काभ्रेको धुलिखेल नगरपालिका वडा नं. रवि थिङ गाउँमांं ल्होछार सांस्कृतिक उत्सव हुने भएको छ ।
मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा यही फागुन १२ गते शनिवार लामाद्वारा ल्होफाङ्बा तथा पूजापाठ,बोन्बो झाँकीका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुद्धारा बृहत् सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लबको आयोजना तथा सुनौलो देविटार युवा क्लबसँगको सहकार्य,धुलिखेल नगरपालिका वडा नं। १ र २ को सहयोगमा दुई वटै वडाका स्थानीयहरू मिलेर उत्सवका रूपमा सोनाम ल्होछार मनाउन लागेका हुन् ।
उक्त राष्ट्रिय सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने आयोजकको तयारी छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु श्रेष्ठको विशिष्ट आतिथ्यता रहने कार्यक्रममा चर्चित कलाकार विशाल काल्तान,जितु लोप्चन,उर्गेन दोङ,द भ्वाइस अफ नेपालका फष्ट रनरअप मकर योञ्जनका साथै अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहने छ ।
कार्यक्रममा यसअघिका मिस तामाङ सफलता थिङ,सुशील लामा,पूजा लामा,अविना लामा,हिरा लामा,प्रेम लामा,सागर बमजन,रञ्जित लामा लगायतका कलाकारहरूको पनि सशक्त प्रस्तुति रहने छन् ।
कार्यक्रममा विशेष अतिथिको रूपमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा,धुलिखेल नगरपालिकाका उपप्रमुख नीराजन जङ्गम,भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा,समाजसेवी विदुर बहादुर बस्नेत लगायतको पनि उपस्थिति रहनुहुने भएको छ ।
तामाङ समुदायको धर्म,संस्कृति,कला,भेषभूषा,परम्परा,रहनसहन,रीतिरिवाज,चाडपर्वको संरक्षण,प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको उल्लेख गर्दै आयोजकले उपस्थितिका लागि सबैमा अनुरोध गरेको छ ।