रसुवामा पनि दादुरा–रूवेलाविरूद्व खोप लगाइने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
56 Shares
धुन्चे, रसुवा

रसुवा जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरूलाई फागुन १६ देखि १९ गतेसम्म दादुरा–रूवेला विरुद्धको खोप लगाउने तयारी भएको छ ।

खोप लगाउने अभियान अन्तरगत जिल्ला को ३५ सय बालबालिकालाई खोप लगाइने छ । जनस्वास्थ्य कार्यालय रसुवाको उक्त खोप अभियान अन्तरगत रसुवा अस्पतालमा १ वटा र पाँच वटै पालिकामा रहेको ३४ केन्द्र मार्फत ३५ स्वास्थ्य स्वयंसेविका परिचालन गरी बालबालिकाहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख भिमसागर गुरागाईँले जानकारी दिए ।

लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको भीम सागर गुरागाईँले बताए ।

सन २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न सरकारले प्रतिबद्धता गरेको थियो । नेपालभरि गत आर्थिक वर्षमा एक हजार तीन सय ५० मा दादुरा–रुबेला रोग देखिएकामा रसुवामा हालसम्म सङ्क्रमित नभेटिएको दाबी गरे ।

बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्लामा पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने, इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रूपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालय रसुवाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया