तामाङ वाङ्मयलाई हेर्ने हो भने ५०० का हाराहारीमा कृति प्रकाशित भएका छन् । हालसम्ममा कुल तामाङ ग्रन्थ २,०२९ वटा प्रकाशित भएको छ (तामाङ सन्दर्भ सूची, २०८०) ।

प्रकाशनको अर्को पक्ष के हो भने २०४६ सम्म लोकसाहित्यमा नै अल्झेको तामाङ साहित्य आधुनिक मात्र होइन उत्तरआधुनिक चिन्तनमा समेत छलाङ मारिसकेको छ । फुटकर कवितादेखि खण्ड काव्य र महाकाव्यसम्म, छोटो कथादेखि उपन्याससम्मको यात्रा तामाङ साहित्यले तय गरेको छ । साहित्यका हरेक विधा-उपविधाका साहित्यिक सामग्री तामाङ साहित्यमा पाउन सकिन्छ । व्याकरण, शब्दकोश, संस्कृति जस्तै गैरआख्यान विधा पनि निकै सप्रेका छन् । यी सबैमा मेरो उपस्थिति हेर्न सकिन्छ ।

हो, मैले धेरै चुनौतीहरूको सामना गरेको छु । वास्तवमा भन्ने हो भने चाङका चाङ चुनौतीले मलाई दरो र खरो बनाएको हो । आज म जे छु चुनौतीहरूको सामना गर्नाले नै हो । आरनमा खारेको सुन चम्किन्छ नै । र, म पाखा भित्ता ठोक्किदै समयको वहावसँग निरन्तर बगी रहेँ । मैले बगेको पानी खाएको छु । स्वादिलो हुन्छ- तिर्खा मेट्ने ! यो न जमेको पानी जस्तो गन्हाउँछ न समुन्द्रको पानी जस्तो चर्को नुनिलो नै हुन्छ।

मेरो लेखन स्वान्त सुखाय जस्तै पनि हो । मलाई आवश्यकता महशुस हुनु पर्छ अनि मात्र लेख्न थाल्छु । गीत कवितालाई जस्तै गरी पेपर लेखन पनि मलाई भित्रैबाट फुर्नु पर्छ । कहिलेकाहीँ आफूलाई विषयवस्तुले नछुए पनि वा समय र सन्दर्भ नमिल्दा पनि लेख्नु पर्ने हुन्छ, विशेष गरी पत्रकारिक लेखनमा ।

कुनै पनि कृति कहीँ कतैबाट लेखनवृत्ति पाएर लेखेको होइन । लेखनवृत्तिको चाहना राखिनँ पनि । आफूलाई सो योग्य पनि बनाइँन । बजारमा मातृभाषा वा आदिवासी लेखन विक्री हुन्छ भन्ने पनि होइन । पछिल्लो पुस्तक तामाङ सन्दर्भ ग्रन्थसूची (२०८०) प्रकाशनको तयार गर्दा जम्मा ७ प्रति विक्री हुने अपेक्षा गरेको थिएँ । त्यो पुस्तक ३५ वर्षसम्मको लगातरको मिहिन मिहनतको परिणाम हो ।

आदिवासी लेखनमा पुरस्कार वा सम्मान वा अभिनन्दन आदिको पनि अपेक्षा गरिन्न । यस्तै पुस्तक बिक्री गर्न पुस्तक पसल चाहिन्छ सो आफूले तयार गर्न सकिनँ र कतै कसैले गरेको पनि देखिनँ । पसलमा पुस्तक ब्रिक्री हुँदा पनि पैसा हात पर्छ भन्ने हुँदैन ।

पुस्तक प्रकाशनको लागि प्रकाशक पाउन पनि सहज छैन । हालसम्म प्रकाशित मेरा ५० वटा कृतिमा आधा जति छाप्न विभिन्न व्यक्ति र प्रकाशकले सहयोग गरे होलान् । अधिकांश हाम्राहरू स्टेज सोतिर आन्दोलित हुन्छन् जो स्वभाविक पनि हो । थकान त मेट्नै पर्‍यो । फेरि थकान पनि त एक दिन मात्र लाग्ने हो र ?

लेखन उपलब्धिलाई म दुःखले आर्ज्याको भन्दिनँ । दुःख त अभिन्न साथी हो, आजीवन मित्र । सुत्न समेत फुर्सद् निकाल्न नसक्ने समुदायमा जन्मेको र हुर्केको मान्छे म । बाह्रै महिना र चौबीसै घण्टा माटोसँग लड्ने, भिड्ने । रूझेर, भिजेर, कठङ्ग्रिएर मेलोपात गर्ने म जस्तो मान्छेलाई लेख्नु भनेको एक प्रकारको आराम गर्नु जस्तै हो । यसर्थ काम र लेखनलाई मैले कहिल्यै दुःख मानिनँ । दुःख जस्तो लाग्दैन पनि । स्वभाविक नै ठान्छु । प्राथिव सुख प्राप्तिको लागि हामीले कहिले प्रयास गर्‍यो र ? विद्यालयभन्दा सयौँ गुणा बढी गुम्बा, मन्दिर र चर्च बनाउने जाति हामी तामाङ । सोको लागि आफूसँग भएको श्रम बेच्न विश्व बजारमा त पुग्नै पर्‍यो । अनि भौतिक सुख खोजेर कहाँ हुन्छ ? लगानी नगरेको फल खान पनि हुँदैन । म देशको ७७ जिल्लामध्ये ६५ जिल्लामा पुगिसकेको पनि रहेछु दुःख होइन, रमाइलो मान्दै ।

