सामुदायिक वनमा सहभागितामूलक अर्थपूर्ण परामर्श छलफल सम्पन्न भएको छ ।
रसुवा, सामुदायिक वन उपभोक्ता महासङ्घ रसुवाको आयोजनामा “स्थानीय सरकार तथा स्थानीय स्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता” भन्ने नाराका साथ सहभागितामूलक अर्थपूर्ण परामर्श तथा अन्तर्क्रिया कार्यक्रम उत्तरगया गाउँपालिका–२ डाडागाउँमा सम्पन्न हो । उत्तरगया गाउँपालिकाभरका सामुदायिक वन उपभोक्ता समूहबाट सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले सामुदायिक वनमा उद्यम गरी आयआर्जन बढाउनुपर्ने बताइन् । उनले भनिन् ‘उपभोक्ताले खाली खुट्टा डोकोमा बिरुवा बोकेर वृक्षारोपण तथा संरक्षण गरेर हराभरा भएको जङ्गलबाट वनजन्य उत्पादन गरी गरिबी निवारणका लागि आयआर्जन मूलक गर्नुपर्छ ।’ कार्यक्रम सहजिकरण न्यौपानेले गर्दै वनको संरक्षण तथा स्थानीय आदिवासी उपभोक्ताको अधिकार सुनिश्चित हुनुपर्ने बताइन् ।
स्थानीय दियालेपाखा सामुदायिक वनभित्र भिजिङग्रा नामको जडीबुटीको फल सङ्कलन गरेर चोरी निकासी भएको थाहा पाएकोले वन कार्यालयमा खबर गरेको उपभोक्ता शेरबहादुर तामाङले बताए । यस क्षेत्रमा भिजिङग्राको खेती गरेर आयआर्जन गर्न सकिन्छ । अर्का सहभागी मायादेवी तामाङले भनिन् ‘औषधीय गुणले युक्त भएको तेल निकाल्न सकिने भिजिङ्ग्राको व्यवसायीक खेती गर्न सकिने रहेछ ।’
कार्यक्रममा सहभागीहरूले वन डँडेलो नियन्त्रण, ओखर, अलैँची , टिमुर, बास, निगालोको बिरुवा आवश्यक रहेकोले उपयुक्त समयमा उपलब्ध गराउनु पर्ने बताए । कुनाघारी सामुदायिक वन उपभोक्ता समूहका जगतप्रसाद पौडेलले बाँदर तथा दुम्सीको कारण खेती बाली नष्ट गरेर हैरानी पारेकोले समस्या परेको बताए । उनले भने ‘हाम्रो सामुदायिक वनमा अतिक्रमण पनि बढेको छ ।’ सामुदायिक वन उपभोक्ता महासङ्घ स्थानीय सरकार तथा स्थानीयस्तरका समन्वयात्मक कार्यहरूबाट नेपालमा सामुदायिक वन अधिकार सुनिश्चितता कार्यक्रम अन्तर्गत आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वन महासङ्घका पदाधिकारीहरू, स्थानीय उपभोक्ता गरी ४४ जना सहभागी थिए ।
त्यसै गरी त्यसै गरी “वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता समूहहरूको लेखा परीक्षण तथा सुशासन अभिवृद्धिका लागि सहजिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा उत्तरगया गाउँपालिका–२ का वडा अध्यक्ष टुकुप्रसाद सुवेदीले सामुदायिक वन उपभोक्ता समुहहरू विधि र नीतिमा चल्नुपर्ने बताए । बनलाई जीवन र जनजीविकासँग जोडेर आयमूलक काममा गर्नुपर्ने बताउँदै सबै उपभोक्ता समूहले समयमा वार्षिक साधारण सभा, लेखा परीक्षण र आयव्यय सार्वजनिक गर्नुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ रसुवा र डिभिजन वन कार्यालय रसुवाको सहकार्यमा तथा स्थानीय महासङको समन्वयमा भएको छलफलमा सामुदायिक वन उपभोक्ता समूहको सुशासनका लागि समयमा वार्षिक साधारण सभा तथा लेखा परीक्षण समयमा हुनुपर्ने, लेखा परीक्षणको महत्वलगायत विषयमा डिभिजन वन अधिकृत प्रेमा थापा, सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष हेमनाथ खतिवडा, केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने, स्थानीय महासङ्घका अध्यक्ष उत्तम घलेलगायतले आफ्नो धारणा राखेका थिए ।