काभ्रेको धुलिखेल नगरपालिका वडा नं. १ र २ का तामाङहरूले शनिवार रविको थिङ गाउँमा ल्होछार सांस्कृतिक उत्सव मनाएका छन् ।
मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा शुभकामना आदानप्रदान, लामा तथा बोन्बोको झाँकी, पूजापाठका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरूसँग नाचगान गरेर बृहत् सांस्कृतिक उत्सव मनाएका हुन् ।
सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लबको आयोजना तथा सुनौलो देविटार युवा क्लबसँगको सहकार्य, धुलिखेल नगरपालिका वडा नं. १ र २ को सहयोगमा कार्यक्रम गरेका हुन् ।
कार्यक्रमको बागमती प्रदेश सरकारका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चित्रकारले बागमती प्रदेशमा सबैभन्दा ठुलो जनसङ्ख्या रहेको तामाङ र नेवार समुदायले आफ्नो कला संस्कृति संरक्षण गर्न सफल रहेको भन्दै खुसी व्यक्त गरे । सबै जातजाति मिलेर बसेको धार्मिक,सांस्कृतिक सहिष्णुतासहितको नेपाली समाज हो भन्दै उनले अब संस्कृति प्रवर्द्धनका साथै आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । आर्थिक रूपमा जनता समृद्ध भए अरू पाटो पनि समृद्ध हुने उनको भनाई थियो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा रोशी गाउँपालिकाका अध्यक्ष निदेश लामा, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जङ्गम, भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा, नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा र अतिथिको रूपमा नेपाल तामाङ युवा घेदुङका अध्यक्ष बिलम मोक्तान,वडाध्यक्ष सन्त बहादुर लामा लगायतले ल्होछारको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित भएका नेपाल तामाङ घेदुङका पूर्व सचिव एवं मातृभाषा तथा संस्कृतिका अभियन्ता प्रतीक ङेसुरले ल्होछारको ऐतिहासिक,धार्मिक,सांस्कृतिक,सामाजिक महत्त्व तथा मान्यताबारेमा प्रवचनात्मक मन्तव्य राखिएको थियो ।
यस्तै समाजसेवी विदुर बस्नेत,अतिथिको रूपमा वडा नं। २ का वडा अध्यक्ष अर्जुन न्यौपाने,उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य मञ्जु कुमार कोजु,तामाङ घेदुङ काभ्रेका अध्यक्ष राज तामाङ,नेकपा एमाले धुलिखेल १ नं। वडा कमिटी अध्यक्ष ज्ञान लामा,नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टीका नगर तथा वडा कमिटी तहका प्रतिनिधिहरु,सद्गुण जागरण नेपालका अध्यक्ष सर्गम तामाङ,अहिंसावादी बौद्ध धर्म चक्र सङ्घका फूर्वादोर्जे लामाका साथै बुद्ध दर्शन तथा तामाङ संस्कृति क्षेत्रका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए ।
कार्यक्रममा चर्चित कलाकारहरू विशाल काल्तान,जितु लोप्चन,द भ्वाइस अफ नेपालका फष्ट रनरअप मकर योञ्जन,रामहरि न्यौपानेका साथै सुशील लामा,पूजा लामा,अविना लामा,हिरा लामा,प्रेम लामा,सागर बमजन,रञ्जित लामा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा मौलिक तामाङ परिकार बाबर, सेल, तरुल, खाप्से, गुन्द्रुकसहितको खाजाद्वारा पाहुनाहरूलाई सतकार गरिएको थियो भने मौलिक परिकार खाप्सेको स्टल समेत राखिएको थियो ।
गाउँ र प्रवासमा रहेर तामाङ संस्कृतिको प्रवर्द्धनका लागि आर्थिक तथा प्राविधिक रूपमा सहयोग गर्ने सहयोगीहरूलाई कदर पत्र र प्रमुख अतिथि,अतिथिहरूलाई कार्यक्रमकै बिच मायाको चिनो प्रदान गरिएको थियो ।
तामाङ समुदायको धर्म, संस्कृति, कला, भेषभूषा, परम्परा, रहनसहन, रीतिरिवाज, चाडपर्वको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले यस खालको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विशाल तामाङले बताए ।
बिरबल तामाङ र शर्मिला थिङको सहजिकरणमा भएको कार्यक्रममा धुलिखेल वडा नं. १ र २ का साथै छिमेकी गाउँ र सहरदेखिका दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।