रङ्गमञ्चमा बालबालिकाहरूको सक्रियता बढ्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं‌

काठमाडौँ । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलिका मानिसहरूले बिर्सँदै गएको कुरालाई बालबालिकाहरूले नाटकमार्फत खबरदारी गरिरहेका छन् ।

शैली थिएटर, रुसी सदन, संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) र ओजस थिएटरले संयुक्त रूपमा आयोजना गरेका १५औँ राष्ट्रिय बाल नाटक महोत्सवको पाँचौँ दिन रङ्ग निर्देशक टङ्क चौलागाईको लेखन, मञ्जु गिरीको निर्देशन र श्रीयन्त्र फाउन्डेसन, मुलपानी प्रस्तोता रहेको नाटक साथमा बाल कलाकारहरूले यस्तो विचार पोखेका हुन् । नाटकमा कलाकारहरू अदम कार्की, सदिक्षा पौडेल, आशिष सुवेदी, आकृति भण्डारी, रुक्मिनी फुयाँल, कुशल श्रेष्ठ, निशा ढकाल, उज्वल कार्की, जेनिशा राउत, शङ्कर शाह, प्रशान्त भुजेल, सुश्रित खतिवडा, रोशन कार्की, त्रिशा थापा, अभिषेक घिमिरे, ललिता अधिकारी, दिया तामाङ आदि कलाकारहरूले नाट्य प्रस्तुतिलाई न्याय दिएका थिए । त्यस्तै हरिस थापा, विनीता पण्डित थापा, रिता आचार्य, सोफिया, बज्राचार्यले नाटक मञ्चनका लागि पार्श्व मञ्चमा सहयोग गरेका थिए ।

नाटकले आफ्ना घरमा रहेका हरेक सदस्यहरू त्यसमा पनि ज्येष्ठ नागरिकहरूसँग बालबालिकाको निकट सम्बन्ध रहेको हुन्छ । परिवारले उनीहरूलाई अपमान र तिरस्कार गर्नाले उनीहरूको मनमा ठेस पुग्ने र आफ्नो परिवारप्रति नै वितृष्ण पैदा हुने र त्यही सिको बालबालिकाले समेत सिक्ने हुनाले हरेक परिवारमा आफ्ना अग्रजहरूको सम्मान सदैव गर्नुपर्ने मूल सन्देश बोकेको थियो । कलाकारहरूले छोटो समयमै स्टेजमा लाइटसँग पूर्वाभ्यास गरेको र त्यसलाई चाँडै उतारेको कुराको प्रशंसा भएको थियो ।

निर्देशक गिरी सन् २०१० देखि निरन्तर रूपमा नाट्य गतिविधिमा लागिरहेकी सृजनशील युवा रङ्गकर्मी हुन् । मञ्जुश्री गुरुकुलमा नामक संस्थाकी अध्यक्षसमेत रहेकी गिरी थिएटर मल, राराहिल, कीर्तिपुर रङ्गमञ्चसँग पनि आबद्ध छिन भने नाट्यकर्मी महासङ्घ, नेपालकी कोषाध्यक्ष पनि हुन् ।

त्यस्तै सोही महोत्सवमा दर्शकदीर्घाको मन जित्न सफल इच्छा सिंको लेखन तथा निर्देशन रहेको एलिट ग्राण्ड स्कुल चुच्चेपाटीको प्रस्तुति र नोना ज्ञवाली, आर्याश्री चौलागाँई, एलेक्स गिरी, आराध्या कार्की, एरिना सोनार, ल्हामु शेर्पा, आद्भिका आदिको बेजोड अभिनय रहेको नाटक अनिच्छित सोच २११२ पनि मञ्चन भएको थियो ।

नाटकले घर परिवारमा बालमैत्री वातावरण नहुँदा परिवारका सदस्यहरूले बालबालिकाको इच्छा र भावनाको कदर नगरिदिँदा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने असरको बारेका अभिभावकवर्गलाई सचेत गराएको थियो । हरेक अभिभावकले आफ्ना छोराछोरीको सपनालाई बेवास्ता गर्दै आफ्नै सपना मात्र उनीहरूमाथि लाद्ने हो भने हरेक बालबालिकालाई मनोसामाजिक रोगले गम्भीर रूपमा च्याप्ने र यो भाइरसकै रूपमा फैलन पनि सक्ने कुरालाई लिएर नाटकले बालबालिकाको सुन्दर भविष्यप्रति चिन्ता व्यक्त गरेको थियो । स्ट्रेस भाइरसको कारण मुख्य पात्र मायालाई गहिरो चोट लागेको र उनी विगत धेरै वर्षदेखि साइक्याट्रिकको मातहतमा एक अस्पतालमा उपचाररत हुन्छिन् । उनको परिवार भने उनको चित्र बनाउने सपनालाई बेवास्ता गर्दै एसइईमै बढी नम्बर लाउनमै केन्द्रित रहेकोले यो भाइरसले उनलाई आक्रमण गरेको कुरा पत्ता लागेपछिमात्र मनोचिकित्सकहरूले उनको उपचार सुरु गर्न सक्षम हुन्छन् र नाटकको अन्त्य हुन्छ ।

निर्देशक सिं पनि बाल कलाकारदेखि नै नाट्य क्षेत्रमा सक्रिय रहँदै आएकी प्रतिभाशाली रङ्गकर्मी हुन् । उनले यसै विधासँग सम्बन्धित थुप्रै पुरस्कार पनि पाइसकेकी छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका