शुद्ध खानेपानीको अभाव झेलिरहेको काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध स्थित महेन्द्र बौद्ध माध्यमिक विद्यालयले बुधवारदेखि केही राहत महसुस गरेको छ । बौद्धनाथ क्षेत्र विकास समितिले सामुदायिक विद्यालयमा स्वच्छ पानी र सफा शौचालय निर्माणको अवधारणा अन्तरगत उक्त विद्यालयमा विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने हिसाबले रिभर्स अस्मोसिस (R.O) सिस्टम सहितको धारा जडान गरिदिएर उदाहरणीय कार्य गरेको छ ।
श्रीपंचमीको अवसर पारेर बौद्धनाथ क्षेत्र विकास समितिले जडान गरेको अत्याधुनिक रिभर्स अस्मोसिस (R.O) सिस्टम सहितको शुद्ध पिउने पानीको धारा समितिका अध्यक्ष राजकुमार लामाले हस्तान्तरण गरेका हुन ।
अब विद्यार्थीले वाटर ट्रिटमेन्ट प्रणालीमार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् । महेन्द्र बौद्ध माध्यमिक विद्यालय को विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष रीता रिसालको अध्यक्षता तथा श्री बौद्ध नाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त रिभर्स अस्मोसिस (R.O) सिस्टम सहितको धारा हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र खकुरेलले स्वागत मन्तव्य राखेका थिए । उनले विद्यालयमा शुद्ध पिउने पानीको लागि रिभर्स अस्मोसिस (R.O) सिस्टम सहितको धारा जडान गरिदिएकोमा समितिलाई धन्यवाद दिएका थिए ।
आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक सहयोगको अपेक्षा गरेका थिए अत्याधुनिक रिभर्स अस्मोसिस (R.O) सिस्टम सहितको शुद्ध पिउने पानीको धारा हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै समितिका अध्यक्ष राजकुमार लामाले पानीजन्य रोगहरूबाट मुक्त भएर ढुक्कसाथ विद्यार्थीहरूले पढ्न पाउन भन्ने उद्देश्यका साथ उक्त विद्यालयमा अत्याधुनिक रिभर्स अस्मोसिस (R.O) सिस्टम सहितको शुद्ध पिउने पानीको धारा निर्माण गरिएको बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गराउनको लागि शैक्षिक गुणस्तरमा वृद्धि गर्नु पर्नेमा जोड दिएका थिए ।
बालबालिकाप्रति शिक्षक जत्तिकै अभिभावक पनि जिम्मेवार बन्ने हो भने सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गरी नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिएका थिए । शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिले आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने बताए । विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन सकेको खण्डमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने मात्र नभई सामुदायिक विद्यालयमा भर्ना पाउन समेत मुस्किल पर्ने अवस्था सिर्जना हुने बताए । उनले त्यस्तै अवस्था सिर्जना गर्नको लागि शैक्षिक गुणस्तरमा अब्बल बनाउनुपर्नेमा जोड दिएका थिए । उनले उक्त विद्यालयमा क्षेत्र विकास समितिले शौचालय लगायतका भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गर्ने समेत बताएका थिए ।
कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरू जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा रग्वा शेर्पा, सुरज रुम्बा लगायत शिक्षक विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
अध्यक्षताको आसन बाट बोल्दै विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष रीता रिसालले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकी थिइन