माथि भनिसकेको छु मेरो लेखन करकापले होइन । कुनै आशा अपेक्षाले पनि होइन । केही हेपिएर लेखेँ, केही चेपिएर र केही लहैलहैमा पनि लेखेँ । म आज बाँचेको जगत र जीवन, समाज र परिवेश कागजमा उतार्नु पर्छ भन्ने चाहिँ लागि रह्यो । मैले तामाङ क्रियाकलापलाई पेपरमा उतार्न चाहेँ र अझैँ उतार्दै छु, सुरक्षित राख्न चाहेँ र गर्दै पनि छु ।

आफ्नो इतिहास बुझ्ने चाहना पछिल्ला पुस्ताकाहरूलाई हुँदा रहेछन् । मलाई पनि मेरा बा, बाजे र बराज्यूहरू सल्बलाएको ‘बाब्सा’ (पूर्ख्यौली भूमि), जीवन सल्बालाई रहने ‘नाम्सा’ (गाउँ), उनीहरूका ‘साः’ (श्वासप्रश्वास) र ‘दुर्सा’ (शोकभूमि) हेर्ने चाहना भइरहन्छ । ‘हामी को हौँ ?’ भनेर चासो राख्ने पुस्ता त जहिले पनि हुन्छ भन्ने लाग्छ । यसर्थ यथार्थ प्रक्षेपणको लागि मितिसहित आजको कुरा लेख्न आवश्यक छ । सबैलाई लेख्न म आग्रह पनि गर्छु र म आफैँ पनि लेखिरहन्छु ।

मेरो लेखन ती भावी पुस्ता जो म जस्तै गरी अनुमानको इतिहास रटेर बाँच्न नपरोस् भन्नको लागि हो । जहिले नि ‘हाम्रो इतिहास के हो ?’ र ‘हाम्रो लिपि के हो ?’ भनेर रटिरहने पाङ्दुरे पुस्ता हुनबाट बच्नको लागि पनि हो । र त्यो पुस्ता जसले जमेको तामाङ लेखनलाई सललल बग्ने बनायो उनीहरूप्रति कृतज्ञ व्यक्त गर्नको लागि पनि हो । बस !

[1] यसको श्रेय म ‘संविधानिक संवाद केन्द्र’ बानेश्वरका बिन्दा मगरलाई दिन्छु । अस्वस्थको कारणले म संविधानसभाको गतिविधि अपडेट थिइनँ । एक दिन वहाँले फोनबाट सभासद्हरूलाई मातृभाषासम्बन्धी सुझाव दिन अनुरोध गर्दै संविधानसभामा सभासद्हरूले बोलेका अभिलेख पनि उपलब्ध गराइदिनु भयो । उक्त अभिलेखलाई दृष्टिगत गर्दै मातृभाषी सभासद्का दुई समूहलाई आफ्नो धारणा राखिसकेको थिएँ । यसै अभिलेख र प्रस्तुतिको कारणले भाषिक मानव अधिकारबारे मैले ढुक्कसँग संविधानका मस्यौदाकारहरूलाई सेयर गर्न सकेको थिएँ ।

[2] सरकार र समुदायको लगानीको तुलनामा मातृभाषाको संरक्षण खासै हुनसकेको छैन । यो मातृभाषा वा भाषाको वक्ताको संरक्षण गरेँ भनेर कुनै सरकारी निकाय वा कुनै भाषावैज्ञानिकले आजसम्म भन्न सकेका छैनन् । त्यसमा म पर्दिन भन्दिनँ ।

[3] प्रारम्भ कालीन अर्थात् स्योम्हेन्दो पूर्वका तामाङ पत्रपत्रिका : म्हेन्दो (हस्तलिखित, २०१६) र थ्विन्डेल (मुद्रित, २०३३), फ्याफुल्ला (फेब्रुअरी १९८२ (माघ २०३८), दार्जिलिङ), तामाङ भाषा तथा संस्कृति विकास समितिको बुलेटिन १ (२०४०), रिमठिम (२०४२), फूलबारी (२०४२) र स्योम्हेन्दो मासिक (जेठ, २०४५) ।

[4] वि.सं. २०१३ मा प्रारम्भ भएको तामाङ प्रकाशन २०४६ सम्ममा अर्थात् ३३ वर्षको अवधिमा मात्र १३ वटा प्रकाशित थियो । यसपछि अर्थात् प्रजातन्त्र पुनर्स्थापना पछि २०८० सम्ममा तामाङ भाषामा मात्र १६४ वटा पुस्तक प्रकाशित भएका छन् । यो सङ्ख्या धेरै त होइन तर उल्लेखनीय छ ।

तपाईको प्रतिक्रिया